नेपालगञ्जमा २५ जना नयाँ पौडी प्रशिक्षक तयारी, दोस्रो नेशनल स्विमिङ च्याम्पियनसीपको तयारी तीव्र

बाँके ,१३ कार्तिक ।
बाँकेमा पहिलोपटक २५ जना पौडी प्रशिक्षक तयार गर्ने अभियान सुरु गरिएको छ। यही कार्तिक १४ र १५ गते नेपालगञ्ज रंगशाला परिसरस्थित पौडी पोखरीमा आयोजना हुने दोस्रो नेपालगञ्ज नेशनल स्विमिङ च्याम्पियनसीपको पूर्वसन्ध्यामा प्रशिक्षक तालिम सुरु गरिएको हो।
नेपालगञ्ज स्विमिङ क्लबले आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रम बुधबारदेखि सुरु भएको क्लबका अध्यक्ष केशव न्यौपानेले जानकारी दिनुभयो। नेपाल पौडी संघका प्राविधिक प्रतिनिधि विष्णु खड्का, अनिष महर्जन र दीपक सागर सिंहसहितको टोलीले प्रशिक्षण सञ्चालन गरिरहेको छ।
हाल बाँकेमा चन्दुराम चौधरी र दीपक परियारसहित करिब आधा दर्जन पौडी प्रशिक्षक मात्र रहेका छन्। तर नेपालगञ्जमा आधा दर्जनभन्दा बढी पौडी पोखरी रहे पनि प्रशिक्षकको अभाव रहेको क्लबले जनाएको छ। यसै सन्दर्भमा बुधबार प्रशिक्षकहरूले बाँकेका पत्रकारलाई समेत पौडी खेलबारे अभिमुखीकरण गरेका थिए, जसबाट पौडी खेलसम्बन्धी समाचार लेखनमा सहजता हुने विश्वास लिइएको छ।
कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारी र उपाध्यक्ष डा. नितेश कुमार कनोडियाले प्रशिक्षण र प्रतियोगिता तयारीबारे जानकारी दिनुभयो।
आगामी प्रतियोगितामा ८, १०, १२, १४, १७ वर्षमुनि र खुला समूह गरी विभिन्न उमेरका खेलाडीबीच २५ मिटरदेखि ४०० मिटर दूरीका ५६ वटा इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ। देशभरबाट करिब दुई सयभन्दा बढी खेलाडी सहभागी हुने आयोजकको अनुमान छ।






