दैलेखमा यात्रुवाहक फोर्स कर्णाली नदीमा खस्यो, एक जनाको मृत्यु; बेपत्ताको खोजी तीव्र

सुर्खेत ,१८ असार ।
सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुवाहक फोर्स गाडी दैलेखमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य यात्रुको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ।
बिहीबार बिहान करिब ११ः३० बजे कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ स्थित सांगेताडा क्षेत्रमा अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल कर्णाली नदीमा खसेर दुर्घटनाग्रस्त भएको हो।
प्रहरीका अनुसार दुर्घटनापछि करिब ४० वर्ष उमेरका एक पुरुषको शव भीरमा अड्किएको अवस्थामा फेला पारिएको छ। मृतकको नाम, थर र ठेगाना भने अझै खुल्न बाँकी रहेको छ।
कर्णाली नदीको पानी धमिलो भएका कारण उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दैलेख, सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेस, प्रहरी चौकी पाल्तडा, इलाका प्रहरी कार्यालय दुल्लु र इलाका प्रहरी कार्यालय राकमबाट संयुक्त उद्धार टोली परिचालन गरिएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी (एसएसपी) सन्तोषसिंह राठौरका अनुसार उक्त गाडी बिहीबार बिहान ८ बजे सुर्खेत बसपार्कबाट कालिकोटका लागि छुटेको थियो। प्रारम्भिक विवरणअनुसार बसपार्कबाट पाँच जना यात्रु सवार भएका थिए भने बाटोमा पनि थप यात्रु चढेको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो।
दुर्घटनामा बेपत्ता भएका यात्रुको खोजी कार्यलाई तीव्र पारिएको छ। गाडीमा सवार यात्रुको यकिन संख्या तथा मानवीय क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
यसैबीच, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी जयराज सापकोटाको नेतृत्वमा रहेको टोली पनि घटनास्थलतर्फ प्रस्थान गरेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।






