१० बुँदे घोषणा पत्र जारी गर्दै सकियो कर्णाली छोरी सम्मेलन

सुर्खेत, १८ जेठ ।
‘कर्णाली छोरी सम्मेलन’को दोस्रो संस्करण १० बुँदे घोषणापत्र जारी गर्दै समापन भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा शनिबार र आइतबार गरी दुई दिनसम्म चलेको सम्मेलन ज्योति फाउन्डेशनको आयोजना र कर्णाली सरकार सामाजिक विकास मन्त्रालयको समन्वयमा आयोजना गरिएको थियो ।
यो पटकको सम्मेलनमा लैङ्गिक तथा जातीय विभेद, महिला हिंसा, बालविवाह, घरेलु हिंसा, मर्यादित महिनावारी र छाउपडीजस्ता विषयमा व्यापक छलफल भएको फाउन्डेशनकी अध्यक्ष ज्योति कटुवालले बताइन् । छोरी सम्मेलनमा कर्णालीका ७९ वटै स्थानीय तहका साथै लोपोन्मुख तथा सीमान्तकृत समुदायका छोरीहरूको सहभागिता रहेको थियो ।
यो पटकको सम्मेलनमा हरेक जिल्लाका छोरीहरूबिच जिल्लागत रुपमा ‘छोरीका मनका कुरा’ शीर्षकमा जिल्लामा छोरीहरूको अवस्थाबारे छलफल गरिएको थियो । जस क्रममा अधिकांश छोरीहरूले अझै पनि समाजमा छोरीमाथि हेर्ने व्यवहारमा रुपान्तरण हुन नसकेको बताएका थिए । जसमा १० वटै जिल्लाका छोरीहरूले छोरीहरूलाई अवसरसँगै आधारभूति अधिकार दिनुपर्ने निष्कर्षसहितको बहस गरे ।
अझै पनि समाजमा अझै व्याप्त विभेद, महिलामाथि हेर्ने नजरिया तथा डोल्पा जिल्लाका महिलाले शिक्षा, स्वास्थ्यका क्षेत्रमा भोग्दै आएका कथाव्यथामाथि प्रकाश पारे । सम्मेलनले अझै पनि कर्णालीमा बाल विवाह, लैङ्गिक विभेद, कुप्रथालगायतका विभेदहरू कर्णालीका छोरीहरूको उज्ज्वल भविष्य निर्माणका लागि बाधक बनेको निष्कर्ष निकालेको छ । ‘बाल विवाह अन्त्यका लागि प्रदेश तथा स्थानीय सरकारसँग रणनीति एवम् कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्न माग गर्दछ,’ घोषणापत्रमा भनिएको छ ।
सम्मेलनमा अझै पनि कर्णालीका ३३ प्रतिशत महिला निरक्षर रहेको विषयमा चिन्ता प्रकट भयो । कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशीले निरक्षर महिला जनसंख्यालाई साक्षर र सबल बनाउन तीन वटै तहका सरकार जिम्मेवारी बनाइनुपर्ने बताए । सम्मेलनमा शासनको बागडोरमा छोरी, प्रेरणाका प्रतिविम्ब, ज्ञानको उज्यालोमा छोरी, आवाज विहिनहरूका आवाज जस्ता शीर्षकमा स्थानीय तहको नेतृत्वमा पुगेका महिला राजनीतिज्ञ, प्रशासनिक निकायको माथिल्लो तहमा पुगेका तथा पत्रकारिता क्षेत्रमा सक्रिय महिलाहरूबिच बसह गरिएको थियो । जसमा उनीहरूले आफ्नो संघर्ष, त्याग र आ–आफ्नो समयको सामाजिक चेतका बारेमा जानकारी गराएका थिए ।
वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले महिलाको निर्णायक सहभागिताबिना समावेशी विकास सम्भव नरहेको बताएकी थिइन् । समापन समापन समारोहमा बोल्दै सारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले छोरीलाई सशक्त बनाउने उद्देश्यले भइरहेका प्रयासहरू आफैँमा महत्वपूर्ण रहेको बताए । उनले सरकारले गर्नुपर्ने कामसमेत कतिपय अवस्थामा एक व्यक्तिको पहलबाट अघि बढिरहेको उल्लेख गर्दै त्यसको प्रशंसा गरे ।
नगर प्रमुख भण्डारीले विकासलाई केवल भौतिक संरचनामा सीमित गर्न नहुने भन्दै मानव स्रोत साधनको विकासलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने धारणा राखे । उनले बालविवाह, सामाजिक विभेदलगायतका कुरीति अन्त्य गर्न सबैको साझा प्रयास आवश्यक रहेको उल्लेख गरे । त्यस्तै, कार्यक्रममा सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णालीका छोरीहरूको सशक्तीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
उनले सम्मेलनबाट आएका निष्कर्षहरूलाई व्यवहारिक कार्यान्वयनमा लैजान सहभागी छोरीहरू स्वयं सक्रिय हुनुपर्ने बताए । मन्त्री भण्डारीले नीति निर्माणसँगै त्यसको कार्यान्वयनमा समुदायको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै प्राप्त सुझाव र निष्कर्षलाई दिगो परिवर्तनका लागि उपयोग गर्नुपर्ने धारणा राखे ।






