खुला सीमाको असर :  बर्दियामा वैशाखमै दुई भारतीयसहित ३३ जना लागुऔषधसहित पक्राउ

बर्दिया ,९ जेठ ।

बर्दियामा लागुऔषध ओसारपसार र सेवनविरुद्ध प्रहरीले चलाएको विशेष अभियानका क्रममा वैशाख महिनाभरी दुई भारतीय नागरिकसहित ३३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाले लागुऔषध नियन्त्रणलाई लक्षित गर्दै विभिन्न स्थानमा सर्च अपरेसन सञ्चालन गरेपछि उनीहरू पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट कुल ३०७ ग्राम २३० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ । पक्राउ पर्नेमा सबैभन्दा बढी १७ जना बर्दियाकै रहेका छन् । त्यसैगरी बाँकेका नौ जना, मुगु र सुर्खेतका दुई–दुई जना, ललितपुरका एक जना तथा भारतका दुई जना रहेका छन् ।

पक्राउ परेकामध्ये सबै पुरुष रहेका छन् भने दुई जना नाबालकसमेत छन् । उनीहरूको उमेर अधिकतम ४७ वर्षसम्म रहेको प्रहरीले जनाएको छ । अधिकांश व्यक्ति लागुऔषध सेवनसँगै ओसारपसारमा समेत संलग्न रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले बताए ।

उहाँका अनुसार पक्राउ परेका सबैलाई लागुऔषध कारोबार नियन्त्रण ऐन अन्तर्गत अनुसन्धान गरी कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ । प्रहरीले वैशाख महिनामै सबैभन्दा ठूलो परिमाणमा २८० ग्राम ब्राउन सुगरसहित भारत उत्तरप्रदेश खिरी तिकुनियाका २६ वर्षीय विजय सिंह र ३५ वर्षीय तेजेन्द्र कुमारलाई पक्राउ गरेको थियो। प्रहरी निरीक्षक कार्कीका अनुसार यही परिमाण वैशाख महिनामा बरामद भएको सबैभन्दा ठूलो खेप हो ।

बर्दियामा विशेषगरी भारतीय सीमावर्ती क्षेत्रबाट ब्राउन सुगर भित्रिने गरेको प्रहरीको निष्कर्ष छ । सीमापार भारतीय बजारहरूमा लागुऔषध खुलेआम बिक्री हुने गरेको स्थानीयवासीहरूको गुनासो छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म बर्दिया प्रहरीले लागुऔषध सम्बन्धी घटनामा २०४ जनालाई पक्राउ गरिसकेको छ। पक्राउ परेकाहरूको साथबाट ९१२ ग्राम ८९३ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको निमित्त सूचना अधिकारी कार्कीले जानकारी दिए ।

लागुऔषध नियन्त्रणका लागि प्रहरीले जिल्लाभर सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेको जनाएको छ। तर, अपेक्षा गरिएअनुसार लागुऔषधसहित पक्राउ पर्नेहरूको संख्यामा कमी नआएको प्रहरीको भनाइ छ ।

गुलरिया नगरपालिका–११ का जगदिश यादवका अनुसार खुला सीमाका कारण नेपाली युवाहरू भारतको लौकाही, बलैबजारलगायत सीमावर्ती बजारमा पुगेर लागुऔषध सेवन गरेर फर्किने क्रम बढ्दो छ । “सीमावर्ती बजारमा लागुऔषध सजिलै पाइने भएकाले युवाहरू त्यसतर्फ आकर्षित भइरहेका छन्,” उनले भने । केही समयअघि भारतबाट लागुऔषध सेवन गरेर फर्किएका एकै घरका दुई जनाको मृत्यु भएको घटनाले समेत यस समस्याको गम्भीरता उजागर गरेको स्थानीयवासी बताउँछन् ।

खुला सीमाको असर :   बर्दियामा वैशाखमै दुई भारतीयसहित ३३ जना लागुऔषधसहित पक्राउ

कर्णालीको अर्थतन्त्र दुई  खर्ब ७७ अर्ब पुग्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *