गुलरिया–सत्तीघाट हुलाकी राजमार्ग निर्माण अघि बढ्यो, साढे चार अर्बको आयोजनाका लागि ठेक्का आह्वान

बर्दिया ,३२ असार ।
लामो समयदेखि प्रतीक्षामा रहेको बर्दियाको सदरमुकाम गुलरियादेखि कैलालीको सत्तीघाटसम्मको हुलाकी राजमार्ग निर्माण तथा स्तरोन्नतिको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। हुलाकी सडक निर्देशनालयले करिब ४१ किलोमिटर सडक निर्माणका लागि बोलपत्र आह्वान गरेसँगै आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको हो।
निर्देशनालयले सडक निर्माणलाई दुई प्याकेजमा विभाजन गरी ठेक्का प्रक्रिया सुरु गरेको छ। पहिलो प्याकेजअन्तर्गत गुलरिया बजारदेखि २१ किलोमिटरसम्म र दोस्रो प्याकेजअन्तर्गत त्यसपछि कैलाली सीमास्थित कर्णाली नदीको सत्तीघाटसम्मको २० किलोमिटर सडक निर्माण गरिनेछ।
आयोजनाअनुसार करिब १६ किलोमिटर सडक चार लेनमा विस्तार गरिनेछ भने बाँकी २५ किलोमिटर सडक हुलाकी राजमार्गको मापदण्डअनुसार दुई लेनमा स्तरोन्नति गरिनेछ। आयोजना सम्पन्न गर्न करिब साढे चार अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ।
हुलाकी सडक आयोजना, बाँकेका प्रमुख लीलाबहादुर भण्डारीले सडक निर्माणका लागि दुई प्याकेजमा बोलपत्र आह्वान भइसकेको जानकारी दिँदै ठेक्का प्रक्रिया सम्पन्न भएपछि निर्माण कार्य तीव्र रूपमा अघि बढाइने बताउनुभयो।
सडक निर्माणको प्रक्रिया सुरु भएसँगै स्थानीयवासी उत्साहित बनेका छन्। राजापुर नगरपालिका–८, धोबिनपुरका केशव शर्माले एक दशकअघि कोठियाघाटस्थित कर्णाली पुल निर्माण भएपछि यात्रा सहज भएको स्मरण गर्दै अब हुलाकी राजमार्गको स्तरोन्नतिले बर्दिया र कैलालीबीचको आवागमन, व्यापार, पर्यटन तथा सेवा प्रवाहमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी, राजापुर नगरपालिका–८ का देवराज ढुङ्गानाले सडक निर्माण प्रक्रिया सुरु हुनु स्थानीयका लागि खुसीको विषय भएको बताउँदै गुणस्तरीय निर्माणसहित निर्धारित समयमै आयोजना सम्पन्न गर्न सम्बन्धित निकायसँग आग्रह गर्नुभयो।
एक दशकअघि कर्णाली नदीमाथि पक्की पुल निर्माण भएपछि बर्दियाको राजापुर र गेरुवा क्षेत्रको यातायात सम्पर्कमा उल्लेखनीय सुधार आएको थियो। अब हुलाकी राजमार्गको स्तरोन्नतिसँगै पश्चिम तराईका बर्दिया र कैलालीबीचको सडक सञ्जाल थप व्यवस्थित, सुरक्षित र द्रुत हुने अपेक्षा गरिएको छ।





