इ-रिक्साले फेरियो जीवन : बर्दियाका महिलाहरू आत्मनिर्भर बन्दै, छोराछोरीको पढाइदेखि घरखर्चसम्म सहज

बर्दिया ,२० जेठ ।
बर्दियामा पछिल्लो समय इ-रिक्सा चलाएर स्वरोजगार बन्ने महिलाको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ। एक समय घरधन्दा र खेतबारीमा मात्र सीमित रहने महिलाहरू अहिले इरिक्साको स्टेयरिङ सम्हाल्दै परिवारको आर्थिक जिम्मेवारीमा हातेमालो गरिरहेका छन्। आफ्नै मेहनतबाट आम्दानी गर्न थालेपछि उनीहरूमा आत्मविश्वास बढेको छ भने छोराछोरीको पढाइ–लेखाइ र घरखर्च व्यवस्थापनमा समेत सहजता आएको छ।
पछिल्ला वर्षहरूमा सहरदेखि गाउँबस्तीसम्म इरिक्साको प्रयोग तीव्र रूपमा बढेको छ। सस्तो भाडा, साँघुरा गल्ली तथा कच्ची सडकमा समेत सहज रूपमा सञ्चालन गर्न सकिने भएकाले छोटो दूरीका यात्रुका लागि इरिक्सा भरपर्दो यातायातको साधन बन्दै गएको छ। यही अवसरलाई उपयोग गर्दै बर्दियाका महिलाहरू पनि यातायात क्षेत्रमा सक्रिय हुन थालेका छन्।
सुरुआती दिनमा इरिक्सा चलाउन केही अप्ठ्यारो र चुनौती महसुस भए पनि अहिले यात्रु ओसारपसार गर्दै राम्रो आम्दानी भइरहेको महिला चालकहरू बताउँछन्। इरिक्सा चालक इन्दु थारु भन्छिन्, “पहिले घरधन्दामै सीमित थिएँ। अहिले इरिक्सा चलाएर आफ्नै कमाइ हुन थालेपछि छोराछोरीको पढाइ र दैनिक खर्च व्यवस्थापन गर्न सहज भएको छ। आफ्नै खुट्टामा उभिन पाउँदा छुट्टै खुसी मिलेको छ।”
राजापुर र गेरुवा क्षेत्रका विभिन्न स्थानमा यात्रु सेवा दिँदै आएका महिला चालकहरू दैनिक आम्दानीले परिवारको आर्थिक भार कम गर्न सहयोग पुगेको बताउँछन्। इरिक्सा चालक निमा वली र बेलमती थारु का अनुसार घरमा खाली बस्नुभन्दा केही आम्दानी गरेर परिवारलाई सहयोग गर्ने उद्देश्यले आफूहरू यो पेशामा लागेका हुन्। उनीहरूका अनुसार इरिक्साले आर्थिक आम्दानीसँगै आत्मसम्मान र आत्मनिर्भरताको अनुभूति समेत दिलाएको छ।
जिल्लामा हाल २० जनाभन्दा बढी महिला इरिक्सा चालक सक्रिय रहेको अनुमान गरिएको छ। महिला चालकहरू पुरुषको तुलनामा बढी जिम्मेवार र ट्राफिक नियमप्रति सचेत देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले जनाएको छ। प्रहरी निरीक्षक सन्दीप बेल्बासे का अनुसार महिला चालकहरूले सुरक्षित र अनुशासित ढंगले सवारी सञ्चालन गरिरहेका छन्, जसले यातायात क्षेत्रमा सकारात्मक सन्देश दिएको छ।
महिलाहरू यातायात क्षेत्रमा सक्रिय बन्दै गएसँगै बर्दियामा महिला सशक्तीकरणको नयाँ उदाहरण स्थापित हुन थालेको छ। इरिक्सा उनीहरूका लागि केवल आम्दानीको स्रोत मात्र बनेको छैन, आत्मनिर्भर जीवनको आधार पनि बनेको छ। आफ्नै परिश्रमबाट परिवारको आर्थिक अवस्था सुधार गर्दै छोराछोरीको भविष्य उज्यालो बनाउन सफल यी महिलाहरूले समाजमा श्रम, साहस र आत्मनिर्भरताको प्रेरणादायी सन्देश फैलाइरहेका छन्।

इ-रिक्साले फेरियो जीवन : बर्दियाका महिलाहरू आत्मनिर्भर बन्दै, छोराछोरीको पढाइदेखि घरखर्चसम्म सहज

लुम्बिनीमा एमालेका चार मन्त्री भए विदा, नयाँ

Leave a comment

Your email address will not be published. Required fields are marked *