शिक्षकबाट उद्यमी बनेका खडानन्द आचार्य

 गोल्डेन बुढा

जुम्ला ,४ जेठ ।

जुम्लाको सदरमुकाम खलंगामा बिहान सबेरै बजार ब्युँझिन थालेको हुन्छ। चिसो हावा अझै गल्लीभित्र अल्झिएको हुन्छ। तर, एउटा सानो डेरी पसलभित्र भने दिन धेरैअघि नै सुरु भइसकेको हुन्छ। ठूलो भाँडोमा दूध उम्लिरहेको हुन्छ। कतै दही जमाइँदै हुन्छ, कतै पनिर काटिँदै।काउन्टरअगाडि ग्राहकको लाइन बिस्तारै बढिरहेको हुन्छ।त्यही भीडको बीचमा एक जना मान्छे शान्त उभिएका हुन्छन्,५८ वर्षीय खडानन्द आचार्य।उनको स्वर कमजोर छ। लामो समय बोल्न सक्दैनन्। तर, आँखाभित्र एउटा यस्तो उज्यालो छ, जसले थाहा दिन्छ,यो मान्छे जीवनसँग धेरैपटक हारेर पनि अन्ततः नझुकेको मान्छे हो।कनकासुन्दरी गाउँपालिका–६ विराटलार्जका आचार्य कुनै समय जुम्लाका परिचित गणित शिक्षक थिए। उनका दिनहरू विद्यालयको कालोपाटी अगाडि बित्थे। हातमा चक (मार्कर) डस्टर हुन्थ्यो। अगाडि विद्यार्थी हुन्थे। उनी सूत्रहरू लेख्थे, अंकहरूको अर्थ बुझाउँथे, जीवनलाई तर्क र अनुशासनमा बाँध्न सिकाउँथे।तर, जिन्दगीले एक दिन उनलाई यस्तो प्रश्न सोध्यो, जसको उत्तर कुनै गणितको सूत्रमा थिएन।२०७९ सालतिर उनको घाँटीमा समस्या देखिन थाल्यो। बोल्दा दुख्ने, स्वर बस्ने र लामो समय बोल्न नसक्ने समस्या बढ्दै गयो। सुरुमा सामान्य ठाने। शिक्षकका लागि बोल्नु त पेशाकै हिस्सा थियो। तर, परीक्षणपछि डाक्टरको निष्कर्ष कठोर आयो,“भोकलमा समस्या छ। १५ मिनेटभन्दा बढी नबोल्नु।”त्यो शब्द स्वास्थ्य सल्लाह थिएन, त्यो त उनको सम्पूर्ण पहिचानमाथिको प्रहार थियो।एक शिक्षकका लागि आवाज भनेकै अस्तित्व हो।

दिनभर कक्षाकोठामा बोल्नुपर्ने मान्छेलाई “नबोल” भनिनु भनेको सास फेर्न नदिनुसरह थियो।अन्ततः उनले स्थायी जागिर छाडे।वर्षौंसम्म चक,डस्ट रजिस्ट्रर समातेका हातले अब दूधका क्यान समात्न थाले। कालोपाटी छाडेर उनी डेरीको भाँडोअगाडि उभिन थाले।तर, जीवनले उनलाई दिएको यो पहिलो पीडा भने थिएन।आचार्यको दाहिने खुट्टा अहिले पनि राम्रोसँग हिड्न मिल्दैन। उनी शारीरिक रूपमा अपांगता भएका व्यक्ति हुन्। त्यो घाउ २०४९ सालको दुर्घटनाले दिएको थियो।“सुर्खेतमा साथीको बिहेबाट फर्किंदै थियौं,” उनी बिस्तारै विगत सम्झिन्छन्, “दाजुले अलि मदिरा सेवन गर्नुभएको थियो। बाइक दुर्घटना भयो। त्यसपछि खुट्टाले कहिल्यै पुरानोजस्तो साथ दिएन।”त्यो दुर्घटनाले उनको शरीरमा स्थायी कमजोरी छोडिदियो। धेरै मान्छे त्यहीँबाट जीवनसँग हार मान्थे। तर, उनले बैसाखीभन्दा आत्मबललाई रोजे।उनको शिक्षक जीवन पनि सजिलो थिएन।पहिलो स्थायी नियुक्ति मुगुको रोबा निमाविमा भयो। मासिक ४ हजार २ सय रुपैयाँ तलब र १ हजार ७ सय रुपैयाँ स्थानीय भत्ता। दुई वर्ष अध्ययापन गरे।दुर्गम गाउँ, कठिन बाटो, चिसो मौसम, अभावले भरिएको जीवन। तर, उनी पढाउँथे,किनकि शिक्षा पेशा होइन, उनको आस्था थियो।पछि जुम्लाको सिंजाको भैरव मावि नराकोट पुगे। त्यहाँ झण्डै १२ वर्ष बिताए। तलब १३ हजार ७ सय २० रुपैयाँ पुग्यो। स्थानीय भत्ता ४ हजार ६ सय भयो। त्यसपछि तातोपानीको हिमशिखर माविमा सरुवा भए।बिस्तारै जीवन सहज बन्दै गएको थियो। तलब स्केल ४९ हजार रुपैयाँ पुगेको थियो। स्थानीय भत्ता १३ हजार ८ सय ४० रुपैयाँ थियो। करिब ६ वर्ष पढाए।उनले सायद सोचेका थिए,अब बाँकी जीवन यही पेशामा बित्नेछ।तर, नियतिले फेरि बाटो मोडिदियो।धेरै मानिस जागिर गुमेपछि भित्रभित्रै भत्किन्छन्। कोही निराशामा डुब्छन्। कोही परिस्थितिलाई सराप्दै बस्छन्।तर, खडानन्द आचार्य फेरि उठे।२०७२ सालमै सुरु गरेको ‘आचार्य दुध डेरी’लाई उनले आफ्नो दोस्रो जीवन बनाए।

आज चन्दननाथ नगरपालिका–६ स्थित त्यो डेरी व्यापार गर्ने ठाउँ होइन, संघर्षलाई श्रममा बदलिएको एउटा जीवित उदाहरण बनेको छ।दूध प्रतिलिटर १ सय २० रुपैयाँमा बिक्री हुन्छ। दही २ सय रुपैयाँ, पनिर प्रतिकेजी १ हजार १ सय रुपैयाँ। अर्डरअनुसार १ हजारदेखि ३ हजार ५ सय रुपैयाँसम्मका केक तयार हुन्छन्। ठूलो छुर्पी प्रतिकेजी १ हजार ३ सय र सानो छुर्पी ७ सय रुपैयाँमा बिक्री हुन्छ।आइसक्रिम प्रतिकोन २० रुपैयाँ र प्रतिकप ५० रुपैयाँमा पाइन्छ। चिज र खुवा प्रतिकेजी १ हजार ६ सय रुपैयाँ पर्छ। चिया २५ देखि ३० रुपैयाँ, कालो कफी ३५ रुपैयाँ, दूध कफी ७५ रुपैयाँमा बिक्री भइरहेको छ। मोही प्रतिलिटर १ सय रुपैयाँ र लस्सी ५० देखि १ सय ५० रुपैयाँसम्म बिक्री हुन्छ।यो ठाउँ जुम्लाका स्थानीय किसानको उत्पादन जोगाउने केन्द्र बनेको छ। जुम्ली मार्सी चामल, स्थानीय सिमी, भटमास, मह, घ्यू,सबै उनी स्थानीय किसानबाट किन्छन्।

उनले बजार मात्रै चलाइरहेका छैनन्, गाउँको उत्पादनलाई पनि बचाइरहेका छन्।सिमी प्रति केजी २ सय ७० हाेलसेल र खुद्रा २ सय ८० रुपैयाँ बेचेको बताए।जुम्ली मार्सी चामल प्रतिकेजी हाेलसेल १ सय ८० खुद्रा २ सय रुपैयाँमा बिक्रीवितरण भइरहेको छ।स्थानीय भटमास सेताे कालाे भागाे १ सय ६० प्रति केजी बेचेका छन्।भने स्थानीय मह २ हजार ५ सय रुपैयाँ केजी बेच्छन् ।भैसीकाे प्रतिकेजी घ्यू १ हजार ५ केजी र स्थानीय गाईको २ हजार रुपैयाँ बेचेको बताए।शुरुआतमा उनले १२ लाख रुपैयाँ लगानी गरेका थिए। त्यो बेला धेरैले प्रश्न गरे,“जुम्लामा डेरी चल्छ र ?”तर, उनले अरूको शंकाभन्दा आफ्नै मेहनतमा विश्वास गरे।“केही वर्षअघि मासिक ४५ हजारदेखि १ लाख रुपैयाँसम्म कारोबार हुन्थ्यो,” उनी भन्छन्, “कोभिडपछि र संघीयतापछि बजार गाउँमै पुग्न थाल्यो। व्यापार केही घट्यो। तर, ग्राहकको विश्वास घटेन।”अहिले मासिक ३५ हजारदेखि ४५ हजार रुपैयाँ आम्दानी हुन्छ। कोठा भाडा, बिजुली र सञ्चालन खर्च गरेर मासिक ७ हजार ५ सय रुपैयाँ तिर्छन्।तर, उनको अनुहारमा कुनै गुनासो छैन।“सन्तोष नै ठूलो कुरा हो,” उनी मुस्कुराउँदै भन्छन्, “सबै ग्राहक आफैं डेरीमा आउनुहुन्छ। त्यही नै मेरो सम्मान हो।”

शिक्षकबाट उद्यमी बनेका खडानन्द आचार्य

जहाज बनाउने जुम्लाका टक्कबहादुर

शिक्षकबाट उद्यमी बनेका खडानन्द आचार्य

उच्च रक्तचापको समस्या : हामी कहाँ चुक्छौँ

Leave a comment

Your email address will not be published. Required fields are marked *