डा. मंगल रावलद्वारा चिकित्सक संघको अध्यक्षमा उम्मेदवारी घोषणा

गाेल्डेन बुढा

जुम्ला,१२ मंसिर ।
जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति तथा कर्णाली क्षेत्रका प्रतिष्ठित अर्थोपेडिक चिकित्सक डा. मंगल रावलले नेपाल चिकित्सक संघ (एनएमए) को अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै माघमा हुने निर्वाचनका लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गरेका हुन्। देशभरिका चिकित्सकहरूको सर्वाधिक ठूलो र प्रभावशाली छाता संगठनको नेतृत्व गर्न आफू तत्पर रहेको डा. रावलको स्पष्ट सन्देशले चिकित्सक समुदायमा आगामी निर्वाचनप्रति चासो थप बढेको छ।डा. रावलले पेशागत अनुभव, शैक्षिक पृष्ठभूमि र विगतका नेतृत्व भूमिकाबाट सीप–दक्षता साबित गरिसकेको दाबी गर्दै संघलाई संरचनागत, नीतिगत र दीर्घकालीन सुधारतर्फ उन्मुख गराउने उद्देश्यसहित आफू मैदानमा उत्रिएको बताए।

“चिकित्सक संघमा आवश्यक परिवर्तन एक व्यक्तिको ऊर्जा मात्रले सम्भव हुँदैन; साझा संकल्प, सामूहिक सोच र टीम,स्पिरिट अपरिहार्य हुन्छ,” उनले विज्ञप्तिमार्फत उल्लेख गरेका छन्।उनका अनुसार चिकित्सक समुदायले हाल सामना गरिरहेका चुनौती पेशागत सुरक्षा, सेवा सुविधामा असमानता, स्वास्थ्य नीतिमा चिकित्सकको प्रभावकारी सहभागिता, मेडिकल क्षेत्रमा बढ्दो राजनीतिक प्रभाव, र ग्रामीण भेगमा विशेषज्ञ सेवाको पहुँच जस्ता मुद्दामा संघले थप दृढता र पेशेवर दृष्टिकोणबाट काम गर्नुपर्ने आवश्यकता छ। यही कारण उनले विभिन्न विचारधारा, भूगोल र पृष्ठभूमिबाट आएका, पेशामा योगदान पुर्‍याइरहेका तथा भविष्यमा नेतृत्व भूमिकामा उभिन सक्ने सबै चिकित्सकलाई ‘साझा टिम’ मा जोडिन खुलेर आह्वान गरेका छन्।आगामी निर्वाचनको प्रशासनिक तयारीलाई पनि उनले विशेष महत्व दिएका छन्। एनएमए सदस्यता नलिएका चिकित्सकहरूलाई मंसिर १३ भित्र अनिवार्य रूपमा दर्ता गराउन आग्रह गर्दै उनले समयमै सदस्यता अद्यावधिक नगरेमा मतदान अधिकार नै गुम्न सक्ने चेतावनी समेत दिएका छन्।उच्च शैक्षिक योग्यता र बहुआयामिक अनुभवका कारण डा. रावललाई चिकित्सक समाजमा प्रभावशाली व्यक्तित्वका रूपमा हेरिने गरिन्छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबिबिएस, चिकित्सक विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट एमएस अर्थोपेडिक्स, बंगलादेशमा एओए फेलोशिप, त्रिभुवन विश्वविद्यालयबाट एमपीए, हार्वर्ड मेडिकल स्कुलको LIMSEA कार्यक्रम र एलएलबी अध्ययनरत डा. रावल कर्णाली क्षेत्रमै बसेर सेवा, अनुसन्धान र व्यवस्थापन तीनै क्षेत्रमा सक्रिय छन्।

उनको उम्मेदवारी सार्वजनिक भएपछि कर्णाली क्षेत्रदेखि काठमाडौँसम्मका चिकित्सकबीच आगामी नेतृत्व परिवर्तन, संघको भविष्य दिशा–निर्देशन तथा स्वास्थ्य प्रणालीमा एनएमएको भूमिकाबारे छलफल तिव्र बन्दै गएको छ। आगामी माघमा हुने निर्वाचन केवल नेतृत्व फेरबदल मात्र नभई, चिकित्सक समुदायको साझा भविष्य र चिकित्सा नीतिको दिशानिर्देशन निर्धारण गर्ने मोडको रूपमा हेरिएको छ।

डा. मंगल रावलद्वारा चिकित्सक संघको अध्यक्षमा उम्मेदवारी घोषणा

शैक्षिक भ्रमण गएको जिप दुर्घटना १० घाइते

Leave a comment

Your email address will not be published. Required fields are marked *