पूर्वमन्त्री तथा राप्रपाका संस्थापक वरिष्ठ नेता फत्तेह सिंह थारुको निधन

बाँके ,३२ असार ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संस्थापक वरिष्ठ नेता, पूर्वमन्त्री तथा अग्रज राजनीतिक व्यक्तित्व फत्तेह सिंह थारुको ८७ वर्षको उमेरमा बिहीबार निधन भएको छ।
नेपालगञ्जको घरबारीटोलस्थित आफ्नै निवासमा हृदयघात भएपछि उपचारका लागि वेस्टर्न अस्पताल लगिएको थियो। उपचारकै क्रममा उहाँको निधन भएको राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाले जानकारी दिनुभयो।
स्वर्गीय थारुको अन्तिम दाहसंस्कार शुक्रबार बाँकेको राप्ती नदीस्थित सिधनियाघाटमा गरिने परिवारले जनाएको छ। उहाँका दुई श्रीमती तथा चार सन्तान रहेका छन्।
स्वर्गीय थारु बाँके जिल्लामात्र होइन, राष्ट्रिय राजनीतिमा समेत प्रभावशाली र परिचित व्यक्तित्वका रूपमा स्थापित हुनुहुन्थ्यो। उहाँले पञ्चायतकाल र बहुदलीय व्यवस्थामा गरी शिक्षा, सञ्चार, कृषि, रक्षा, उद्योग तथा वाणिज्यसहित विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाल्दै सात पटक मन्त्री बन्ने अवसर प्राप्त गर्नुभएको थियो।
राजनीतिक जीवनमा उहाँ २०३८ र २०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित हुनुभएको थियो। बहुदलीय व्यवस्थापछि २०५१ सालको प्रतिनिधिसभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो।
साहित्यकार खगेन्द्र गिरि कोपिलाका अनुसार, पश्चिम नेपालको थारु समुदायबाट एमए तथा डीएफए तहको अध्ययन पूरा गर्ने पहिलो व्यक्ति र तराई मूलका समुदायबाट नेपालको रक्षामन्त्री बन्ने पहिलो नेता पनि फत्तेह सिंह थारु नै हुनुहुन्थ्यो।
उहाँले २०२३ सालमा बाँकेको हस्नापुर गाउँ पञ्चायतको प्रधानपञ्च निर्वाचित भएर राजनीतिक यात्रा सुरु गर्नुभएको थियो। त्यसपछि तीन पटक बाँके जिल्ला पञ्चायतको सभापति तथा एक पटक गाउँफर्क राष्ट्रिय अभियान केन्द्रीय समितिको सदस्यको जिम्मेवारी पनि सम्हाल्नुभएको थियो।
वि.सं. १९९६ सालमा बाँकेको थपुवा गाउँ (हाल बैजनाथ गाउँपालिका) मा थारु जमिनदार परिवारमा जन्मिनुभएका फत्तेह सिंह थारुले आफ्नो लामो राजनीतिक जीवनमा स्थानीयदेखि राष्ट्रिय तहसम्म महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो। उहाँको निधनसँगै बाँकेले एक अनुभवी राजनीतिज्ञ र थारु समुदायले आफ्नो अग्रणी नेतृत्व गुमाएको छ।






