स्वास्थ्य, सामाजिक सुरक्षा र महिला सशक्तीकरणमा जानकी गाउँपालिकाको उल्लेखनीय प्रगति

बाँके ,६ साउन ।
बाँकेको जानकी गाउँपालिकाले गत आर्थिक वर्ष २०८२/८३ मा स्वास्थ्य सेवा, सामाजिक सुरक्षा तथा महिला–बालबालिका सशक्तीकरणका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ। सीमित स्रोत–साधनका बाबजुद नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउँदै विभिन्न सामाजिक कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गरिएको गाउँपालिकाले जनाएको हो।
गाउँपालिकाले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार स्वास्थ्य संस्थामार्फत १८ हजार ७५० जना सेवाग्राहीलाई बाह्यरोग (ओपीडी) सेवा प्रदान गरिएको छ। यस अवधिमा १ हजार ५२२ बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन् भने ४३८ गर्भवती महिलाले चार पटक गर्भजाँच (एएनसी) सेवा लिएका छन्। साथै ३६६ महिलाले स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति सेवा प्राप्त गरेको गाउँपालिकाले जनाएको छ।
त्यसैगरी, गाउँपालिकाअन्तर्गत सञ्चालित आयुर्वेद सेवाबाट ११ हजार ३८५ जना लाभान्वित भएका छन् भने ४३६ जनाले भिडियो एक्स–रे सेवा लिएका छन्। स्थानीयस्तरमै स्वास्थ्य सेवा विस्तार गरिएकाले नागरिकलाई सहज पहुँच पुगेको गाउँपालिकाको दाबी छ।
महिला, बालबालिका तथा सामाजिक सुरक्षाका क्षेत्रमा पनि गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। गत आर्थिक वर्षमा ६४ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ। किशोरीहरूको सीप विकास र आत्मनिर्भरता अभिवृद्धिका लागि ८७ किशोरीलाई घरेलु स्यानिटरी प्याड निर्माण तालिम तथा १० किशोरीलाई आधारभूत ब्युटिसियन तालिम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।
लैङ्गिक हिंसा न्यूनीकरणका लागि सबै वडामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। साथै हिंसा प्रभावित महिला तथा बालबालिकालाई हिंसा प्रभावित तथा बाल संरक्षण कोष मार्फत आवश्यक आर्थिक सहयोग उपलब्ध गराइएको पनि गाउँपालिकाले जनाएको छ।
अपाङ्गता भएका व्यक्तिको सहज जीवनयापनका लागि ह्विलचेयर, ट्राइसाइकल, बैशाखी, क्रचर र सेतो छडी वितरण प्रक्रिया अघि बढाइएको छ। यस्तै सुरक्षित वैदेशिक रोजगारलाई प्रवर्द्धन गर्ने उद्देश्यले ५९ वटा श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति जारी गरिएको छ।
वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तीन जना श्रमिकका परिवारले वैदेशिक रोजगार बोर्डमार्फत जनही १० लाख रुपैयाँका दरले क्षतिपूर्ति प्राप्त गरेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले सीमित स्रोत–साधनका बाबजुद स्वास्थ्य, सामाजिक सुरक्षा तथा रोजगारीसम्बन्धी सेवालाई प्रभावकारी बनाउँदै नागरिकमैत्री सेवा प्रवाहमा जोड दिइएको बताउनुभयो।
उहाँले चालु आर्थिक वर्षमा स्वास्थ्य सेवा थप सुदृढ बनाउने, सामाजिक संरक्षणका कार्यक्रमलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तथा महिला, बालबालिका र किशोरी सशक्तीकरणका कार्यक्रमलाई थप विस्तार गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो।





