फागुन २१ को निर्वाचन सफल पार्न लुम्बिनी प्रदेश सरकार पूर्ण सहकार्यका लागि तयार: मन्त्री अग्रवाल

बाँके ,२८ पुस।

।लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री आदेशकुमार अग्रवालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सफल बनाउन प्रदेश सरकारले आवश्यक सम्पूर्ण सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आइतबार आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उहाँले निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबै सरोकारवाला निकायको सक्रिय भूमिका अपरिहार्य रहेको बताउनुभयो।
मन्त्री अग्रवालले निर्वाचन सफल पार्न प्रदेश सरकार सङ्घीय सरकार, निर्वाचन आयोग तथा सुरक्षा निकायसँग घनिष्ठ समन्वय र सहकार्यका लागि तयार रहेको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “निर्वाचन लोकतन्त्रको आधारस्तम्भ हो। त्यसलाई निष्पक्ष र भयरहित बनाउने दायित्व सबैको साझा हो, यसमा कुनै कमजोरी हुनु हुँदैन।”
कार्यक्रममा मन्त्री अग्रवालले सीमा क्षेत्रमा बढ्दो तस्करीप्रति चिन्ता व्यक्त गर्दै आम उद्योगी व्यवसायीबाट बारम्बार गुनासो आउने गरेको उल्लेख गर्नुभयो। तस्करी नियन्त्रणका लागि सुरक्षा निकायले थप सक्रियता देखाउनुपर्ने भन्दै उहाँले सम्बन्धित निकायलाई आवश्यक निर्देशन समेत दिनुभयो। सीमा सुरक्षा सुदृढ नहुँदा राजस्वमा असर पर्नुका साथै स्थानीय व्यवसायी मारमा पर्ने अवस्था सिर्जना भएको उहाँको भनाइ थियो।
त्यसै अवसरमा मन्त्री अग्रवालले प्रदेश सरकारले वार्षिक बजेटमार्फत सुरक्षा निकायलाई निरन्तर सहयोग गर्दै आएको भए पनि स्थानीय तहमा कार्यरत सुरक्षा अधिकारीहरूले प्रदेश सरकारका मन्त्रीलाई अपेक्षित सम्मान नदिएको टिप्पणी गर्नुभयो। यसले समन्वय र कार्यसम्पादनमा असर पार्ने भन्दै आपसी सम्मान र सहकार्यको संस्कृति विकास गर्नुपर्ने उहाँले जोड दिनुभयो।
कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङ, प्रहरी उपरीक्षक अङ्गुर जिसी, नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, जिल्ला अध्यक्ष नविन गिरी, पूर्व अध्यक्ष रुद्र सुवेदीलगायत वक्ताहरूले निर्वाचनको समयमा सुरक्षा निकाय र पत्रकारबीच निरन्तर समन्वय र सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो। उनीहरूले सही सूचना प्रवाह, शान्ति सुरक्षाको अवस्था र जनविश्वास कायम राख्न सञ्चार माध्यम र सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने बताए।
सोही अवसरमा अपराध अनुसन्धान तथा मानवीय उद्धारको कार्यमा उल्लेखनीय योगदान पुर्‍याउने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विभिन्न पदका सुरक्षाकर्मीलाई कदरपत्रसहित सम्मान गरिएको छ। सम्मानित हुनेहरूमा नेपाल प्रहरीका नायब निरीक्षक प्रविण डिसी, सहायक निरीक्षक नविनकुमार शाही, हवलदार पुरन चौधरी तथा सशस्त्र प्रहरी बलका सहायक हवलदार (गोताखोर) मोहन विष्ट, सशस्त्र प्रहरी जवान (गोताखोर) परमेश्वर थारू, रोशन केसीलगायत रहेका छन्।
कार्यक्रमले निर्वाचनको तयारी, सुरक्षा व्यवस्थापन र सरोकारवाला निकायबीचको सहकार्यलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।

फागुन २१ को निर्वाचन सफल पार्न लुम्बिनी प्रदेश सरकार पूर्ण सहकार्यका लागि तयार: मन्त्री अग्रवाल

आलेखः प्रकृतिबाट समृद्धिको खोजी

Leave a comment

Your email address will not be published. Required fields are marked *