जेन–जी आन्दोलनपछि बाँके प्रहरीको कडाई तीन महिनामा एक करोड बढीको अवैध सामान बरामद

बाँके, २० पुस ।
जेन जी आन्दोलनपछि तस्करी, अवैध आयात–निर्यात र लागुऔषध कारोबारविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुँदै आएको जिल्ला प्रहरी कार्यालय बाँकेले पछिल्लो तीन महिनाको अवधिमा एक करोड आठ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार सीमा नाकाबाट हुने अवैध आयात–निर्यात तथा लागुऔषध ओसारपसार नियन्त्रणका लागि विशेष सुरक्षा योजना बनाएर कडा अभियान सञ्चालन गरिएको छ । सोही अभियानको परिणामस्वरूप भन्सार राजस्व छलेर भारतबाट भित्र्याइएका एक करोड आठ लाख ८४ हजार ९६८ रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको उनले जानकारी दिए ।
अभियानका क्रममा प्रहरीले अवैध कारोबारमा संलग्न २९ जनालाई पक्राउ गरेको छ । साथै एक जिप, १६ वटा मोटरसाइकल र दुईवटा इ–रिक्सा समेत नियन्त्रणमा लिइएको प्रहरी प्रमुख जिसीले बताए । उनका अनुसार मुख्य सीमा नाकासँगै साइड नाकाहरूमा समेत प्रहरी परिचालन बढाइएको छ भने नेपालगन्ज बजार क्षेत्रमा पनि नियमित चेकजाँच कडा पारिएको छ ।
प्रहरीले तस्करी नियन्त्रणसँगै जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि पनि निरन्तर कारबाही गर्दै दुर्घटना न्यूनीकरण अभियान सञ्चालन गरिरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पछिल्लो दुई महिनामा ट्राफिक नियम उल्लङ्घन गर्ने चार हजार ७४० वटा सवारीसाधनलाई कारबाही गरी ४० लाख ४० हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ ।
सोही अवधिमा प्रहरीले एक लाख छ हजार ७२५ रुपैयाँ बराबरका अवैध पशुपंक्षी बरामद गरेको छ भने नदिजन्य पदार्थको अवैध उत्खनन् तथा ओसारपसारमा संलग्नबाट एक लाख ७० हजार रुपैयाँ राजस्व असुली गरेको जनाएको छ ।
यसैगरी तीन महिनाको अवधिमा जिल्लामा फरार रहेका २१ जना प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार पक्राउ परेका फरार अपराधीबाट ६३ वर्ष ६ महिना ७ दिन कैद र ९६ लाख ७५ हजार ७४ रुपैयाँ राजस्व असुली भएको छ ।
लागुऔषध नियन्त्रणतर्फ पनि प्रहरी योजनाबद्ध रूपमा सक्रिय देखिएको छ । तीन महिनाको अवधिमा प्रहरीले ३५१ ग्राम ४३० मिलिग्राम ब्राउन सुगर, १२९ ट्याब्लेट नाइट्राभेट र २२० ट्याब्लेट ट्रामाडोल बरामद गरेको छ । लागुऔषध ओसारपसारमा संलग्न ५७ जनालाई पक्राउ गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी प्रवक्ता पातलीले जानकारी दिए । बाँके प्रहरीले आगामी दिनमा पनि तस्करी, अवैध कारोबार, लागुऔषध र आपराधिक गतिविधिविरुद्ध कडा अभियान निरन्तर जारी रहने स्पष्ट पारेको छ ।






