बर्दियाका होमस्टे पर्यटनसँगै गाउँको अर्थतन्त्रमा नयाँ ऊर्जा

बाँके, २३ जेठ ।
बर्दिया जिल्ला प्राकृतिक सौन्दर्य, जैविक विविधता र समृद्ध थारु संस्कृतिको अनुपम संगमका रूपमा परिचित हुँदै गएको छ । वन्यजन्तु, नदी, ताल, धार्मिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण बर्दिया पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको प्रमुख गन्तव्य बनेको छ । यहाँ सञ्चालनमा रहेका सामुदायिक तथा निजी होमस्टेहरूले स्थानीय संस्कृति, परम्परा र पर्यटनलाई एकै सूत्रमा बाँध्दै ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाएका छन् ।
प्राकृतिक र सांस्कृतिक सम्पदाले सम्पन्न बर्दियामा आउने पर्यटकलाई होमस्टेहरूले स्थानीय जीवनशैली, परम्परागत खानपान, सांस्कृतिक प्रस्तुति तथा आत्मीय आतिथ्यताको अनुभव प्रदान गर्दै आएका छन् । यही कारण पछिल्ला वर्षहरूमा होमस्टे पर्यटनप्रति पर्यटकको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ ।
जिल्लामा हाल जनकनगर, गोविन्दपुर, गोब्रेला, ठाकुरबाबा मध्यवर्ती, डल्ला जैविक मार्ग, रम्बापुर, सतखलुवा, सोनारा र लक्ष्मणपुर सामुदायिक होमस्टे गरी नौ वटा सामुदायिक होमस्टे सञ्चालनमा रहेका छन् । यसका अतिरिक्त निजी होमस्टेको संख्या पनि निरन्तर बढ्दो क्रममा रहेको छ ।
होमस्टे सञ्चालक तिलकराम थारुका अनुसार होमस्टे पर्यटनले गाउँघरमै रोजगारी सिर्जना गर्नुका साथै स्थानीय उत्पादनको बजारीकरण र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ । “पर्यटकहरूलाई स्थानीय परिवेशसँग प्रत्यक्ष जोड्ने माध्यम होमस्टे बनेको छ ।
बर्दियाका प्रमुख पर्यटकीय गन्तव्यहरूमा बर्दिया राष्ट्रिय निकुञ्ज, कृष्णसार सरक्षण क्षेत्र, कर्णाली पुल, गेरुवा इन्टेक, बडैयाताल, सतखलुवा ताल तथा केदारेश्वर धाम रहेका छन् । विशेषगरी नेपालको सबैभन्दा लामो पुलका रूपमा परिचित कर्णाली पुल तथा बर्दिया राष्ट्रिय निकुञ्ज वन्यजन्तु अवलोकनका लागि पर्यटकको रोजाइमा पर्ने गरेका छन् ।
पर्यटन व्यवसायसँग सम्बन्धित स्रोतहरूका अनुसार बर्दियामा आउने पर्यटकमध्ये करिब ९० प्रतिशत स्वदेशी र १० प्रतिशत विदेशी पर्यटक रहेका छन् । प्राकृतिक सौन्दर्यसँगै थारु समुदायको मौलिक संस्कृति पर्यटक आकर्षणको अर्को महत्वपूर्ण आधार बनेको छ ।
थारु समुदायका परम्परागत मगौटा, लाठी, झुम्रा र सखिया नाचले पर्यटकलाई स्थानीय संस्कृति र जीवनशैलीसँग नजिकबाट परिचित गराउने गरेका छन् । होमस्टे सञ्चालक गोविन्द थारु र रेणुका थारुका अनुसार सांस्कृतिक कार्यक्रमहरू पर्यटकका लागि विशेष आकर्षण बन्नुका साथै नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्ने प्रभावकारी माध्यम पनि बनेका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्ज तथा आसपासका सामुदायिक वन क्षेत्र वन्यजन्तु अवलोकनका लागि विश्वमै परिचित मानिन्छन्। यहाँ दुर्लभ पाटेबाघ, एकसिङ्गे गैँडा, जंगली हात्ती, चितुवा, डल्फिन, कृष्णसार, चित्तललगायतका वन्यजन्तु अवलोकन गर्न सकिन्छ । प्राकृतिक वातावरण, जैविक विविधता र सांस्कृतिक सम्पदाको संयोजनले बर्दियालाई विशिष्ट पर्यटन गन्तव्यका रूपमा स्थापित गरेको छ ।
होमस्टे सञ्चालक तथा होमस्टे महासंघका केन्द्रीय सदस्य राजकुमार चौधरीका अनुसार होमस्टे व्यवसायले दुर्गम गाउँलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्याएको छ । “होमस्टेले स्थानीय आयआर्जन बढाउनुका साथै सडक, सञ्चार, खानेपानीलगायतका पूर्वाधार विकासमा समेत सकारात्मक प्रभाव पारेको छ ।
स्थानीय संस्कृति, परम्परागत खानपान, प्राकृतिक सम्पदा र आत्मीय आतिथ्यताको अद्वितीय संगम बनेका बर्दियाका होमस्टेहरू अहिले पर्यटन प्रवद्र्धनका प्रभावकारी माध्यमका रूपमा स्थापित भएका छन् । यसले एकातर्फ पर्यटकलाई मौलिक ग्रामीण जीवनको अनुभव गराइरहेको छ भने अर्कोतर्फ स्थानीय समुदायको आर्थिक सशक्तीकरण, सांस्कृतिक संरक्षण र दिगो पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको छ ।






