आज अचानक परेकाे असिना र भीषण वर्षाले हिमा–१ काे कृषिबालीमा ठूलो क्षति

काली बहादुर परियार
जुम्ला ,२० जेठ ।
हिमा गाउँपालिका–१ आचार्य लिहिमामा अचानक परेको असिना पानी सहितको भीषण वर्षाले कृषिबालीमा ठूलो क्षति पुर्याएको छ । आज साँझ करिव ६ बजे तिर परेकाे अचानक भिषण पानीले हिमा १ आचार्य लिहिका किसानले लगाएका गहुँ बालीमा क्षेती पुर्याएकाे हाे ।
क्षतिको अवस्था बुझ्न हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जालन्धर भुसाल, १ का वडा अध्यक्ष रतन बहादुर शाही, बड्की प्रहरी चौकीका असई तथा विभिन्न शाखाका कर्मचारीहरूको टोलीले सोमबार प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ।

अनुगमनका क्रममा असिना र वर्षाका कारण किसानले रोपेका धानका खेत, पाक्न लागेको गहुँ, लसुन, आलु तथा विभिन्न तरकारी बालीमा उल्लेख्य क्षति पुगेको वडा अध्यक्ष रतन बहादुर शाहीले जानकारी दिए ।
उनका अनुसार, सबैभन्दा बढी कृषिमा निर्भर स्थानीय किसानहरू प्राकृतिक विपत्तिका कारण मारमा परेका छन् । केही स्थानमा असिनाले बाली पूर्ण रूपमा नष्ट गरेको उनकाे भनाइ छ ।
वडा अध्यक्ष शाहीका अनुसार, अनुगमन टोलीले प्रभावित कृषकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै क्षतिको विवरण संकलन गर्नुका साथै, वास्तविक अवस्था मूल्यांकन गरी आवश्यक राहत तथा सहयोगका लागि गाउँपालिकाले सम्बन्धित निकाय सँग समन्वय गर्ने बताए ।
प्रमुख प्रशासकीय अधिकृत जलन्धर भुसालले प्राकृतिक विपत्ति बाट प्रभावित किसानहरूको समस्या प्रति गाउँपालिका संवेदनशील रहेको बताउँदै क्षतिको यथार्थ विवरण संकलन गरी आवश्यक पहल गरिने जानकारी दिए ।

उनका अनुसार कृषकहरूको मुख्य आयस्रोत नै खेती भएकाले यस प्रकारको विपत्तिले स्थानीयको जीविकोपार्जनमा प्रत्यक्ष असर पारेको बताए । स्थानीय किसानहरूले असिना र वर्षाका कारण यस वर्षको उत्पादनमा ठूलो गिरावट आउने चिन्ता व्यक्त गरेका छन् ।
हिमा गाउँपालिकाले प्रभावित क्षेत्रको विस्तृत प्रतिवेदन तयार पार्ने र आवश्यक सहयोगका लागि प्रदेश तथा संघीय सरकार सँग पहल गर्ने जनाएको छ। प्राकृतिक विपत्तिका कारण भएको क्षतिपछि किसानहरू आगामी खेतीपातीको व्यवस्थापन कसरी गर्ने भन्ने चिन्तामा रहेका छन् ।





