कर्णालीको कुल अर्थतन्त्रको आकार दुई खर्ब ५६ अर्ब, राष्ट्रको कुल गार्हस्थ्य उत्पादनमा ४.१९ प्रतिशत योगदान

सुर्खेत, १३ जेठ ।
कर्णाली प्रदेशको समर्ग अर्थतन्त्रको आकार दुई खर्ब ५६ अर्ब हुने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालय सुर्खेतले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/०८२ को प्रादेशिक लेखा अनुमानमा कर्णालीको समर्ग अर्थतन्त्रमा झिनो सुधार भएको देखाइएको छ ।

चालु आर्थिक वर्ष २०८१/०८२ मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब ६१ खर्ब सात अर्ब हुने अनुमान गरिएकोमा कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादन झण्डै दुई खर्ब ५६ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ ।

गत आर्थिक वर्ष २०८०/०८१ मा कर्णालीको कुल ग्रार्हस्थ उत्पादन दुई खर्ब ४५ अर्ब रहने संशोधित अनुमान थियो । चालु आर्थिक वर्षमा कर्णाली प्रदेशले समर्ग राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा चार दशमलव १९ प्रतिशत योगदान पु¥याउने प्रारम्भिक अनुमान तथ्यांक कार्यालयको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा कर्णालीले चार दशमलव २९ प्रतिशत योगदान पुरयाएको थियो ।

त्यस्तै, चालु आर्थिक वर्षमा यस प्रदेशको स्थिर मुल्यमा मापन गरिएको उपभोक्ता मूल्यको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर चार दशमलव ७४ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । गत आर्थिक वर्षमा उत्पादनको वृद्धिदर तीन दशमलव २६ प्रतिशत रहने संशोधित अनुमान गरिएको थियो ।

चालु आर्थिक वर्षमा कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान कृषि, वन तथा मत्स्य क्षेत्र (३१ दशमलव ५० प्रतिशत) रहने र सबैभन्दा न्यून योगदान खानी तथा उत्खनन् क्षेत्र (० दशमलव १७ प्रतिशत) रहने प्रारम्भिक अनुमान छ ।

गत आर्थिक वर्ष २०८०/०८१ मा पनि कृषि, वन तथा मत्स्य क्षेत्र (३० दशमलव एक प्रतिशत) सहित अग्रस्थानमा हुने अनुमान थियो । गत वर्ष पनि खानी तथा उत्खनन् क्षेत्रको योगदान अन्तिम स्थान (० दशमलव १७ प्रतिशत) मा रहने संशोधित अनुमान गरिएको छ ।

कर्णाली प्रदेशमा क्षेत्रगत रूपमा हेर्दा चालु आर्थिक वर्षका लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै यातायात तथा भण्डारण क्षेत्र (१० दशमलव ४५ प्रतिशत) को र सबैभन्दा कम खानी तथा उत्खनन् क्षेत्र (एक दशमलव ८५ प्रतिशत) को हुने प्रारम्भिक अनुमान गरिएको तथ्यांक समन्व्य कार्यालय सुर्खेतका तथ्यांक अधिकृत केशरबहादुर ओलीले बताए ।

उनका अनुसार गत आर्थिक वर्ष २०८०/०८१ का लागि कुल मूल्य अभिवृद्धि वृद्धिदर सबैभन्दा धेरै आवास तथा भोजन सेवा (२१ दशमलव सात प्रतिशत), र सबैभन्दा कम (–१.१६ प्रतिशत) निर्माण क्षेत्रको रहने संशोधित अनुमान गरिएको छ ।

राष्ट्रिय आयमा चार दशमलव १९ प्रतिशत योगदान
आर्थिक वर्ष २०८१/०८२ मा समर्ग राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब ६१ खर्ब सात अर्ब हुने अनुमान गरिएकोमा कर्णाली प्रदेशले चार दशमलव १९ प्रतिशत योेगदान पुरयाउने अनुमान छ । यो अन्य प्रदेशको तुलनामा राष्ट्रिय आयमा कर्णालीले पु¥याउने योगदान कम हो ।

बागमती प्रदेशले राष्ट्रिय आयमा ३६ दशमलव ५२ प्रतिशत, कोशी प्रदेशले १५ दशमलव ९० प्रतिशत, लुम्बिनी प्रदेशले १४ दशमलव २३ प्रतिशत, मधेश प्रदेशले १३ दशमलव १६ प्रतिशत, गण्डकी प्रदेशले आठ दशमलव ९८ प्रतिशत र सुदुरपश्चिम प्रदेशले सात दशमलव तीन प्रतिशत योगदान पुरयाउने प्रारम्भिक अनुमान रहेको तथ्यांक कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष २०८०/८१ को संशोधित अनुमानबमोजिम कुल गार्हस्थ्य उत्पादनमा प्रादेशिक योगदान सिमान्त रूपमा मात्र परिवर्तन भएको छ । गत वर्षको तुलनामा कुल गार्हस्थ्य उत्पादनमा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिमको योगदान सिमान्त रूपमा घटेको छ भने मधेश र बागमती प्रदेशको योगदान सिमान्त रूपमा बढेको छ ।

आर्थिक वर्ष २०८१/०८२ को प्रारम्भिक अनुमानबमोजिम उपभोक्ताको मूल्यमा प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर सबैभन्दा धेरै गण्डकी प्रदेश (पाँच दशमलव ५१ प्रतिशत) छ । दोस्रोमा बागमती प्रदेशको उत्पादको वृद्धिदर पाँच दशमलव १८ प्रतिशत छ । यस्तै, सबैभन्दा थोरै वृद्धिदर सुदूरपश्चिम प्रदेश (तीन दशमलव ३२ प्रतिशत) हुने प्रारम्भिक अनुमान छ ।

स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन वृद्धिदर चार दशमलव ६१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएकोमा गण्डकी, वागमती, कर्णाली र लुम्बिनी प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा धेरै र बाँकी प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा थोरै हुने प्रारम्भिक अनुमान तथ्यांक कार्यालयको छ ।

आर्थिक वर्ष २०८१/०८२ को प्रारम्भिक अनुमान, आर्थिक वर्ष २०८०/०८१ को संशोधित अनुमान तथा आर्थिक वर्ष २०७९/०८० को अन्तिम तथ्याङ्क बमोजिमको प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर विश्लेषण तथ्यांक कार्यालयले गरेको छ ।

जसअनुसार आर्थिक वर्ष २०७९/०८० देखि आर्थिक वर्ष २०८१/०८२ सम्मको अवधिमा सबै प्रदेशको आर्थिक वृद्धिदर क्रमशः वृद्धि हुदै गएको देखिन्छ । यद्यपी, आर्थिक वर्ष २०८०/०८१ बाट आर्थिक वर्ष २०८१/०८२ मा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर नगण्य रूपमा मात्र बढेको देखिन्छ ।

कृषि क्षेत्रको योगदान धेरै
औधोगिक वर्गीकरण अनुसारको आर्थिक क्रियाकलापलाई हेर्दा गत आर्थिक वर्ष र चालु आर्थिक बर्षमा बागमती प्रदेश बाहेक सबै प्रदेशमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी देखिन्छ भने बागमती प्रदेशमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढी छ ।

आर्थिक वर्ष २०८१/०८२ मा राष्ट्रिय तहमा दोस्रो हिस्सा ओगटेको व्यापार क्षेत्रले कोशी तथा मधेश प्रदेशमा पनि दोस्रो हिस्सा ओगटेको देखिन्छ । यस्तै, बागमती प्रदेशमा घरजग्गा सम्बन्धी कारोबार सेवाको हिस्सा दोस्रो स्थानमा रहेको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन र रक्षा क्षेत्रको योगदान दोस्रो स्थानमा रहेको देखिन्छ । बागमती, मधेश र कर्णाली प्रदेश बाहेक सबै प्रदेशहरूको कुल गार्हस्थ्य उत्पादनमा प्रशासनिक सहयोगी सेवा क्रियाकलापको योगदान सबै भन्दा न्यून देखिन्छ भने बागमतीमा पानी आपुर्ती तथा फोहर व्यवस्थापन सम्बन्धी क्रियाकलापमा योगदान देखिन्छ ।

मधेश तथा कर्णाली प्रदेशमा खानी तथा उत्खनन् क्रियाकलापको योगदान सबैभन्दा न्यून देखिन्छ । आर्थिक वर्ष २०८१/०८२ मा सबै प्रदेशका सबै क्षेत्रको वृद्धिदर धनात्मक छ । चालु आर्थिक वर्षमा औद्योगिक वर्गीकरणअनुसार औद्योगिक क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर राष्ट्रिय तहमा सबैभन्दा धेरै विद्युत तथा ग्याँस (१३ दशमलव ८२ प्रतिशत) रहने प्रारम्भिक अनुमान गरिएकोमा लुम्बिनी र कर्णाली प्रदेश बाहेक अन्य सबै प्रदेशको सबैभन्दा धेरै वृद्धिदर यही क्षेत्रको रहने प्रारम्भिक अनुमान तथ्यांक कार्यालयको छ ।

लुम्बिनी र कर्णाली प्रदेशमा भने यातायात तथा भण्डारण क्षेत्रको वृद्धिदर सबैभन्दा धेरै देखिन्छ । त्यसैगरी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा खानी तथा उत्खनन्, कोशी र सुदूरपश्चिम प्रदेशमा पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन, मधेश प्रदेशमा शिक्षा र गण्डकी प्रदेशमा सार्वजनिक प्रशासन र रक्षा क्षेत्रको वृद्धिदर सबैभन्दा न्यून रहेको देखिन्छ ।

कर्णालीको प्रतिव्यक्ति आय एक हजार डलर
आर्थिक वर्ष २०८१/०८२ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा धेरै बागमती प्रदेशको र सबैभन्दा कम मधेश प्रदेशको हुने प्रारम्भिक अनुमान छ । गत आर्थिक वर्ष २०८०/८१ मा पनि प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सबैभन्दा धेरै बागमती प्रदेशको र सबैभन्दा कम मधेश प्रदेशको रहने संशोधित अनुमान गरिएको थियो ।

चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन अमेरिकी डलरमा बागमती प्रदेशको दुई हजार ६ सय दुई, गण्डकी प्रदेशको एक हजार ६ सय १९, कोशी प्रदेशको एक हजार चार सय एक, लुम्बिनी प्रदेशको एक हजार दुई सय एक, सुदुरपश्चिम प्रदेशको एक हजार एक सय ५३, कर्णाली प्रदेशको एक हजार ८९ र मधेश प्रदेशको नौ सय ३२ हुने प्रारम्भिक अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षका लागि राष्ट्रिय तहमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन अमेरिकी डलरमा एक हजार चार सय ९६ हुने प्रारम्भिक अनुमान छ । यस हिसाबले बागमती र गण्डकी प्रदेश बाहेक अन्य प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन राष्ट्रिय औषतभन्दा कम रहेको देखिन्छ ।

कर्णालीको कुल अर्थतन्त्रको आकार दुई खर्ब ५६ अर्ब, राष्ट्रको कुल गार्हस्थ्य उत्पादनमा ४.१९ प्रतिशत योगदान

लुम्बिनी प्रदेश सभाको बैठक आज, प्रि–बजेट छलफल

कर्णालीको कुल अर्थतन्त्रको आकार दुई खर्ब ५६ अर्ब, राष्ट्रको कुल गार्हस्थ्य उत्पादनमा ४.१९ प्रतिशत योगदान

बाजुरा जिप दुर्घटना हुँदा रेडियो नेपाल रिले

Leave a comment

Your email address will not be published. Required fields are marked *