गोरखापत्रको नेतृत्व दौडमा जुम्लाका नेत्रबहादुर शाही

गाेल्डेन बुढा

जुम्ला ,२० जेठ ।
नेपालको सबैभन्दा पुरानो तथा ऐतिहासिक सञ्चार संस्था गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि जुम्लाका पत्रकार नेत्रबहादुर शाहीले आवेदन दिएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत पदपूर्तिका लागि आह्वान गरेको आवेदनमा शाहीसहित ३५ जनाको आवेदन परेको छ।मन्त्रालयले सोमबार सार्वजनिक गरेको आवेदकहरूको सूचीअनुसार साविक कर्णाली क्षेत्रबाट पत्रकार नेत्रबहादुर शाहीको मात्रै आवेदन परेको छ। करिब दुई दशकदेखि ग्रामीण तथा मफसल पत्रकारितामा सक्रिय शाहीले आफू उक्त पदका लागि योग्य रहेको दाबी गरेका छन्।“गोरखापत्रमै काम गर्न थालेको एक दशक भयो, अन्य मिडियामा पनि कर्णालीलाई केन्द्रमा राखेर पत्रकारिता गरेको अनुभव छ,” शाहीले भने, “गोरखापत्रलाई राम्ररी बुझेको हुँदा संस्थाको थप सुदृढीकरण, प्रतिस्पर्धी मिडिया बजारमा प्रकाशनको नयाँपन, गोरखापत्रका सम्पदा तथा प्रकाशनको डिजिटल दस्ताबेजीकरणसहित कार्ययोजनाअनुसारका काम पूरा गर्नका लागि महाप्रबन्धक पदमा आवेदन दिएको हुँ।”उनका अनुसार अवसर पाए संस्थाको नेतृत्व सम्हाल्दै कुशल क्षमता प्रदर्शन गर्ने र गोरखापत्रलाई समयानुकूल तथा प्रतिस्पर्धी बनाउने गरी काम गर्ने योजना रहेको छ।जुम्लाको दुर्गम हिमा गाउँपालिका–१ बड्की गाउँका शाहीले मध्यपश्चिम विश्वविद्यालय, सुर्खेतबाट आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर शिक्षा हासिल गरेका छन्। उनले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसबाट स्वास्थ्य शिक्षामा स्नातकोत्तर अध्ययनसमेत पूरा गरेका छन्। सिंजा क्षेत्रस्थित भैरव माध्यमिक विद्यालय नराकोटबाट एसएलसी उत्तीर्ण गरेका शाहीले जुम्ला बहुमुखी क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह तथा महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जबाट स्नातक शिक्षा हासिल गरेका छन्।वि.सं. २०६२ साउनबाट ‘कर्णालीको सन्देश’ साप्ताहिक पत्रिकामा संवाददाताका रूपमा पत्रकारिता यात्रा सुरु गरेका शाही जुम्लाको पहिलो दैनिक पत्रिका ‘कर्णाली सरोकार दैनिक’को सम्पादकको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। उनले उज्यालो रेडियो नेटवर्कमा झण्डै एक दशकभन्दा बढी समय काम गरेको अनुभव बटुलेका छन्।नेपाल पत्रकार महासंघ जुम्ला शाखाको अध्यक्षसहित विभिन्न सामाजिक संस्थामा नेतृत्व गरिसकेका शाही संस्थाको प्रशासनिक व्यवस्थापन तथा सञ्चालनमा अब्बल रहेको र संस्थागत तथा रणनीतिक नेतृत्व क्षमता भएको व्यक्तिका रूपमा परिचित छन्।शाहीको जीवनयात्रा संघर्षपूर्ण छ। छ वर्षको उमेरमा दुर्घटनामा परी अपाङ्गता भएका उनलाई घरको आर्थिक अवस्था कमजोर हुनुका साथै सामाजिक चेतनाको अभावका कारण समयमै उपचार हुन सकेन। त्यसैले अपाङ्गताको तितो अनुभव भोग्नुपरे पनि उनले संघर्षलाई नै शक्तिमा रूपान्तरण गर्दै अगाडि बढेको बताइन्छ। संघर्षकै बलमा यहाँसम्म आइपुगेका शाहीमा जुनसुकै निकाय वा संस्थाको नेतृत्व गर्न सक्ने आँट, योग्यता र अनुभव रहेको उनका निकटवर्तीहरू बताउँछन्।पत्रकार शाहीको इच्छाशक्ति र निरन्तरताका कारण दुर्गम क्षेत्रमा १० वर्षे सशस्त्र द्वन्द्वको समयदेखि विभिन्न कालखण्डमा भएका आन्दोलन, राजनीतिक परिवर्तन, विकास निर्माण तथा सामाजिक उत्तरदायित्वका सवालमा पत्रकारिता क्षेत्रबाट नीतिगत पैरवी र लेखनमार्फत राज्यसँग अग्रणी भूमिका निर्वाह गर्दै आएको पाइन्छ।पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानका लागि शाही विभिन्न पुरस्कार तथा सम्मानबाट सम्मानित भइसकेका छन्।

उनले प्रेस काउन्सिल नेपालको क्रियाशील पत्रकारिता पुरस्कार–२०७१ प्राप्त गरेका छन्। त्यसैगरी, गोरखापत्रले उनलाई कर्णाली क्षेत्रको उत्कृष्ट प्रदेश समाचारदाताका रूपमा सम्मान गरिसकेको छ। नेपालको लोकप्रिय सञ्चार संस्था उज्यालो रेडियो नेटवर्कले पनि २०७५ सालमा कर्णाली प्रदेशको उत्कृष्ट समाचारदाताका रूपमा पुरस्कृत गरेको थियो।गोरखापत्र संस्थानको नेतृत्व चयन प्रक्रियामा प्रवेश गरेका शाहीको उम्मेदवारीलाई दुर्गम कर्णालीबाट राष्ट्रिय सञ्चार संस्थाको नेतृत्व तहसम्म पुग्ने प्रयासका रूपमा समेत हेरिएको छ। लामो पत्रकारिता अनुभव, शैक्षिक योग्यता, संस्थागत नेतृत्व क्षमता र संघर्षपूर्ण जीवनयात्राका आधारमा उनले देशकै जेठो सञ्चार संस्थाको नेतृत्वका लागि दाबी प्रस्तुत गरेका छन्।

गोरखापत्रको नेतृत्व दौडमा जुम्लाका नेत्रबहादुर शाही

इ-रिक्साले फेरियो जीवन : बर्दियाका महिलाहरू आत्मनिर्भर

गोरखापत्रको नेतृत्व दौडमा जुम्लाका नेत्रबहादुर शाही

बाँकेमा हिट एक्सन डे मनाइयो

Leave a comment

Your email address will not be published. Required fields are marked *