सम्पादकीय : मध्यपहाडीलाई पूर्णता देऊ !

संघीय सरकारले आर्थिक वर्ष २०६४/०६५ मा आन्तरिक स्रोतबाटै खर्च व्यहोर्ने गरी मध्यपहाडी राजमार्गको अवधारणा कार्यान्वयनमा ल्यायो । तत्कालिन समयमा मध्यपहाडबाट भइरहेको तीव्र बसाइँसराइ सडक अभावकै कारणले रहेको निष्कर्षसहित मध्यपहाडी राजमार्गको परिकल्पना सरकारले गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको मध्यपहाडी सडक आयोजनाको वेबसाइटमा उल्लेख भए अनुसार यो सडक बनाउनुको पहिलो उद्देश्य यहाँबाट भइरहेको बसाइँसराइ रोक्नु थियो । सडकले मध्यपहाडका करीब ५० लाख नागरिकलाई प्रत्यक्ष सुविधा पुर्याउने लक्ष्य छ । पछि आर्थिक वर्ष २०६९/०७० बाट सरकारले मध्यपहाडी राजमार्गलार्य ‘राष्ट्रिय गौरवको आयोजना’मा समावेश गरेर निर्माणलाई तीव्रता दिएको थियो । तर, निर्माण थालिएको झण्डै १३ वर्षयता मध्यपहाडी राजमार्गको जाजरकोट खण्डमा पर्ने मन्ता भिरले राज्यको ल्याकत नापरिहेको छ । अन्यत्र खण्डको काम अन्तिम चरणमा रहदा जाजरकोटको छेडागाड नगरपालिकास्थित झण्डै सात सय मिटर लामो मन्ता भिरको चट्टानका कारण सडकले पूर्णता पाउन सकेको छैन । कर्णाली प्रदेशका तीन जिल्ला भएर पूर्व–पश्चिम लाग्ने मध्यपहाडी राजमार्ग यहीँ भीरका कारण सवारी साधनले लामो रुट प्रयोग गर्नु परिरहरेको छ ।
जाजरकोटमा कुल ८५ किलोमिटर मध्ये मन्ता भिरसहित ३५ किलोमिटर बाहेक अन्यत्र सडक कालोपत्रे सम्पन्न भइसकेको छ भने रुकुम पश्चिममा १३ किलोमिटर मात्रै सडक कालोपत्र गर्न बाँकी छ । अहिले दैलेखबाट मध्यपहाडी राजमार्ग हुँदै जाजरकोटको बडावनसम्म नियमित सवारीसाधन सञ्चालनमा छन् । तर, मन्ता भिरमा सडक नबनेका कारण मध्यपहाडी राजमार्ग छोडेर छिन्चु–जाजरकोट सडकखण्डको छेडा बजार पुग्नु पर्ने बाध्यता छ । राज्यको कमजोरीका कारण जाजरकोट सदरमुकाम पुग्न पनि निकै लामो यात्रा गर्नुपर्ने बाध्यतामा नागरिक छन् । मध्यपहाडी राजमार्ग अछाम–रुकुम खण्ड निर्माण सुरु हुँदा नै मन्ता भिरमा ट्र्याक खोल्न ठेक्का भएको थियो । उक्त ठेक्का भएको १३ वर्ष बितेपनि सडकको ट्र्याक पूर्णरूपमा खुलिसकेको छैन । मध्यपहाडीलाई जाजरकोटको कुदु र रुकुम पश्चिमको चौरजहारी जोड्ने भेरी नदीको पुलले पनि अवरोध गरिरहेको छ । २०६९ मा ठेक्का सम्झौता भइ अघि बढेको भरी नदीमाथिको पुल अलपत्र अवस्थामा छ । मन्ता भिरमा बाटो र भेरीमा पुल बनेको भए दैलेखबाट पोखरा जाने गाडीले मध्यपहाडी लोकमार्ग छोड्नु पर्दैन । पाँचथरको चिवाभन्ज्याङबाट सुरु भई बैतडी जिल्लाको झुलाघाट जोड्ने यो राजमार्गको कुल लम्बाई एक हजार आठ सय ७९ किलोमिटर छ ।
मध्यपहाडी राजमार्ग छेउमा १० वटा नयाँ सहर विकास गर्ने पनि सरकारी योजना छ । यसमध्ये कर्णाली प्रदेशमा दैलेखको राकम र रुकुम पश्चिमको चौरजहारी नगरपालिका पर्दछन् । यी सहरहरुको विकासक्रम पनि सन्तोषजनक छैन । राज्यले चाहने हने भने पूर्वाधार विकासका जस्ता सुकै कठिनाइहरु छिचोलिन सक्छन् । तर, मन्ता भिरको सन्दर्भमा भने राज्य असफल बनिरहेको छ । यो पक्कै पनि राम्रो पक्ष होइन । राज्यले अघि सार्ने रणनैतिक महत्वका आयोजनाहरु तोकिएकै समयमा पुरा नहुँदा देशले अझै पनि पूर्वाधार विकासमा अभाव झेलिरहेको छ । यसर्थ, अब मध्यपहाडी राजमार्गलाई पूर्णता दिन संघीय सरकारले पर्याप्त बजेटसहित युद्धस्तरमा काम गर्न ढिला गर्नु हुँदैन । मन्ता भिरको सन्दर्भमा वैकल्पिक विधि र प्रविधिको प्रयोग गरेर यथासिंघ्र ट्र्याक खोल्ने काम अघि बढाउन पर्दछ । निर्माण कम्पनीबाट चट्टान काट्न सम्भव नहुने नै हो भने यसको जिम्मा नेपाली सेनालाई दिएर भएपनि मध्यपहाडीलाई तत्काल पूर्णता देऊ ।






