हात्तीको आहारा र नदी संरक्षणका लागि बाँके निकुञ्जको अभियान

बाँके, ३२ असार ।
जैविक विविधता संरक्षण, वन्यजन्तुको बासस्थान सुधार तथा नदी कटान नियन्त्रणलाई एकैसाथ सम्बोधन गर्ने उद्देश्यका साथ बाँके राष्ट्रिय निकुञ्जले वृक्षारोपण अभियान सुरु गरेको छ । निकुञ्जभित्रका जलाशय, नदी किनार तथा तटबन्ध क्षेत्रलाई हराभरा बनाउने लक्ष्यसहित यस वर्ष चार हजार बिरुवा रोपिएको छ । अभियानमा विशेषगरी जङ्गली हात्तीको प्राकृतिक आहारा मानिने बाँसका बिरुवालाई उच्च प्राथमिकता दिइएको छ ।
निकुञ्ज प्रशासनका अनुसार जलाशय आसपासका क्षेत्रमा हरियाली विस्तार गर्दै वन्यजन्तुका लागि दिगो खाद्य स्रोत र सुरक्षित बासस्थान तयार गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो । यसले वन्यजन्तुलाई वनभित्रै पर्याप्त आहारा उपलब्ध गराई मानव बस्तीमा प्रवेश गर्ने सम्भावना घटाउने अपेक्षा गरिएको छ ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख बिरेन्द्र प्रसाद कडेलका अनुसार गत वर्ष निर्माण गरिएका जलाशय वरपरका क्षेत्रमा यस वर्ष योजनाबद्ध रूपमा वृक्षारोपण गरिएको हो । दहचण्डी जलाशय, डोना जलाशय, सुतैया तालको तटबन्ध क्षेत्र तथा अधेरी जलाशय क्षेत्रमा मात्र तीन हजार बाँसका बिरुवा रोपिएका छन् । यस बाहेक अन्य विभिन्न प्रजातिका एक हजार बिरुवा समेत रोपिएसँगै कुल चार हजार बिरुवा रोपिएको निकुञ्जले जनाएको छ ।
निकुञ्जका अनुसार बाँस जङ्गली हात्तीको प्रमुख प्राकृतिक आहारा हो। भविष्यमा हात्तीका लागि वनभित्रै पर्याप्त खाद्य स्रोत उपलब्ध गराउने, उनीहरूको आवतजावत सहज बनाउने तथा मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले बाँसलाई विशेष प्राथमिकतामा राखिएको हो ।
यससँगै बाँसको बलियो जराले नदी किनारको माटो मजबुत बनाइ राख्ने भएकाले भूक्षय तथा नदी कटान नियन्त्रणमा समेत उल्लेखनीय सहयोग पुग्ने विश्वास गरिएको छ । तटबन्धलाई दीर्घकालीन रूपमा सुरक्षित राख्न, जलाशय क्षेत्रको पारिस्थितिकीय सन्तुलन कायम गर्न तथा हरियाली विस्तार गर्न पनि यो अभियान प्रभावकारी हुने निकुञ्जको अपेक्षा छ ।
जलवायु परिवर्तनका कारण बढ्दो बाढी, कटान र वन्यजन्तुको बासस्थानमा परेको दबाबलाई मध्यनजर गर्दै निकुञ्जले संरक्षणमुखी कार्यक्रमलाई थप प्राथमिकता दिएको जनाएको छ । वृक्षारोपणसँगै बिरुवाको संरक्षण, नियमित अनुगमन तथा आवश्यक हेरचाहका कार्यक्रमसमेत सञ्चालन गरिने निकुञ्जले जनाएको छ ।
निकुञ्जको यो पहलले वन संरक्षणलाई थप सुदृढ बनाउनुका साथै वन्यजन्तुका लागि सुरक्षित र अनुकूल वातावरण सिर्जना गर्ने विश्वास गरिएको छ । जलाशय आसपास पानी, घाँस र प्राकृतिक आहाराको उपलब्धता बढ्दै जाँदा वन्यजन्तुको जीवनचक्र सहज बन्ने, जैविक विविधता संरक्षणमा सकारात्मक योगदान पुग्ने तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा समेत महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । स्थानीय समुदाय र सरोकारवाला निकायको सहकार्यमा यस्ता संरक्षणमुखी अभियानलाई निरन्तरता दिने निकुञ्जको योजना रहेको छ ।






