ढिपु गाउँबाट विकास सुरु गर्ने भण्डारीको प्रतिबद्धता
गाेल्डेन बुढा
जुम्ला ,९ फाल्गुन ।
जुम्लाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नरेश भण्डारी जनभेटका क्रममा तिला गाउँपालिका–९ ढिपुमा स्थानीय युवाबाट हस्तान्तरण गरिएको मागपत्र ग्रहण गर्दै भावुक बनेका छन्।नेपाली कम्युनिस्ट पार्टी जुम्लाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार भण्डारी तिला गाउँपालिका–९ ढिपु गाउँमा आयोजित जनभेट कार्यक्रममा युवाहरूले बुझाएको मागपत्र ग्रहण गर्दै केहीबेर भावुक बनेका हुन्। जुम्लाको तिला–९ ढिपु, खेतु हिमालको काखमा अवस्थित सुन्दर बस्ती प्राकृतिक स्रोत, जडीबुटी, रैथाने बाली र सम्भावनाले भरिपूर्ण भए पनि आधारभूत विकासका दृष्टिले पछि परेको यथार्थलाई युवाहरूले लिखित मागपत्रमार्फत उम्मेदवार भण्डारीसमक्ष राखेका हुन्।मागपत्र बुझ्दै भण्डारी केहीबेर भावुक बने। उनले भने, “यति ठूलो गाउँमा खानेपानी, बत्ती र सडक जस्ता आधारभूत आवश्यकता अपूरै रहेछन्। ढिपुमा हाम्रो ध्यान पुग्न नसकेको रहेछ। अब विकासको मिसन ढिपुबाटै सुरु हुन्छ।”उनको यो अभिव्यक्तिले उपस्थित स्थानीयवासीलाई आशावादी बनाएको थियो।ढिपुका युवाले बुझाएको मागपत्रमा निम्न विषयहरू प्राथमिकतामा राखिएका छन्। सडक तथा यातायात, मानेचौर–गुम्था–देउली पाटन हुँदै दैलेखसम्म सडक निर्माण, ढिपु मुल्ली बस्ती हुँदै खेतुसम्म सडक सञ्जाल, ढिपु–चरापानी–नदै गुफासम्म सडक विस्तार रहेका छन।भने हालको स्वास्थ्य इकाईलाई स्तरोन्नति गरी आधारभूत स्वास्थ्य चौकीको रुपमा विकास गरिदिन आग्रह गरेका छन।त्यस्तै श्री महादेव आधारभूत विद्यालय ढिपुका लागि ८ कोठे पक्की भवन, निर्माण, श्री देवी महादेव मावि रुखेडाचौरमा अपाङ्गमैत्री छात्रावास सहित व्यवस्थापन गरिदिन भनेका छन।त्यस्तै “एक घर एक धारा” खानेपानीकाे दीर्घकालीन समाधान, कृषि तथा बजारिकरण, माटोअनुसार उपयुक्त खेतीका लागि अनुसन्धान, सिँचाइ सुविधा विस्तार, रैथाने बाली (आलु, सिमी, फापर) को बजारिकरण, रोजगारी र आयआर्जन, जडीबुटी प्रशोधन केन्द्र, घरेलु उद्योग स्थापना, पर्यटन सम्भावनाको विकास, भरपर्दो विद्युत र सञ्चार सेवाको विस्तार लगायतका उनिहरुका माग छन।उम्मेदवार भण्डारी हाल सुढी, रिपि, मालापानी, राँसा, ढिपु लगायतका ग्रामीण बस्तीमा घरदैलो अभियानमा छन्।
प्रत्येक स्थानमा स्थानीय जनताले सडक, खानेपानी, विद्युत, कृषि बजारीकरण र रोजगारीलाई प्राथमिक मागका रूपमा उठाइरहेका छन्।ढिपुका युवाहरूले भने “हामी विकासको भाषण होइन, कामको सुनिश्चितता चाहन्छौं।”भण्डारीले आफ्नो घरदैलो अभियानकाे क्रममा ग्रामीण क्षेत्रलाई प्राथमिकता दिने, बजेट सुनिश्चितता गर्ने र कार्यान्वयनमा पारदर्शिता अपनाउने प्रतिवद्धता जनाएका छन्।उनको भावुक प्रतिक्रिया र “ढिपुबाट विकासको सुरुवात” गर्ने घोषणा अहिले स्थानीयबीच चर्चाको विषय बनेको छ।ढिपुका युवाको आवाज अब केवल मागपत्रमा सीमित नरहेर चुनावी बहसको केन्द्र बन्ने बताएका छन।ढिपुका युवाहरुले भण्डारीलाई आफ्नाे गाउकाे माग पत्र सहित, जितको अग्रिम शुभकामना समेत दिएका थिए।





