नक्कली सरकारी कार्यालय खोलेर ठगी गर्ने दम्पती बर्दियामा पक्राउ

 बर्दिया ,२९ जेठ ।
बर्दियामा अस्तित्वमै नभएको सरकारी कार्यालयको नाम प्रयोग गरी ठगी गरेको आरोपमा एक दम्पती पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका–३ निवासी २४ वर्षीय घनश्याम न्यौपाने र दाङको लमही नगरपालिका–५ निवासी २३ वर्षीया कृपा चौधरी रहेका छन्। उनीहरू श्रीमान्–श्रीमती हुन्।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार ठाकुरबाबा नगरपालिका–३ स्थित बगनाहा बजारमा ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग ठाकुरबाबा नगरपालिका–३, बर्दिया, टिकापुर, लम्की’ नामक नक्कली सरकारी कार्यालय सञ्चालन गरी सर्वसाधारणलाई ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।
प्रहरी अनुसन्धानबाट उनीहरूले विभिन्न व्यक्तिलाई जागिर लगाइदिने प्रलोभन देखाएर कर्मचारीका रूपमा नियुक्ति दिएको, मजदुरीमा काम लगाएर ज्याला नदिएको तथा कार्यालय सञ्चालन गरेको घरधनीलाई घरको तल्ला थप्न लगाई रकम भुक्तानी नगरेको खुलेको छ।
यस्तै, उनीहरूले आफैंले सरकारी कागजात र छाप तयार गरी हस्ताक्षर तथा नियुक्तिपत्रमा प्रयोग गर्ने गरेको, साथै “रकम निकासा भएपछि भुक्तानी दिने” भन्दै विभिन्न व्यक्तिबाट रकम समेत उठाएर ठगी गरेको आरोप छ।
आरोपित घनश्याम न्यौपानेले आफू उक्त कार्यालयको सातौँ तहको अधिकृत तथा कार्यालय प्रमुख रहेको दाबी गर्दै आएको बताइएको छ। घरधनीले ठगी भएको भन्दै प्रहरीमा जाहेरी दिएपछि घटनाको अनुसन्धान सुरु गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम बोहराका अनुसार दुवै जनालाई नियन्त्रणमा लिई ठगी तथा किर्ते सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

नक्कली सरकारी कार्यालय खोलेर ठगी गर्ने दम्पती बर्दियामा पक्राउ

विभेदकारी विज्ञापन नीति खारेजीको माग गर्दै बाँकेमा

Leave a comment

Your email address will not be published. Required fields are marked *