गजल: वातावरण
धरती रोइरहेको छ, सुन्ने कोही छैन यहाँ,
वन जलेर खरानी बन्छ, रोक्ने कोही छैन यहाँ।
हावामा विष घुल्दैछ, श्वास फेर्न गाह्रो भयो,
प्रकृतिको पीडा बुझ्ने, देख्ने कोही छैन यहाँ।
नदीका निर्मल धारा आज फोहोरले ढाकिए,
स्वच्छताको दीप जलाउने, लेख्ने कोही छैन यहाँ।
रुखहरू ढल्दै जाँदा चराको बास हराउँदैछ,
ती कलिला स्वर बचाउन, बोल्ने कोही छैन यहाँ।
हिमालका सेता मुहार कालो धुवाँले छोइरहे,
हिउँका आँसु पुछिदिने, पग्लिने कोही छैन यहाँ।
लोभले जंगल मासियो, हरियाली टाढा भयो,
भविष्यको चिन्ता गरेर, सोच्ने कोही छैन यहाँ।
वर्षा पनि रूठ्न थाली, खेतबारी सुक्न थाले,
बादलसँग प्रेम गाँस्ने, रोप्ने कोही छैन यहाँ।
पक्षीका गीत हराए, फूलहरू ओइलाउँदैछन्,
प्रकृतिको माया बुझ्ने, खोज्ने कोही छैन यहाँ।
आजैदेखि हातेमालो गरौँ सबै मिलेर अब,
वातावरण जोगाउनलाई ढिलाइ गर्नु छैन यहाँ।
हरियो रुख रोपौँ साथी, स्वच्छ बनाऔँ यो धर्ती,
भोलिको सुन्दर संसार, बनाउन गाह्रो छैन यहाँ।
“शक्ति” भन्छ, प्रकृतिप्रेमी बन्ने समय यही हो,
धरती आमा बचाउनुभन्दा ठूलो धर्म छैन यहाँ।
(शक्ति विक रुकुम- पुर्व)






