बर्दियाका तीन क्षेत्रमा ‘एक घर, एक पढाइ कुनायुक्त वडा/टोल’ घोषणा

बर्दिया ,२७ जेठ ।
बालबालिकाको सिकाइ उपलब्धि अभिवृद्धि, घरमै अध्ययनमैत्री वातावरण निर्माण तथा अभिभावकको सहभागिता सुदृढ गर्ने उद्देश्यले बर्दिया जिल्लाका तीन क्षेत्रलाई “एक घर, एक पढाइ कुनायुक्त वडा/टोल” क्षेत्र घोषणा गरिएको छ।

बाँके युनेस्को क्लब, प्लान इन्टरनेशनल नेपाल र स्थानीय तहको साझेदारीमा सञ्चालित बालिका सशक्त परियोजना अन्तर्गत बढैयाताल गाउँपालिका–७, गुलरिया नगरपालिका–१२ को भैसाही टोल तथा मधुवन नगरपालिका–२ का बंगलिपुर र सुन्दरपुर टोललाई “एक घर, एक पढाइ कुनायुक्त वडा/टोल” क्षेत्र घोषणा गरिएको हो।

अभियानअन्तर्गत आयोजित घोषणा कार्यक्रममा स्थानीय सरकारका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक, किशोरी तथा विद्यार्थी, युवा समूहका प्रतिनिधि र अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

बढैयाताल गाउँपालिकामा आयोजित वडा घोषणा कार्यक्रममा गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठी, उपाध्यक्ष लक्ष्मी अधिकारी, वडा नं. ७ का अध्यक्ष राधेश्याम थारु, शिक्षा शाखाका प्रमुख, नेपाल प्रहरीका प्रतिनिधि, पत्रकार तथा बाँके युनेस्को क्लबका सह–अध्यक्ष सिराज खान, प्राविधिक सल्लाहकार बिनय दिल लामा र उपकार्यकारी निर्देशक गोविन्दप्रसाद लामिछानेलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष त्रिपाठी, उपाध्यक्ष अधिकारी तथा वडा अध्यक्ष थारुले बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको सहयोगमा बर्दियामै पहिलो पटक “एक घर, एक पढाइ कुनायुक्त वडा” घोषणा गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो। उहाँहरूले अभियानले बालबालिकाको शैक्षिक विकाससँगै अभिभावकमा पनि सकारात्मक चेतना अभिवृद्धि गरेको धारणा व्यक्त गर्नुभयो।
यस्तै, गुलरिया नगरपालिका–१२ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा आयोजित घोषणा कार्यक्रममा नगर उपप्रमुख सावित्री गौतम, शिक्षा शाखा प्रमुख चन्द्रबहादुर खत्री, विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेशप्रसाद थारु, वडा अध्यक्ष रामकुमार थारु, प्रधानाध्यापक श्रीप्रसाद सुवेदी तथा विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो।

मधुवन नगरपालिकामा सम्पन्न घोषणा कार्यक्रममा नगर प्रमुख तेजबहादुर भाट, उपप्रमुख अनिता चौधरी, नगर प्रवक्ता मेकबहादुर गुरुङ, शिक्षा शाखा प्रमुख नारायणप्रसाद खनाल, महिला शाखा प्रमुख इन्द्रा चुनारा, वडा नं. २ का अध्यक्ष आशाराम थारु तथा विभिन्न शाखा, विद्यालय व्यवस्थापन समिति र विद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

घोषणा कार्यक्रमहरूमा बाँके युनेस्को क्लबका उपकार्यकारी निर्देशक गोविन्दप्रसाद लामिछाने र कार्यक्रम अधिकृत विजय शर्माले “एक घर, एक पढाइ कुना” अभियानको अवधारणा, घोषणा प्रक्रिया तथा अभिभावक शिक्षाको महत्वबारे सहजीकरण गर्नुभएको थियो। उहाँहरूले बालबालिकाको समग्र विकास, अध्ययन बानीको विकास र शैक्षिक उपलब्धि वृद्धिका लागि अभिभावकको सक्रिय भूमिका अपरिहार्य रहेको बताउनुभयो।

कार्यक्रमका क्रममा घर–घरमा निर्माण गरिएका पढाइ कुनाहरूको प्रगति र उपलब्धिहरू प्रस्तुत गरिएको थियो। सहभागीहरूले यस्ता पढाइ कुनाले बालबालिकामा नियमित अध्ययन गर्ने बानीको विकास, सिर्जनशीलता अभिवृद्धि तथा परिवारभित्र सकारात्मक संवाद र अन्तरक्रिया बढाउन महत्वपूर्ण योगदान पुर्याएको बताएका थिए।
अभियानलाई सफल बनाउन योगदान पुर्याउने विद्यालय, किशोरी समूह, युवा क्लब, सामाजिक अगुवा तथा अभिभावकहरूलाई सम्मानपत्र प्रदान गरी सम्मान समेत गरिएको थियो। कार्यक्रमको सफल कार्यान्वयनमा फिल्ड सुपरभाइजर भगवती बी.के., नग्मा मनिहार तथा किशोरी र युवा समूहका सदस्यहरूको सक्रिय भूमिका रहेको बताइएको छ।

“हरेक घरमा पढाइको वातावरण, हरेक बालबालिकाका लागि सिकाइको अवसर” भन्ने मूल सन्देशसहित सञ्चालन गरिएको यस अभियानले समुदाय, विद्यालय, अभिभावक र स्थानीय सरकारबीचको सहकार्यलाई थप बलियो बनाउँदै बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण आधार तयार गरेको सरोकारवालाहरूले बताएका छन्।







