पोषणमैत्री स्थानीय शासन कार्यान्वयन गर्न कार्यशाला 

सुर्खेत, २३ जेठ । 

नेपाल सरकारको ‘पोषणमैत्री स्थानीय शासन (एनएफएलजी)’ अभियानलाई प्रभावकारी र संस्थागत रूपमा कार्यान्वयन गर्ने उद्देश्यले वीरेन्द्रनगर नगरपालिकामा पालिकास्तरीय बजेट तथा कार्यक्रम निर्माण कार्यशाला गोष्ठी सम्पन्न भएको छ । 

केयर, आईडीई र सुन्दर नेपाल संस्थाको प्राविधिक तथा आर्थिक सहयोगमा शुक्रबार नगरपालिकाको सभाहलमा आयोजित कार्यशालाको अध्यक्षता वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले गरेकी थिइन । कार्यशालामा बहुक्षेत्रीय पोषण योजनालाई आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा समावेश गर्ने विषयमा सरोकारवालाबीच व्यापक छलफल गरिएको थियो । कार्यक्रममा नगरपालिकाको पोषण प्रोफाइलसम्बन्धी मस्यौदामाथि सहभागीहरूले प्राविधिक तथा व्यावहारिक सुझाव दिएका थिए ।

नगरपालिकाको पोषणको वर्तमान अवस्था, देखिएका चुनौती तथा आगामी कार्यदिशाबारे स्वास्थ्य शाखा प्रमुख भूपेन्द्र गिरीले प्रस्तुतीकरण गरेका थिए । उनले पोषण सुधारका लागि स्थानीय तहले खेल्नुपर्ने भूमिकाबारे पनि जानकारी गराएका थिए । आगामी आर्थिक वर्षका लागि बजेट तथा कार्ययोजना निर्माण सत्रको सहजीकरण तपराज जोशीले गरेका थिए । 

सो क्रममा वीरेन्द्रनगर नगरपालिकाभित्र रहेका १६ वटै स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले आफ्नो कार्यक्षेत्रमा देखिएका पोषणसम्बन्धी सूचक, समस्या र समाधानका उपायबारे प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा सबै वडा अध्यक्ष, पोषण निर्देशक समितिका सदस्य, विषयगत शाखाका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधि र विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

कार्यशालाले आगामी दिनमा वीरेन्द्रनगर नगरपालिकालाई पोषणमैत्री स्थानीय शासन घोषणा गर्ने दिशामा आवश्यक नीति, कार्यक्रम र बजेट निर्माणका लागि स्पष्ट मार्गचित्र तय गर्न सहयोग पुगेको आयोजकले जनाएको छ । कार्यक्रमको समापन गर्दै नगर प्रमुख ढकालले अन्तर्क्रियाबाट प्राप्त पोषण सम्बन्धि निष्कर्ष तथा सझावलाई आगामी वर्षको नीति, कार्यक्रम तथा बजेटमा समावेश गर्ने प्रतिवद्धता जनाइन । 

पोषणमैत्री स्थानीय शासन कार्यान्वयन गर्न कार्यशाला 

लिमी चौकीमा फर्किए सुरक्षाकर्मी

Leave a comment

Your email address will not be published. Required fields are marked *