बाँकेमा १६ दिने अभियान : महिलाको कानुनी पहुँच सुनिश्चित गर्न १६ कार्यक्रम सञ्चालन

बाँके ,११ मंसिर ।

महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत बाँकेमा महिलाको हक–अधिकार र लैङ्गिक हिंसा न्यूनीकरणका उद्देश्यले १६ दिनसम्म १६ वटा कार्यक्रम सञ्चालन भइरहेका छन्। २५ डिसेम्बरदेखि सुरु भएको यो अभियान सूचना र मानव अधिकार अनुसन्धान केन्द्र तथा नारी विकास केन्द्र नेपालगन्जको संयुक्त पहलमा प्रारम्भ गरिएको हो।

अभियानअन्तर्गत महिलालाई न्यायिक प्रक्रियामा पहुँच उपलब्ध गराउन निःशुल्क कानुनी परामर्श सेवा सुरु गरिएको छ। समुदायमा रहेका महिला, गरिब, विपन्न, असहाय तथा मुस्लिम महिलालाई कानुनसँग सम्बन्धित विभिन्न सेवा सहज रूपमा उपलब्ध गराइने संस्थाका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीले जानकारी दिनुभयो। उहाँका अनुसार पीडित महिलालाई कानुनी मार्गदर्शन तथा सहयोग आवश्यक भएकाले निःशुल्क सेवा नियमित रूपमा प्रदान गरिनेछ।

१६ दिने अभियानमा दिप प्रज्वलन, प्ले–कार्ड प्रदर्शन, सचेतनामूलक रिबन वितरण, बागेश्वरी मन्दिरमा महिलाको जुत्ता–चप्पल सफाइ, लैङ्गिक हिंसा पीडितसँग खुला छलफल, रेडियो संवाद, सामाजिक सञ्जालमार्फत सचेतना प्रवर्द्धन, सचेतनामूलक सन्देशसहित ब्यानर प्रदर्शन, महिला सम्बन्धी कानुनबारे जानकारी आदिसहित १६ वटा कार्यक्रम सञ्चालन हुने नारी विकास केन्द्रकी कोषाध्यक्ष रचना श्रेष्ठले बताउनुभयो। साथै विद्यार्थीहरूलाई साइबर सुरक्षाबारे अभिमुखीकरण गरिने कार्यक्रम पनि समावेश गरिएको छ।

“यो अभियान १६ दिनमै सीमित नभइ महिलाको हक–अधिकार र लैङ्गिक हिंसा निवारणका लागि वर्षभरि ३६५ दिन निरन्तर काम गर्न आवश्यक छ,” कोषाध्यक्ष श्रेष्ठले थप भन्नुभयो।

अध्यक्ष तिवारीका अनुसार महिलाको कानुनी अधिकार र न्यायिक पहुँच सुनिश्चित गर्ने उद्देश्यले संस्थाले निरन्तर पैरवी र सामाजिक सेवा गर्न लागेको हो। त्यस्तै, कार्यकारी निर्देशक राकेशकुमार मिश्रले संस्थाले लामो समयदेखि समुदायका गरिब, विपन्न तथा अल्पसंख्यक नागरिकलाई निवेदन, जाहेरी, प्रतिउत्तर, मुद्दा दर्ता लगायतका कानुनी सेवा प्रदान गर्दै आएको जानकारी दिनुभयो।

कानुनको क्षेत्रमा विशेष सक्रिय रहेको संस्थाले कानुनी परामर्शसँगै विभिन्न सरोकारवाला निकायसँग समन्वय गर्दै सचेतनामूलक अभियानहरुलाई पनि निरन्तरता दिइरहेको छ।

 

बाँकेमा १६ दिने अभियान : महिलाको कानुनी पहुँच सुनिश्चित गर्न १६ कार्यक्रम सञ्चालन

घुयँत्रो: “डन, चेक र जेनजीको दौडधूप—दिपक खड्का

बाँकेमा १६ दिने अभियान : महिलाको कानुनी पहुँच सुनिश्चित गर्न १६ कार्यक्रम सञ्चालन

जुम्लाको सिजामा आगलागी, नौ कोठे घर क्षति

Leave a comment

Your email address will not be published. Required fields are marked *