जुम्लामा एसईई उत्तरपुस्तिका परीक्षण कडा निगरानीमा
गाेल्डेन बुढा
जुम्ला ,२५ चैत ।
जुम्लामा माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कडा सुरक्षा घेराभित्र भइरहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको निगरानीमा परीक्षण कार्य सञ्चालन गरिएको हो । शिक्षा विकास तथा समन्वय इकाइ जुम्लाका प्रमुख रमेश लुवारका अनुसार अधिकांश विद्यालयमा सुरक्षाकर्मी र सीसी क्यामराको निगरानीमा परीक्षण भइरहेको छ भने केही विद्यालयमा सुरक्षाकर्मीको मात्र निगरानी रहेको छ ।‘उत्तरपुस्तिका परीक्षणलाई सहज र प्रभावकारी बनाउन सबै साधनस्रोत परिचालन गरिएको छ । पहिलोपटक आफैंले परीक्षा दिएको केन्द्रमै उत्तरपुस्तिका परीक्षण भइरहेको देख्दा विद्यार्थीहरू उत्साहितसमेत छन्,’ उनले भने ।जुम्लामा एसईईका लागि १४ वटा परीक्षा केन्द्र तोकिएका छन् । ती सबै केन्द्रमै छुट्टै परीक्षण केन्द्र स्थापना गरी उत्तरपुस्तिका जाँच भइरहेको छ । हालसम्म अंग्रेजी र नेपाली विषयको उत्तरपुस्तिका परीक्षण सम्पन्न भइसकेको छ ।
परीक्षण भइसकेका उत्तरपुस्तिका परीक्षक र समपरीक्षकले दस्तखत गरी खामबन्दी गरेर शिक्षा विकास तथा समन्वय इकाइ जुम्लामा पठाइसकिएको छ ।उत्तरपुस्तिका परीक्षणमा हालसम्म कुनै समस्या नदेखिएको इकाइ प्रमुख लुवारले बताए । जुम्लामा कुल २ हजार २ सय ५५ विद्यार्थीले एसईई दिइरहेका छन् । तीमध्ये २ हजार १ सय ३३ जना नियमित र १ सय २२ जना ग्रेडवृद्धितर्फका छन् ।हरेक परीक्षा र परीक्षण केन्द्रमा कडा अनुगमन भइरहेको छ । जिल्ला परीक्षा समिति, शिक्षा विकास तथा समन्वय इकाइ र गाउँ शिक्षा समितिले छुट्टाछुट्टै अनुगमन गरिरहेका छन् । ‘यो पटकको परीक्षा अवसर पनि हो र चुनौती पनि हो,’ स्थानीयहरू भन्छन्, ‘पहिलो अभ्यासका रूपमा भइरहेको यो प्रणालीलाई नमुना बनाउन शिक्षक र अभिभावक सबै सचेत हुन आवश्यक छ ।’जिल्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले एसईईलाई प्रभावकारी बनाउन सबै पक्षसँग समन्वय गरिएको बताए । ‘परीक्षा सुरु हुनुअघि नै केन्द्राध्यक्षहरूको बैठक बोलाएर सचेत गराइएको थियो । तर पनि केही छिटफुट समस्या देखिएका छन्,’ उनले भने ।उत्तरपुस्तिका सम्बन्धित केन्द्रमै परीक्षण हुने भएपछि परीक्षा केन्द्रमा अभिभावकहरूको भीडभाडसमेत घटेको छ । परीक्षणमा संलग्न शिक्षकहरूलाई केन्द्रभित्रै व्यवस्थापन गरिएको छ र काम सम्पन्न नभएसम्म बाहिर जान नपाउने व्यवस्था गरिएको छ ।यसैबीच, परीक्षा सुरु भएको पहिलो दिन जुम्लाको तातोपानी गाउँपालिका–५ स्थित दुर्गा माध्यमिक विद्यालय, लाम्रा केन्द्रमा उत्तरपुस्तिका हराएको र पछि पुनः भेटिएको घटनापछि केन्द्राध्यक्ष मुकुन्दराज शर्मा र निरीक्षक हरिदेवी रावललाई पदमुक्त गरिएको थियो । अंग्रेजी विषयको परीक्षामा उत्तरपुस्तिका हराएको भनिए पनि पछि गणनाका क्रममा अव्यवस्थित अवस्थामा भेटिएको थियो । उक्त घटनालाई ‘गम्भीर लापरबाही’ ठहर गर्दै जिल्ला परीक्षा समितिले तत्काल कारबाही गरेको हो ।शिक्षा विकास तथा समन्वय इकाइ जुम्लाका प्रमुख रमेश लुवार नेतृत्वको छानबिन टोलीले घटनास्थलमै पुगेर करिब सात घण्टा अनुसन्धान गरेको थियो ।
उत्तरपुस्तिका हराउनु र भेटिनुबीचको लापरबाहीले परीक्षाको मर्यादामा असर पार्ने भन्दै सम्बन्धित अधिकारीलाई परीक्षा अवधिभर केन्द्रमा जान नपाउने गरी पदमुक्त गरिएको हो ।त्यसैगरी, तातोपानी गाउँपालिका–२ स्थित हिमाशिखर माध्यमिक विद्यालय केन्द्रमा सामाजिक विषयको परीक्षा सुरु भएको करिब १२ मिनेटमै एक परीक्षार्थीले मोबाइल प्रयोग गरी प्रश्नपत्र बाहिर पठाएको प्रारम्भिक तथ्य बाहिरिएको थियो । घटनामा निरीक्षक राजकुमार रावतको लापरबाही पुष्टि भएपछि उनलाई केन्द्रबाट निष्कासन गरिएको छ ।इकाइ प्रमुख लुवारका अनुसार रावतलाई तत्काल केन्द्रबाट हटाउनुका साथै आगामी दुई वर्षसम्म कुनै पनि परीक्षा केन्द्रमा निरीक्षकको जिम्मेवारी नदिने निर्णय गरिएको छ ।नेपाल सरकारको निर्देशनअनुसार एसईई परीक्षा समाप्त भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्नुपर्ने भएकाले परीक्षा सम्पन्न भएका विषयहरूको उत्तरपुस्तिका परीक्षण, सम्परीक्षण र नतिजा तयारी कार्य तीव्र रूपमा अघि बढाइएको छ ।





