सुर्खेतको सेराघारीमा फोर्स गाडी पल्टिँदा १९ जना घाइते, तीनको अवस्था गम्भीर

सुर्खेत ,६ साउन ।
पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाबाट गुर्भाकोटतर्फ आउँदै गरेको यात्रुवाहक फोर्स गाडी गुर्भाकोट नगरपालिका–१३ स्थित सेराघारीमा दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
आज दिउँसो कर्णाली प्रदेश ०२००१ ख ०४९० नम्बरको फोर्स गाडी अनियन्त्रित भई सडकमै पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनापछि स्थानीयवासी, प्रहरी र उद्धार टोलीले घाइतेहरूको उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाएका थिए।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डिएसपी) कवीन्द्रसिंह बोहराका अनुसार सिम्ता गाउँपालिका–९ का गणेश वली टाउकोमा गम्भीर चोट लागेर प्रदेश अस्पताल कालागाउँमा उपचाररत छन्। त्यसैगरी गुर्भाकोट नगरपालिका–१३ का ५ वर्षीय रियाज शाहीको माया अस्पताल वीरेन्द्रनगरमा तथा तनहुँ घर भएकी ३९ वर्षीया भावना राईको मेहलकुना अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा मध्यम र सामान्य घाइते भएका अन्य १६ जनाको मेहलकुना अस्पताल, गुर्भाकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते हुनेमा गुर्भाकोट–१३ की २३ वर्षीया ममता पुन, सिम्ता–९ की ४५ वर्षीया विष्णुमाया सुनार, १० वर्षीय प्रविन सुनार, तनहुँ घर भएका २ वर्षीय प्रज्वल राई, गुर्भाकोट–१४ की ३२ वर्षीया जैसरा बुढा, ६० वर्षीया भूमिसरा खड्का, ४२ वर्षीय उदयराम भुजेल, ४५ वर्षीया धनमाया भुजेल, सिम्ता–९ की ३२ वर्षीया टिका खत्री, ६० वर्षीय भीमबहादुर थापा, ५५ वर्षीया तुलसरा सुनार, गुर्भाकोट–१४ का १२ वर्षीय सक्षम बुढा, गुर्भाकोट–१२ की १५ वर्षीया प्रिति गुरुङ, सिम्ता–९ की ३० वर्षीया शान्ता खत्री, गुर्भाकोट–१४ की १७ वर्षीया भावना आले तथा सिम्ता–९ की ३० वर्षीया मनिषा थापा रहेका छन्।
डिएसपी बोहराले दुर्घटनाग्रस्त गाडी घटनास्थलमै रहेको र चालकलाई नियन्त्रणमा लिई घटनाको कारणबारे अनुसन्धान अघि बढाइएको बताउनुभयो। प्रारम्भिक अनुसन्धानमा गाडी अनियन्त्रित भएर सडकमै पल्टिएको देखिएको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनाको विस्तृत कारण खुलाउन थप अनुसन्धान जारी रहेको जनाएको छ।





