कृष्णसार संरक्षण क्षेत्रबाट समस्याग्रस्त चितुवा नियन्त्रणमा, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा राहत

बर्दिया ,२९ जेठ ।
बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट शुक्रबार बिहान एक समस्याग्रस्त चितुवालाई नियन्त्रणमा लिइएको छ। संरक्षण क्षेत्रभित्र जडान गरिएको खोरमा चितुवा प्रवेश गरेपछि वनकर्मीहरूले सुरक्षित रूपमा नियन्त्रणमा लिएका हुन्।
कृष्णसार संरक्षण क्षेत्रका रेन्जर रामु केसीका अनुसार नियन्त्रणमा लिइएको चितुवा वयस्क पोथी हो। उक्त चितुवाले विगतदेखि संरक्षण क्षेत्रभित्रका कृष्णसार तथा नजिकै रहेको गौशालामा पसेर गाईगोरु आक्रमण गरी मार्ने गरेको गुनासो स्थानीयवासीबाट आउने गरेको थियो।
संरक्षण क्षेत्र आसपास रहेको सामुदायिक वनमा हाल ३ देखि ४ वटा चितुवा रहेको अनुमान गरिएको छ। पछिल्लो समय चितुवाको बस्ती नजिकको आवतजावत बढ्दै जाँदा मानव–वन्यजन्तु द्वन्द्वको जोखिम पनि बढेको वन अधिकारीहरू बताउँछन्।
डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत रामगोपाल चौधरीका अनुसार चालु आर्थिक वर्षको साउनयता वन्यजन्तुको आक्रमणबाट जिल्लामा ११ जनाले ज्यान गुमाइसकेका छन्। जसमध्ये चितुवाको आक्रमणबाट ८ जना, पाटेबाघको आक्रमणबाट २ जना र हात्तीको आक्रमणबाट १ जनाको मृत्यु भएको छ।

वन कार्यालयका अनुसार पछिल्ला ११ महिनामा जिल्लाका विभिन्न स्थानबाट ७ वटा समस्याग्रस्त चितुवा नियन्त्रणमा लिइसकिएको छ। वन्यजन्तुको बस्ती क्षेत्रमा बढ्दो प्रवेश र आक्रमणका घटनालाई न्यूनीकरण गर्न निगरानी, उद्धार तथा नियन्त्रणका गतिविधि तीव्र पारिएको कार्यालयले जनाएको छ।
वन अधिकारीहरूले स्थानीयवासीलाई वन्यजन्तुको गतिविधिबारे सतर्क रहन, रातिको समयमा एक्लै आवतजावत नगर्न तथा कुनै पनि वन्यजन्तु देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेका छन्।

कृष्णसार संरक्षण क्षेत्रबाट समस्याग्रस्त चितुवा नियन्त्रणमा, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा राहत

घुयँत्राे:”बत्तीभन्दा आश्वासन धेरै बल्ने प्रदेश”

Leave a comment

Your email address will not be published. Required fields are marked *