बाँकेको शिक्षा क्षेत्रमा चुनौतीको चाङ : शिक्षक अभाव, सीमित बजेट र कमजोर पूर्वाधार

बाँके, २१ जेठ ।
बाँके जिल्लामा ठूलो संख्यामा बालविकास केन्द्र तथा विद्यालय सञ्चालनमा रहे पनि शिक्षक दरबन्दीको अभाव, सीमित बजेट र कमजोर भौतिक पूर्वाधारका कारण शिक्षा क्षेत्रले विभिन्न चुनौती सामना गरिरहेको छ । सरोकारवालाहरूका अनुसार विद्यालयको पहुँच विस्तार भए पनि गुणस्तरीय शिक्षा सुनिश्चित गर्न आवश्यक स्रोतसाधन अझै पर्याप्त हुन सकेको छैन ।
शिक्षा विकास तथा समन्वय इकाइ बाँकेको तथ्यांकअनुसार जिल्लाका आठवटै स्थानीय तहमा विद्यालयमा आधारित ५०० र समुदायमा आधारित ८४ गरी कुल ५८४ बालविकास केन्द्र सञ्चालनमा छन् । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकामा बालविकास केन्द्रहरूको उल्लेख्य उपस्थिति रहेको छ ।
जिल्लाभर २५१ वटा आधारभूत तथा माध्यमिक विद्यालय र १३५ वटा धार्मिक विद्यालय सञ्चालनमा रहेका छन् । कक्षा–१ देखि ५, १ देखि ८, १ देखि १० तथा १ देखि १२ सम्मका विद्यालयहरूले शैक्षिक सेवा प्रदान गरिरहेका छन् । विद्यालयको संख्या पर्याप्त देखिए पनि शिक्षक व्यवस्थापन, भौतिक पूर्वाधार विकास र आर्थिक स्रोतको अभावले शिक्षण सिकाइ प्रक्रियामा प्रभाव पारिरहेको छ ।
तथ्यांकअनुसार प्राथमिक तहमा ५९० जना बालविकास शिक्षक कार्यरत छन् । स्थायी शिक्षकतर्फ प्रथम श्रेणीका १९, द्वितीय श्रेणीका २६६ र तृतीय श्रेणीका ४७७ जना रहेका छन् । यसका अतिरिक्त राहत, अस्थायी तथा स्थानीय तहको अनुदानमा कार्यरत सयौं शिक्षकले विद्यालयमा पठनपाठन गराइरहेका छन् ।
निम्न माध्यमिक तहमा पनि राहत, संघीय अनुदान, पालिका अनुदान तथा स्वयंसेवक शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको छ । माध्यमिक तहमा भने स्थायी शिक्षक दरबन्दी सीमित छ । उपलब्ध तथ्यांकअनुसार प्रथम श्रेणीका ३, द्वितीय श्रेणीका २३ र तृतीय श्रेणीका १२४ जना स्थायी शिक्षक मात्रै कार्यरत छन् । उच्च माध्यमिक तहमा समेत दरबन्दी न्यून हुँदा अधिकांश शैक्षिक गतिविधि अनुदान तथा अस्थायी शिक्षककै भरमा सञ्चालन भइरहेको अवस्था छ ।
शिक्षा क्षेत्रका जानकारहरूका अनुसार गुणस्तरीय शिक्षा सुनिश्चित गर्न पर्याप्त बजेट, आवश्यकता अनुसार शिक्षक दरबन्दी, आधुनिक शिक्षण पूर्वाधार र विद्यालय सञ्चालनका लागि नियमित आर्थिक स्रोत अपरिहार्य छन् । उनीहरूका अनुसार शिक्षक व्यवस्थापन र पूर्वाधार सुधारबिना शैक्षिक गुणस्तरमा अपेक्षित सुधार ल्याउन कठिन हुनेछ ।
सीमित स्रोतसाधनका बाबजुद बाँकेका सामुदायिक विद्यालयहरूले शिक्षाको पहुँच विस्तार र विद्यार्थीलाई पठनपाठनको अवसर उपलब्ध गराउँदै आएका छन् । तर दीर्घकालीन रूपमा शिक्षा क्षेत्रलाई सुदृढ बनाउन संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय, लगानी वृद्धि तथा योजनाबद्ध कार्यान्वयन आवश्यक रहेको सरोकारवालाहरूको निष्कर्ष छ । शिक्षा क्षेत्रमा देखिएका संरचनागत समस्याको समाधान गर्दै गुणस्तरीय र समावेशी शिक्षातर्फ अघि बढ्नु अहिलेको प्रमुख आवश्यकता बनेको छ ।






