जुम्लामा ट्याक्टर दुर्घटना : एकको ज्यान गयो, एक गम्भीर

गाेल्डेन बुढा
जुम्ला,२ असार ।
कर्णाली राजमार्ग अन्तर्गत जुम्लाको तातोपानी गाउँपालिका–३ स्थित लाछुगाउँ नजिक सडकबाट ट्याक्टर करिब दुई सय मिटर तल खस्दा एक जनाको मृत्यु भएको छ, भने एक जना गम्भीर घाइते भएका छन्। साँघुरो र जोखिमयुक्त सडकमा भएको दुर्घटनाले पुनः कर्णालीका ग्रामीण सडकहरूको सुरक्षा अवस्थामाथि प्रश्न उठाएको छ।जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी चिरञ्जीवी दाहालका अनुसार भे १ ट ८९३५ नम्बरको ट्याक्टर मंगलबार साँझ करिब ६ बजे तातोपानीको खोलासडा भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको हो। जुम्ला सदरमुकामबाट सामान बोकेर तिला गाउँपालिका–४ नुवाकोटतर्फ जाँदै गरेको ट्याक्टर अनियन्त्रित भई सडकबाट तल खसेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।दुर्घटनामा परी जुम्लाको तिला गाउँपालिका–४ निवासी ३५ वर्षीय खर्बेन्द्र शाहीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै सोही स्थानका ५३ वर्षीय देउमनी सार्की गम्भीर घाइते भएका छन्। उनको अवस्था चिन्ताजनक रहेको र थप उपचारका लागि आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार दुर्घटनाग्रस्त ट्याक्टर वीरबहादुर शाहीको स्वामित्वमा रहेको थियो। दुर्घटनाको यकिन कारण खुल्न नसकेको भन्दै जिल्ला प्रहरी कार्यालय जुम्लाले घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।सडकहरूमा सवारी दुर्घटनाका घटना बारम्बार दोहोरिने गरेका छन्। कमजोर सडक संरचना, साँघुरा घुम्ती, जोखिमयुक्त भिरालो भू–भाग तथा सवारी सञ्चालनमा हुने लापरबाहीलाई यस्ता दुर्घटनाको प्रमुख कारण मानिने गरिन्छ।






