अमृता कठायतकाे ‘कर्णालीकी छोरी संघर्ष, सेवा र समर्पणको गाथा’ पुस्तक विमाेचन

गोल्डेन बुढा
जुम्ला ,१३ कार्तिक ।
जुम्लाको कनिका निशा माध्यमिक विद्यालयको प्राङ्गण, विद्यार्थीहरूको हाँसो, ज्येष्ठ नागरिकहरूको भावुक नजर।अमृता कठायत (बस्नेत)द्वारा लिखित ‘कर्णालीकी छोरी: संघर्ष, सेवा र समर्पणको गाथा’ पुस्तक विमोचन गरियो।मञ्चमा प्रदेशसभा सदस्य देवेन्द्र बहादुर शाही र चन्दननाथ नगरपालिका उप–प्रमुख रामदेवी खड्काले संयुक्त रूपमा पुस्तक उद्घाटन गरे।
वि.सं. २०११ साल,जुम्लाको एक टाढाको गाउँ, जहाँ बालिकाको सपना सीमित थियो। चुलो, पानी, र दाउरा घाँस वनपाखा।त्यहीँ जन्मिन् अमृता कठायत (बस्नेत),आमा लक्ष्मी कठायत र बुबा आनन्दसिंह कठायतकी छोरी।सानो उमेरमै उनले बुझिन् “केटी भएर पनि सपना देख्न पाइन्छ,र सपना केवल देखिँदैन, पुरा गर्न सकिन्छ।”त्यो सोचले उनलाई अघि बढायो।त्यो समयमा जब छोरीको कलमलाई समाजले ‘अनावश्यक विलास’ ठान्थ्यो,अमृताले कलमलाई आफ्नै अस्तित्वको आवाज बनाइन्।
वि.सं. २०३७ सालमा उनले स्थापना गरिन् ।कनिका निशा माध्यमिक विद्यालय,जुम्लाको पहिलो अंग्रेजी माध्यम विद्यालय,र कर्णालीका छोरीहरूका लागि पहिलो ढोका, जुन ज्ञानतर्फ खुल्यो।शिक्षा फैलाउने कुरा सुन्दा सजिलो लाग्छ,तर त्यो समय हिउँ, अभाव, अनि समाजको तिरस्कार।“केटीले पढ्नुपर्ने होइन,” भन्ने आवाज घन्किन्थ्यो।तर अमृताको आवाज अझ गहिरो थियो।“छोरी पनि पढ्नेछे, उड्नेछे, र देशका शिखरमा पुग्नेछे।”त्यो हिँडाइ सरल थिएन।कहिले विद्यालयमा पुस्तकको कमी, कहिले शिक्षकको अभाव,तर अमृताको मनमा एउटा मात्र वाक्य बल्थ्यो।“म रोकिन्न।”२ सय ३२ पृष्ठ, ४६ अध्याय ,तर प्रत्येक पानामा एउटा धड्कन, एउटा सपना, एउटा आँसु।यो पुस्तक अमृताको संघर्षको दस्तावेज मात्र होइन,कर्णालीकी छोरीहरूको सामूहिक कथा हो।हजारौं वर्षको मौनता भत्काएर छोरीहरूले अब बोल्न थालेको कथा।विद्यालयका सञ्चालक बसन्तसिंह कठायत भन्छन्“दिदीको लक्ष्य सुरुमा जुम्लाकी केटीहरूलाई पढाउन थियो,तर उनको उज्यालोले अहिले कर्णालीभर फैलिएको छ।”अमृताको योगदान विद्यालयको पर्खालभित्र सीमित छैन।उनी ज्येष्ठ नागरिक संघको भवन निर्माणदेखि सामाजिक सेवाका हरेक कार्यमा अग्रपंक्तिमा देखिन्छिन्।यता प्रदेशसभा सदस्य देवेन्द्र बहादुर शाही भन्छन्,“उनी शिक्षिकामात्र होइनन्, उनी समाजको आत्मा हुन्।
”यस्तै नगरपालिका उप–प्रमुख रामदेवी खड्काका शब्दहरू अझ गहिरा गहकिला छन् “अमृताले नारीहरूलाई सिकाइन्आत्मनिर्भरता भनेको सौन्दर्य हो,र शिक्षा भनेको मुक्ति।”आज जब जुम्लाको हावामा बालिकाहरूको हाँसो घन्किन्छ,त्यो हाँसोभित्र अमृताको सपना लुकेको हुन्छ।जब गाउँका आमाहरू छोरीलाई विद्यालय पठाउँछन्,त्यो विश्वासभित्र अमृताको जीवन रगतको मूल्य मिसिएको हुन्छ।उनको कथा हामी सबैका लागि सन्देश हो “संघर्षको बाटो कहिल्यै सजिलो हुँदैन,तर समर्पणले त्यसलाई सुन्दर बनाउँछ।यो केवल एक पुस्तक होइन ,यो उज्यालो दीप हो,जो कर्णालीको हिमालबाट देशका हरेक कुनासम्म पुग्नेछ।जसले भनिरहेको छ,“छोरी जन्मिनु सौन्दर्य हो,र शिक्षित छोरी बन्नु गौरव हो।”अमृता कठायत (बस्नेत) एउटा नाम होइन, एउटा प्रेरणा।एउटा छोरी होइन, कर्णालीको उज्यालो। एउटा कथा होइन, युगको अभिलेख।






