बाँकेमा कुपोषणविरुद्ध संयुक्त अभियान : नरैनापुर र डुडुवामा ३३३ बालबालिका उपचार तथा फलोअपमा

नेपालगञ्ज ,२ साउन ।
बाँके युनेस्को क्लब (BUC) ले हेलेन केलर इन्टरनेशनल नेपालसँगको साझेदारी तथा स्वास्थ्य कार्यालय बाँकेको समन्वयमा सञ्चालन गरिरहेको ‘जीवनका लागि पोषण (Nutrition for Life)’ परियोजनाअन्तर्गत बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकामा संयुक्त अनुगमन तथा स्थलगत अवलोकन कार्यक्रम सम्पन्न गरेको छ।
अनुगमन टोलीले कडा शीघ्र कुपोषण (SAM) तथा मध्यम शीघ्र कुपोषण (MAM) बाट प्रभावित बालबालिकाको उपचार, भर्ना तथा नियमित फलोअपको अवस्थाको समीक्षा गर्नुका साथै स्वास्थ्य संस्थाबाट प्रदान भइरहेका पोषण सेवाको प्रभावकारिताको मूल्याङ्कन गरेको थियो। टोलीले स्वास्थ्य शाखा, स्वास्थ्य संस्था प्रमुख, पोषण फोकल पर्सन, महिला स्वास्थ्य स्वयंसेविका (FCHVs) तथा सेवाग्राही परिवारसँग अन्तरक्रिया गरी समुदायस्तरमा सञ्चालन भइरहेका पोषण कार्यक्रमको प्रभावकारिता पनि अवलोकन गरेको थियो।

अनुगमनका क्रममा नरैनापुर गाउँपालिकाको स्वास्थ्य शाखामा सार्वजनिक स्वास्थ्य अधिकृत नागेन्द्रकुमार साहसँग भएको छलफलमा कुपोषण व्यवस्थापनको अवस्थाबारे समीक्षा गरिएको थियो। प्राप्त विवरणअनुसार नरैनापुरमा कडा शीघ्र कुपोषण (SAM) का ११२ जना र मध्यम शीघ्र कुपोषण (MAM) का ३४९ जना गरी ४६१ जना बालबालिका पहिचान भएका छन्। तीमध्ये SAM का ७१ जना र MAM का २६२ जना गरी ३३३ जना बालबालिका उपचार तथा नियमित फलोअपमा समावेश भइसकेका छन्।
त्यसैगरी, डुडुवा गाउँपालिकामा SAM का ८६ जना र MAM का ४०७ जना गरी ४९३ जना कुपोषित बालबालिका पहिचान भएका छन्। तीमध्ये SAM का ७८ जना र MAM का ३६६ जना गरी ४४४ जना बालबालिका उपचार तथा नियमित अनुगमनमा रहेका छन्।

टोलीले नरैनापुर गाउँपालिका–२ स्थित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रको अवलोकन गरी स्वास्थ्य संस्था प्रमुख नवीन बुढा क्षेत्रीसँग IMAM सेवाको कार्यान्वयन तथा प्रगतिबारे छलफल गरेको थियो। अवलोकनका क्रममा OTCS सेवा कार्यक्रमअन्तर्गत उपलब्ध गराइएका उपकरणहरू निर्देशिकाअनुसार प्रभावकारी रूपमा प्रयोग भइरहेको तथा IMAM सम्बन्धी रेकर्डिङ र रिपोर्टिङ व्यवस्थित रूपमा अद्यावधिक गरिएको पाइएको थियो।
अनुगमन टोलीले समुदायस्तरमै पुगेर SAM तथा MAM प्रभावित बालबालिकाको घरदैलो अनुगमनसमेत गरेको थियो। MAM प्रभावित अधिकांश बालबालिकाको पोषण अवस्थामा उल्लेखनीय सुधार देखिएको पाइएको छ। अभिभावकलाई सन्तुलित आहार, बाल पोषण र सरसफाइसम्बन्धी परामर्श प्रदान गरिएको थियो। उपचारबाट बाहिर रहेका SAM प्रभावित बालबालिकाका अभिभावकलाई आवश्यक परामर्श दिई बालबालिकालाई पुनः उपचार प्रक्रियामा सहभागी गराउने पहलसमेत गरिएको थियो।
डुडुवा गाउँपालिका–४ र ५ मा रहेका SAM प्रभावित बालबालिकाको घरदैलो अनुगमनका क्रममा उनीहरूको पोषण अवस्थामा सकारात्मक सुधार देखिएको टोलीले जनाएको छ। महिला स्वास्थ्य स्वयंसेविकाको सक्रिय परिचालन, नियमित घरभेट तथा निरन्तर फलोअपले कुपोषण व्यवस्थापनलाई प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्याएको निष्कर्ष अनुगमन टोलीले निकालेको छ।

टोलीले डुडुवा गाउँपालिका–५ स्थित काम्दी स्वास्थ्य चौकीको समेत अवलोकन गरी स्वास्थ्य संस्था प्रमुख कमलप्रसाद उपाध्याय तथा स्वास्थ्यकर्मीसँग IMAM सेवाको कार्यान्वयन, कुपोषित बालबालिकाको उपचार तथा नियमित फलोअपको अवस्थाबारे राष्ट्रिय पोषण मापदण्डअनुसार छलफल गरेको थियो।
स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले पहिचान भएका सबै कुपोषित बालबालिकालाई समयमै उपचार प्रक्रियामा समावेश गर्नुपर्नेमा जोड दिँदै स्वास्थ्यकर्मीहरूले घरदैलो भ्रमणमार्फत अभिभावकलाई परामर्श प्रदान गरी उपचारमा भर्ना सुनिश्चित गर्न अझ सक्रिय भूमिका खेल्नुपर्ने बताइन्।
हेलेन केलर इन्टरनेशनल नेपालका प्रदेश व्यवस्थापक शशीदेव शाहले स्वास्थ्यकर्मी र बाँके युनेस्को क्लबका पोषण सहजकर्ताबीचको संयुक्त घरदैलो अनुगमनलाई थप प्रभावकारी बनाउनुपर्ने, महिला स्वास्थ्य स्वयंसेविकाको परिचालनलाई प्राथमिकता दिनुपर्ने तथा जटिल अवस्थाका बालबालिकाको नियमित निगरानी र समयमै उपचार सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
संयुक्त अनुगमनले सरकारी निकाय, विकास साझेदार संस्था र समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाएको सहभागीहरूले बताएका छन्। बालबालिकाको पोषण अवस्थामा दिगो सुधार ल्याई स्वस्थ, सक्षम र कुपोषणमुक्त समाज निर्माण गर्ने साझा लक्ष्य प्राप्तिका लागि बहुपक्षीय सहकार्य, समुदायको सक्रिय सहभागिता र गुणस्तरीय पोषण सेवाको पहुँच विस्तारलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

अनुगमन कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेल, पोषण फोकल व्यक्ति बसन्ती मल्ल, बाँके युनेस्को क्लबका सचिव फिरदौस जहाँ, कार्यकारी निर्देशक रविकुमार तुलाधर, प्राविधिक सल्लाहकार सजिद अली सिद्दिकी, हेलेन केलर इन्टरनेशनल नेपालका प्रदेश व्यवस्थापक शशीदेव शाह, फिल्ड अफिसर लीलबहादुर नेपाली, सञ्चारकर्मी रुद्र सुवेदी तथा राकेश कुमार मिश्र, ‘जीवनका लागि पोषण’ परियोजनाकी कार्यक्रम संयोजक दृष्टि शाह, MEAL अधिकृत अनु चौधरी तथा परियोजनाका पोषण सहजकर्ताहरूको सहभागिता रहेको थियो।






