जहाज बनाउने जुम्लाका टक्कबहादुर

गाेल्डेन बुढा
जुम्ला,४ जेठ।
कर्णाली राजमार्ग भएर जुम्लाको तातोपानी गाउँपालिका–६ हियाँखोला पुग्ने यात्रु अचानक रोकिन्छन्। सडक छेउको एउटा घरतिर उनीहरूको आँखा तानिन्छ। तल सानो पसल। माथि भने नेपाली झण्डा अंकित जहाज।पहिलो नजरमा त्यो दृश्य अनौठो लाग्छ। दोस्रो नजरमा जिज्ञासा जन्माउँछ। अनि तेस्रो नजरमा प्रश्न“यो प्लेन किन बनाइएको होला ?”तर, त्यो सिमेन्ट, बालुवा, गिट्टी र सरियाले बनेको संरचना होइन। त्यो एउटा मान्छेको जीवन हो, जसले बारम्बार असफलता भोग्यो, तर सपना देख्न छाडेन। त्यो जहाज हो,टक्कबहादुर नेपाली (सार्की) को अधुरो उडान।जुम्लाको तातोपानी गाउँपालिका–५ लाम्रा गाउँमा वि.सं. २०४० सालमा जन्मिएका टक्कबहादुर सानैदेखि अरूभन्दा फरक थिए।

गाउँका बालबालिका खेल्थे, उनी बनाउँथे। काठ र माटोबाट गाडी, हेलिकप्टर, प्लेन तयार गर्थे। विज्ञानप्रतिको मोह उनको बालापनमै देखिन्थ्यो।तर, त्यो रुचि विद्यालयको नतिजामा देखिएन। पढाइमा उनको मन कम लाग्थ्यो। वि.सं. २०५८ सालमा एसएलसीमा अनुत्तीर्ण भए। दोस्रो प्रयासमा बल्ल परीक्षा पास गरे।त्यो असफलताले उनलाई समाजको सामान्य परिभाषामा ‘कमजोर विद्यार्थी’ बनायो। तर, जीवनले उनलाई अर्को दिशामा धकेलिरहेको थियो।घरको आर्थिक अवस्था कमजोर थियो। जेठो छोरा भएकाले जिम्मेवारी चाँडै काँधमा आयो। उच्च शिक्षा पढ्ने सपना गरिबीले बीच बाटोमै रोकिदियो।उनले बुझ्न थाले,कर्णालीमा धेरै सपना अभावले मर्छन्, क्षमता नभएर होइन।त्यसपछि उनी सीप सिक्न नेपालगञ्ज पुगे। हाउस वायरिङ तालिम लिए। त्यही बेला गाउँका हजारौं युवाजस्तै उनको मनमा पनि विदेशको सपना पलायो। “विदेश गए पैसा कमाइन्छ, जीवन बदलिन्छ” भन्ने भ्रमले उनलाई वि.सं. २०६२ सालमा मलेसिया पुर्यायो।तर, मलेसियाले उनलाई सुनौलो भविष्य होइन, कठोर यथार्थ दियो।गाडीका पार्टपुर्जा बनाउने कम्पनीमा उनले प्रोडक्सन असिफरको काम गरे। मासिक ४ सय १० रिंगेट तलब। ओभरटाइम गरे कहिलेकाहीँ हजार रिंगेट पुग्थ्यो। तर, त्यो कमाइभन्दा धेरै ठूलो थियो दुःख।साँघुरो कोठा, थकित शरीर, सम्झौताभन्दा फरक काम, मानसिक दबाब र निरन्तरको थकान।“त्यो जीवन मैले सोचेको जस्तो थिएन,” उनी सम्झन्छन्, “त्यहाँ मानिसभन्दा मेसिनको मूल्य बढी थियो।”एक वर्षमै उनी फर्किए।विदेशले उनको हातमा पैसा धेरै राखेन। तर, एउटा ठूलो चेतना दियो,“आफ्नो माटोमा पसिना बगाउनु विदेशको पीडाभन्दा ठूलो होइन।”नेपाल फर्किएपछि उनले शिक्षक बन्ने बाटो रोजे। सेतीबाडा निमाविमा विज्ञान पढाउन थाले। योग्यता एसएलसी मात्रै थियोे, सरकारी जागिर होइन्,निजी कोटाको सामान्य शिक्षक बने,तर, उनी किताब घोकाएर पढाउने शिक्षक थिएनन्। विज्ञानलाई छुन, हेर्न र बनाउन सकिन्छ भन्ने विश्वास राख्थे।त्यही क्रममा उनले विद्युतीय भोटिङ मेसिन बनाए। गाउँमै बनेको त्यो मेसिनले जुम्लाभर चर्चा पायो। सञ्चारमाध्यममा समाचार बन्यो।तत्कालीन लाम्रा गाविसले १० हजार रुपैयाँसहित सम्मान गर्यो। तत्कालीन जिल्ला विकास समितिले प्रशंसा गर्यो।त्यसपछि उनी मेसिन बोकेर काठमाडौं पुगे।

निर्वाचन आयोगले परीक्षण गरेर राम्रो भएको बतायो। उनलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान पठाइयो।तर, त्यहाँ पुगेपछि फेरि एउटा कठोर यथार्थले उनको बाटो रोक्यो।त्यो प्रविधिको पेटेन्ट भारतसँग रहेछ।उनले सम्झिए,“त्यो बेला मलाई यस्तो लाग्यो, मेरो सपना कसैले बीच बाटोमै खोसेर लगिदियो।”त्यसपछि पनि उनी रोकिएनन्।त्रिपुरेश्वरस्थित घरेलु तथा साना उद्योग कार्यालय पुगे। त्यहाँ बस्दै अनेक प्रयोग गरे। क्याप टोपीमै सोलार राखेर मोबाइल चार्ज हुने प्रणाली बनाए। साइकल चलाउँदा चार्ज हुने डायनामा बनाए।तर, ती उत्पादन सफल भएनन्।सफलता नआउँदा धेरै मानिस सपना त्याग्छन्। तर, टक्कबहादुर असफलतालाई सिकाइ ठान्थे।त्यसपछि उनले अझ असम्भवजस्तो सपना देखे,उड्ने सपना।वि.सं. २०७४ सालमा उनले युट्युब हेरेर प्याराग्लाइडिङ बनाए। गाउँमा धेरैले पत्याएनन्। कतिले हाँसे, कतिले “यो सम्भव छैन”पनि भने।तर, परीक्षण सफल भयो।त्यो दिन उनको जीवनमा केवल एउटा मेसिन उडेन, आत्मविश्वास उड्यो।उनले राष्ट्रिय युवा प्रतिभा पुरस्कार पाए। विभिन्न निकायबाट झन्डै सात लाख रुपैयाँ पुरस्कार पाए। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘उद्यमी राष्ट्रिय पुरस्कार’ दियो।तर, फेरि उही कथा दोहोरियो।व्यावसायिक उडान अनुमति पाएनन्।अहिले उनले बनाएको प्याराग्लाइडिङ घरमै थन्किएको छ।ठ्याक्कै कर्णालीका धेरै सपनाझैं।जहाँ प्रतिभा हुन्छ, तर प्रणाली हुँदैन,जहाँ क्षमता हुन्छ, तर पहुँच हुँदैन।जहाँ सपना हुन्छ, तर राज्यको साथ हुँदैन।सायद त्यसैले अहिले उनले घरको छतमाथि जहाज बनाएका छन्।त्यो जहाज व्यवसाय होइन। त्यो एउटा प्रतीक हो।उनको घर चिनाउने चिन्ह मात्रै होइन, उनको जीवनको घोषणापत्र हो।“म अझै सपना देखिरहेको छु।“मानिसहरूले प्लेन भएको घर भनेर चिनून् भन्ने पनि हो,” उनी भन्छन्, “तर, यो मेरो कला हो, मेरो सपना हो।”आज त्यो घर कर्णाली राजमार्ग हुँदै गुड्ने यात्रुका लागि फोटो खिच्ने ठाउँ बनेको छ। मानिसहरू त्यहाँ उभिएर टिकटक बनाउँछन्। भिडियो खिच्छन्।तर,कमैले बुझ्छन्,त्याे जहाज वास्तवमा उड्न नपाएका सपनाहरूको स्मारक हो।

टक्कबहादुरसँग न ठूलो डिग्री छ, न आधुनिक प्रयोगशाला। न राज्यको बलियो सहयोग, न ठूलो लगानी।उनको पूँजी जिद्दी मन हो।अभावसँग नझुकेको मन।असफलतासँग नथाकेको मन।र बारम्बार भाँचिएपछि पनि फेरि सपना देख्न सक्ने मन।कर्णालीमा धेरै मानिस गरिबीभित्र बाँचिरहेका छन्।तर, टक्कबहादुर नेपाली गरिबीभित्र पनि सम्भावना देखिरहेका छन्।






