खजुरामा अर्ग्यानिक खेती प्रवर्द्धनलाई जोड : २८ लाख बराबरका कृषि सामग्री कृषकलाई वितरण

बाँके,१८ असार ।
बाँकेको खजुरा गाउँपालिकाले अर्ग्यानिक कृषि उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले एकीकृत शत्रु जीव व्यवस्थापन (आइपिएम) कृषक पाठशालामा आबद्ध कृषकहरूलाई करिब २८ लाख रुपैयाँ बराबरका कृषि सामग्री वितरण गरेको छ। ६० प्रतिशत गाउँपालिकाको अनुदान र ४० प्रतिशत कृषकको लागत साझेदारीमा सामग्री उपलब्ध गराइएको हो।
गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकले आइपिएम कृषक पाठशालामा आबद्ध १६ वटा कृषक समूहलाई कृषि सामग्री हस्तान्तरण गर्दै खजुरालाई अर्ग्यानिक कृषि उत्पादनको नमुना क्षेत्रका रूपमा विकास गर्ने गाउँपालिकाको दीर्घकालीन लक्ष्य रहेको बताउनुभयो। उहाँले कृषकले उत्पादन गरेका कृषि उपजको सहज बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालन गर्ने तयारीसमेत रहेको जानकारी दिनुभयो।
कृषि शाखा प्रमुख भगवती खड्का घर्ती मगरका अनुसार गाउँपालिकामा सञ्चालन भएका पुराना र नयाँ गरी १२ वटा आइपिएम कृषक पाठशालामा चार महिनाको तालिम सञ्चालन गरिएको थियो। उक्त तालिम सफलतापूर्वक सम्पन्न गरेका कृषकलाई उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग तथा व्यावसायिक खेती विस्तारका लागि आवश्यक कृषि सामग्री वितरण गरिएको उहाँले बताउनुभयो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले तालिमबाट सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्न तथा कृषकलाई थप उत्पादनशील बनाउन कृषि सामग्री वितरण गरिएको उल्लेख गर्नुभयो। उहाँले आधुनिक तथा वातावरणमैत्री कृषि प्रणाली अपनाएर उत्पादन र उत्पादकत्व दुवै वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले उपलब्ध गराइएका सामग्रीको प्रभावकारी सदुपयोग गर्न कृषकलाई आग्रह गर्दै कृषि उत्पादन वृद्धि, अर्ग्यानिक खेतीको विस्तार तथा उत्पादित वस्तुको बजारीकरणका लागि गाउँपालिकाले कृषकसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कृषि शाखाका अनुसार आइपिएम (एकीकृत शत्रु जीव व्यवस्थापन) खेती प्रणालीले रासायनिक विषादीको प्रयोगलाई शून्य वा न्यूनतम स्तरमा सीमित गर्दै वातावरणमैत्री र वैज्ञानिक विधिबाट बाली संरक्षण गर्ने अभ्यासलाई प्रोत्साहन गर्छ। यसले माटोको उर्वराशक्ति संरक्षण गर्नुका साथै सुरक्षित, स्वस्थ र गुणस्तरीय खाद्यान्न उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
गाउँपालिकाले खजुरालाई अर्ग्यानिक कृषि उत्पादनको केन्द्र (अर्ग्यानिक हब) का रूपमा विकास गर्ने लक्ष्यसहित आइपिएम प्रविधिलाई प्राथमिकताका साथ विस्तार गर्दै आएको जनाएको छ। अध्यक्ष विकले विषादीरहित प्राङ्गारिक खेतीको विस्तारले माटोको गुणस्तर सुधार्नुका साथै उपभोक्ताको स्वास्थ्य संरक्षणमा टेवा पुग्ने बताउनुभयो। अर्ग्यानिक उत्पादनको बजारमा उच्च माग र राम्रो मूल्य पाइने भएकाले यसबाट कृषकको आम्दानी वृद्धि भई आर्थिक जीवनस्तरमा समेत सकारात्मक परिवर्तन आउने उहाँको विश्वास छ।





