यू–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता हुँदै

सुर्खेत, २१ जेठ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पहिलो पटक राष्ट्रियस्तरको १९ वर्षमुनीको टी २० राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । सन् २०२७ मा बंगलादेश र नेपालमा संयुक्त रूपमा आयोजना हुने उमेर समूहको महिला विश्वकप क्रिकेटमा प्रतिनिधित्व गर्ने नेपाली टोलीमा समावेश हुने महिला खेलाडीको छनोटका लागि प्रतियोगिता आयोजना हुन लागेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक कार्यक्रम अनुसार कर्णाली प्रदेश क्रिकेट संघको आयोजनामा प्रतियोगिता आगामी जेठ २२ गतेदेखि असार १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । बुधबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले प्रतियोगितामा देशका सातवटै प्रदेशका महिला टोलीहरूको सहभागिता रहने दिए ।
कर्णालीमा महिला क्रिकेटको इतिहासमा यो पहिलो राष्ट्रिय प्रतियोगिता भएकाले यसलाई ऐतिहासिक अवसरका रूपमा लिइएको उनले बताए । खड्काले गत वर्ष सफलतापूर्वक सम्पन्न गरिएको यू–१६ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितापछि कर्णालीले दोस्रोपटक राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने अवसर पाएको भन्दै यसले प्रदेशको क्षमता र सम्भावनालाई थप उजागर गर्ने विश्वास व्यक्त गरे ।
प्रतियोगिताले देशभरका प्रतिभावान महिला क्रिकेटरलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै कर्णालीलाई राष्ट्रिय खेलकुद गतिविधिको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए ।
प्रतियोगिताका लागि खेल मैदान, आवास, यातायात, सुरक्षा, स्वास्थ्य सेवा लगायतका सम्पूर्ण व्यवस्थापकीय तयारी तीव्र रूपमा अघि बढाइएको आयोजकले जनाएको छ । साथै, आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा समेत यस प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको कोषाध्यक्ष खड्काको भनाइ छ ।
प्रतियोगितामा विजेता टोलीले पाँच लाख रुपैयाँ तथा उपविजेता टोलीले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई ४० हजार रुपैयाँ, उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई ३ हजार रुपैयाँ प्रदान गरिनेछ ।
प्रतियोगिताले कर्णालीका स्थानीय खेलाडी मात्र नभई देशभरका प्रतिभावान महिला क्रिकेटरहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास लिइएको छ । यो प्रतियोगिताले आसन्न दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बलियो आधार तयार गर्ने आयोजकको अपेक्षा छ ।






