२०८३ आश्विन १८ गते
×

Now Playing

गुठिचौर–१ ले पायो आफ्नै वडा भवन

गाेल्डेन बुढा 
जुम्ला ,११ मंसिर।
कर्णालीको दुर्गम ठाउँमा अवस्थित गुठिचौर गाउँपालिका–१ बुधबारबाट आधिकारिकरूपमा आफ्नो ‘आफ्नै घर’मा प्रवेश गरेको छ। करिब १ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन संविधानसभा सदस्य तथा कर्णाली प्रदेशका पूर्व कानुनमन्त्री नरेश भण्डारी र प्रदेशसभा सदस्य देवेन्द्र बहादुर शाहीले संयुक्त रूपमा गरे।गुठिचौर गाउँपालिकाका पाँच वडामध्ये पहिलो पटक आफ्नै भवनमार्फत सेवा सञ्चालन गर्दै वडा–१ स्थानीय शासनको संरचनात्मक पूर्वाधारमा अगाडि बढ्ने वडाध्यक्ष अर्जुनकुमार महताराले बताए।

उनका अनुसार विगतमा भौतिक पूर्वाधार अभावले सेवा प्रवाह प्रभावकारी बन्न सकेको थिएन। “पूर्वाधार अभावले सिंगो सेवाको गतिलाई खुम्च्याइरहेको थियो,” महताले भने, “नयाँ संरचनासँगै कर्मचारीको कार्यदक्षता र सेवाग्राहीको पहुँच एकसाथ सहज हुनेछन्।”उद्घाटन समारोहमा बोल्दै पूर्व कानुनमन्त्री भण्डारीले नयाँ भवनलाई गाउँको ‘संस्थागत पहिचान’को रूपमा वर्णन गरे। “हामी बलियो हुन चाहन्छौँ, भने माटोलाई बलियो बनाउनु पर्छ,” उनले भने, “स्थानीय पूर्वाधारको मजबुती नै समग्र विकासको मेरुदण्ड हो।” उनले आफ्नो कार्यकालमा जुम्ला–डोल्पा सडक, खानेपानी, सिँचाइ र शिक्षा क्षेत्रमा गरिएको लगानीले अब परिणाम दिन थालेको दाबी पनि गरे।यता प्रदेशसभा सदस्य शाहीले स्थानीय तहको विकास यिनै साना तर आधारभूत संरचनाबाट अघि बढ्ने उल्लेख गर्दै “जुम्लाको विकासका लागि हातेमालो अत्यावश्यक छ,” भने।

उनका अनुसार सडक, खानेपानी, शिक्षा र स्वास्थ्यसँग जोडिएका योजनामा प्रदेश सरकारले निरन्तर सहकार्य गर्नेछ। कर्णाली प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री पदमबहादुर रोकायाले समुदाय–केन्द्रित विकास अहिलेको अपरिहार्यता भएको उल्लेख गर्दै राजनीतिक दलबीचको सहकार्यलाई दीर्घकालीन विकासको प्रमुख औजार बताए। “विकास पार्टी होइन, समुदायसँग जोडिन्छ,” उनले भने, “त्यसैले सहकार्यका ढोका बन्द हुँदा जनताको सम्भावना बन्द हुन्छ।”उद्घाटन समारोहले वडामा देखिएको राजनीतिक एकता पनि विशेष रूपमा चर्चा पायो। गुठिचौर गाउँपालिका कार्यवाहक अध्यक्ष टिकादत्त न्यौपाने, नेपाली कांग्रेस सभापति टेकबहादुर भण्डारी, नेकपा नेता जितेन्द्र लामा लगायतका नेता–कार्यकर्ताले नयाँ भवन गाउँको ‘विकास यात्रा’लाई गति दिने साझा आधार भएको अभिव्यक्ति दिए।

नयाँ भवन सञ्चालनमा आएपछि योजना निर्माण, बजेट व्यवस्थापन, नागरिक सेवा, सामाजिक सुरक्षासहित ‘एक ढोका प्रणाली’मा सेवा प्रवाह प्रभावकारी हुने अपेक्षा गरिएको छ। वडाध्यक्ष महताराले स्थानीय जनप्रतिनिधि, नागरिक र सरकारबीचको साझा सोचकै कारण आजको उपलब्धि सम्भव भएको बताए। गुठिचौर–५ का वडा अध्यक्ष कमलबहादुर महतसहित स्थानीय राजनीतिक दलका प्रतिनिधि, वडा बासिन्दा तथा सरोकारवालाको उत्साहपूर्ण उपस्थिति थियो।

नयाँ भवनसंगै गुठिचौर–१ अब प्रशासनिक रूपमा मात्र होइन, विकासको दृष्टिले पनि ‘मोडेल वडा’तर्फ अघि बढ्न तयार छ।

गुठिचौर–१ ले पायो आफ्नै वडा भवन

हिंसा पीडितकाे आश्रयस्थल दिमा आमा घरलाई न्यानो

गुठिचौर–१ ले पायो आफ्नै वडा भवन

सम्पादकीय : योग्य व्यक्तिलाई परिषद्को जिम्मेवारी देऊ

Leave a comment

Your email address will not be published. Required fields are marked *