सहमतिबाट रास्वपा बाँकेको नेतृत्व चयन, विवेककुमार श्रेष्ठ जिल्ला सभापतिमा निर्वाचित

बाँके ,२४ जेठ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँकेको जिल्ला सभापति पदमा विवेककुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न जिल्ला अधिवेशनमा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत प्राप्त गर्न नसकेपछि अन्ततः प्रतिस्पर्धीबीचको आपसी सहमतिका आधारमा श्रेष्ठलाई सभापति चयन गरिएको हो।
रास्वपाको विधानअनुसार सभापति पदमा निर्वाचित हुन उम्मेदवारले कुल मतको ५१ प्रतिशत प्राप्त गर्नुपर्ने व्यवस्था रहेको छ। तर शनिबार भएको मतदानमा सभापति पदका चार उम्मेदवारमध्ये कसैले पनि आवश्यक मत कटाउन नसकेपछि पुनः मतदानको अवस्था सिर्जना भएको थियो।
शनिबारको मतदानमा विवेककुमार श्रेष्ठले ८५ मत प्राप्त गर्दै अग्रता कायम गर्नुभएको थियो भने आनन्दबाबु काफ्लेले ५२, हरिपालसिंह केसीले ३९ र विनोद अग्रहरीले ११ मत प्राप्त गर्नुभएको थियो। सर्वाधिक मत प्राप्त गरेका श्रेष्ठ र काफ्लेबिच पुनः मतदान हुने तयारी भए पनि दुवै पक्षबीच भएको छलफल र सहमतिपछि आइतबार श्रेष्ठलाई जिल्ला सभापति घोषणा गरिएको हो।
रास्वपा बाँकेका नेता बुद्धिसागर सुवेदीका अनुसार नेतृत्व चयनलाई सहमतिमार्फत टुंग्याउने निर्णय भएपछि पुनः मतदानको आवश्यकता परेन र श्रेष्ठलाई सर्वस्वीकार्य रूपमा सभापति घोषणा गरिएको हो।
अधिवेशनबाट अन्य पदाधिकारी तथा सदस्यहरू पनि चयन भएका छन्। उपसभापति पदमा ईश्वरी लामिछाने ११९ मतसहित निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी रामकुमार विष्टले ६८ मत प्राप्त गर्नुभएको थियो।
सचिव पदमा शुभमकुमार गुप्ता १०० मतसहित विजयी हुनुभएको छ भने प्रतिस्पर्धी बुद्धिसागर सुवेदीले ८९ मत प्राप्त गर्नुभएको थियो। सहसचिव पदमा फारुक गुज्जर निर्विरोध निर्वाचित हुनुभएको छ।
त्यस्तै, जातीय प्रतिनिधि सदस्यतर्फ डा. कमर जहाँ १२१ मतसहित विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी सहजाद अली जोलाहले ५७ मत प्राप्त गर्नुभएको थियो। दलित सदस्यतर्फ स्मृति नेपाली १४५ मतसहित निर्वाचित हुँदा मनोज नेपालीले ३७ मत प्राप्त गर्नुभएको थियो।
खुला सदस्यतर्फ यमुनाकुमारी थापामगर १४९, एकलाल थापा क्षेत्री १३८ र हेमराज बराल १२८ मतसहित निर्वाचित हुनुभएको छ।
जिल्ला अधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएसँगै रास्वपा बाँकेले संगठन विस्तार, पार्टी सुदृढीकरण तथा आगामी राजनीतिक गतिविधिलाई थप प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

सहमतिबाट रास्वपा बाँकेको नेतृत्व चयन, विवेककुमार श्रेष्ठ जिल्ला सभापतिमा निर्वाचित

खाेलामा डुबेर १२ वर्षिय बालिकाकाे मृत्यु

सहमतिबाट रास्वपा बाँकेको नेतृत्व चयन, विवेककुमार श्रेष्ठ जिल्ला सभापतिमा निर्वाचित

बर्दियाको ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता

Leave a comment

Your email address will not be published. Required fields are marked *