कर्णालीमा घट्दोक्रममा एचआईभी संक्रमण दर

ओम शाही
सुर्खेत, २३ जेठ ।
कर्णाली प्रदेशमा पछिल्ला वर्षहरुमा एचआईभी संक्रमण दर घट्दै गएको पाइएको छ । परीक्षण र उपचार सेवाको दायरा विस्तार भएसँगै नयाँ संक्रमण दर क्रमश घट्दै गएको तथ्यांकले देखाउँछ । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले सार्वजनिक गरेको तथ्यांकअनुसार पाँच आर्थिक वर्षको अवधिमा एचआईभी संक्रमण दर ०.०९ प्रतिशतमा झरेको छ ।
निर्देशनालयका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को वैशाखसम्म ३५ हजार आठ सय २४ जनामा एचआईभी परीक्षण गरिएकोमा ३१ जनामा संक्रमण पुष्टि भएको छ । यो विगत चार आर्थिक वर्षको तुलनामा संक्रमण दर ०.०९ प्रतिशतमा झरेको छ, जुन पछिल्ला वर्षहरूमध्ये सबैभन्दा न्यून हो ।
यो दर आर्थिक वर्ष २०७८/०७९ मा ०.५८ थियो । यो वर्ष १२ हजार ९० जनाको परीक्षण गर्दा ७० जनामा एचआईभी संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालयका एचआईभी फोकल पर्सन पदम केसीले जानकारी दिए । त्यसयता संक्रमण दर निरन्तर घट्दो क्रममा रहेको उनले बताए ।
आप्रवासी कामदार र तिनका परिवार तथा लागुऔषध दुर्व्यसनीमा रहेका व्यक्तिहरु एचआईभी संक्रमणको जोखिममा रहेको उनी बताउँछन् । निर्देशनालयले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९ मा १२ हजार ९० जनामा परिक्षण गर्दा ७० जनामा एसआईभी पुष्टि भएको थियो ।
त्यस्तै, आर्थिक वर्ष २०७९/०८० मा १७ हजार दुई सय ४९ मा एचआईभी परिक्षण गरिएको थियो । यस वर्ष ५६ जनामा एचआईभी पुष्टि भएको निर्देशनालयका एचआईभी फोकल पर्सन केसीले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा नौ हजार दुई सय ७९ जनामा परिक्षण गर्दा ३९ जनामा एचआईभी संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै, आमाबाट शिशुमा एचआईभी संक्रमण सर्ने दर पनि स्थिर देखिन्छ । पाँच वर्षको अवधिमा एक लाख ८६ हजार आठ सय ८८ आमा तथा शिशुमा एचआईभी परिक्षण गर्दा आठ जनामा पुष्टि भएको छ । जसमा आर्थिक वर्ष २०७८/०७९ मा ३३ हजार ४० जनामा परिक्षण गर्दा एक जना बच्चामा आमाबाट एचआईभी सरेको पुष्टि भएको थियो ।
त्यस्तै, आर्थिक वर्ष २०७९/०८० मा ३५ हजार नौ सय ६६ मा तीन, आर्थिक वर्ष २०८०/०८१ मा ४० हजार सात सय ६७ मा एक, आर्थिक वर्ष २०८१/०८२ मा ४३ हजार तीन सय ७५ मा एक र चालु आर्थिक वर्षको २०८२/०८३ को बैशाखसम्म ३३ हजार सात सय ४० जना आमा तथा शिशुमा गरिएको परीक्षणमा दुई जना बच्चामा एचआईभी पुष्टि भएको जनाइएको छ ।
तथ्यांक अनुसार नेपालमा सन् २०२४ को अन्त्यसम्म ३४ हजार तीन सय ३७ जना एचआईभी संक्रमित रहेको अनुमान गरिएको छ । तीमध्ये ६ सय १४ जना नयाँ थपिएका संक्रमित हुन् । एड्ससम्बन्धी कारणले पाँच सय ६९ जनाको मृत्यु भएको अनुमान छ । कर्णाली प्रदेशमा हाल नौ वटा केन्द्रमार्फत एआरटी (एन्टिरिट्रोभाइरल थेरापी) सेवा सञ्चालनमा छ ।
चालु आर्थिक वर्षको चैतसम्म सात सय ७० जना संक्रमित नियमित उपचारमा रहेको निर्देशनालयले जनाएको छ । अघिल्लो वर्ष यो संख्या सात सय ३१ थियो । प्रदेश अस्पताल सुर्खेतमा मात्रै दुई सय ९० जना उपचाररत रहेको जनाइएको छ ।
एड्स हेल्थ केयर फाउण्डेशन (एएचएफ) कार्यक्रम संयोजक संजय कुमार पौडेलले उपचार सेवाको पहुँच विस्तार भए पनि लक्ष्यअनुसारको उपलब्धि हासिल गर्न अझै चुनौती रहेको बताए । आर्थिक वर्ष २०८१/०८२ मा अनुमानित नौ सय २३ संक्रमितमध्ये सात सय ३१ जना उपचारमा थिए, जुन ७९ प्रतिशत हो ।
उपचारमा रहेका संक्रमितमध्ये पाँच सय ३७ जनाको भाइरल लोड परीक्षण गरिएको थियो । तीमध्ये पाँच सय सात जनाको भाइरल लोड नियन्त्रणमा रहेको पाइएको छ । त्यस्तै, सिफिलिस परीक्षणतर्फ २० हजार एक सय ५४ जनाको परीक्षण गर्दा ४७ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ । संक्रमित सबैले उपचार पाएका छन् ।
त्यस्तै, हेपाटाइटिस ‘बी’ परीक्षण गरिएका नौ हजार नौ सय जनामध्ये २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । जसमा १६ जनाले उपचार सेवा प्राप्त गरेका छन् । कर्णालीमा हाल नौ सय ३९ स्वास्थ्य संस्था सञ्चालनमा छन् । तथ्यांक अनुसार प्रदेशभर नौ वटा एआरटी केन्द्र, नौ वटा एचआईभी परीक्षण तथा परामर्श केन्द्र (एचटीसी) र प्रदेश जनस्वास्थ्य प्रयोगशालामार्फत भाइरल लोड परीक्षण सेवा उपलब्ध छ । तर, सीडी–४ परीक्षण सेवा भने अझै सञ्चालनमा आउन सकेको छैन ।
निर्देशनालयले जुम्लामा थप एआरटी केन्द्र स्थापना, प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट सीडी–४ परीक्षण सेवा सुरु गर्ने तथा समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्ने योजना अघि सारेको जनाएको छ । त्यस्तै, सन् २०२६ मा कुल अनुमानित एचआईभी सङ्क्रमितमध्ये ९५ प्रतिशतको पहिचान गर्ने उद्देश्यका साथ काम गरिरहेको निर्देशनालयको दावी छ ।
त्यस्तै, सङ्क्रमण पुष्टि भएका मध्ये ९५ प्रतिशत व्यक्तिको उपचार गर्ने, उपचारमा रहेका एचआईभी. सङ्क्रमित मध्ये ९५ प्रतिशतमा रहेको भाइरसको मात्रा न्यून स्तरमा झार्ने लक्ष्य छ । निर्देशनालयका अनुसार नयाँ एचआईभी. सङ्क्रमण दरलाई ९० प्रतिशतले कम गर्नेदेखि आमाबाट बच्चामा हुने सङ्क्रमण निवारण गर्ने लक्ष्य यस वर्ष राखिएको छ । त्यस्तै, सिफिलिसको केस दरप्रति लाख जीवित जन्ममा ५० वा सो भन्दा कम गर्ने लक्ष्यका साथ काम भइरहेको निर्देशनालयले जनाएको छ ।
एचआईभी संक्रमणलाई सन् २०३० सम्म शून्यमा झार्ने लक्ष्यका साथ काम भइरहेको भएपनि सीमित स्रोत–साधनका कारण अपेक्षाअनुसार काम गर्न नसकिएको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले स्वीकार गरे ।
शुक्रबार स्वास्थ्य सेवा निर्देशनालयले आयोजना गरको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण कार्यक्रम अन्तर्गत पत्रकारहरुसँगको अन्तर्क्रिया कार्यक्रममा शाहीले भने, ‘नेपाल सरकारको आफ्नै बजेटबाट मात्रै यो क्षेत्रमा प्रभावकारी ढंगले काम गर्न पर्याप्त स्रोत छैन । एचआईभी संक्रमण बहुसरोकारको विषय भएकाले यसको न्यूनिकरणमा सबैले हातेमालो गर्न आवश्यक देखिन्छ ।’
एचआईभी संक्रमितको क्षेत्रमा काम गर्दै आएको नवकिरण प्लसका कार्यक्रम संयोजक देवेन्द्र पाठकले संक्रमितले राज्यबाट गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्ने र समाजमा विभेदरहित जीवन बाँच्न पाउनुपर्ने बताए । उनले भने, ‘संक्रमितलाई समुदायमै आयआर्जनमुखी कार्यक्रमसँग जोड्न सके उनीहरूको जीवनस्तर सुधारमा टेवा पुग्छ ।’ उनले समाजले लगाउने विभिन्न लाञ्छनाले संक्रमितहरु अझै पनि खुलेर आउन नसकेको बताए ।






