जनकल्याण आधारभूत विद्यालय, तल्लोमार्केमा छात्रावास भवन उद्घाटन तथा सम्मान कार्यक्रम सम्पन्न

सल्यान,२७ असार ।
शारदा नगरपालिका–५ स्थित जनकल्याण आधारभूत विद्यालय, तल्लोमार्केमा अनाथ, संरक्षण अभावमा रहेका तथा अति विपन्न बालबालिकाका लागि निर्माण गरिएको छात्रावास भवनको उद्घाटन गरिएको छ। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर बुढाथोकीको अध्यक्षता तथा शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
सोही अवसरमा विद्यालयमा २०६० सालदेखि २०८३ असारसम्म सेवा गरी अवकाश प्राप्त प्रधानाध्यापक डिल्लीबहादुर भण्डारीलाई सम्मानपूर्वक बिदाइ गरिएको थियो। साथै छात्रावास निर्माणका लागि जग्गा सहयोग गर्ने कालीबहादुर बुढाथोकी, पिमकली बुढाथोकी र हुकुम बस्नेतलाई सम्मानपत्रसहित सम्मान गरिएको कार्यक्रमका आयोजकले जनाएको छ।

कार्यक्रममा वडा नं. ५ का अध्यक्ष प्रदीप शाही, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक कृष्णबहादुर वलिले गर्नुभएको थियो।
नगरपालिकाले छात्रावास सञ्चालनबाट विपन्न तथा संरक्षणको आवश्यकता भएका बालबालिकाको शिक्षा पहुँच र सुरक्षित आवास व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।






