सम्पादकीय :  खानेपानी संकटको विकल्प भेरी लिफ्ट !

नेपाल सरकारले विश्व बैंकको वित्तीय सहयोगमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग परियोजना अन्तर्गत कार्यान्वयन गरिरहेको भेरी लिफ्ट खानेपानी आयोजनाको दोस्रो प्याकेज अघि बढेको छ । संघीयता कार्यान्वयनपछि तीनैै तहका सरकारको लागत साझेदारीमा कार्यान्वयनमा आएको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको ड्रिम प्रोजेक्ट भेरी लिफ्टको प्याकेज–२ का संरचना निर्माण गर्न अन्तराष्ट्रिय सिलबन्दी बोलपत्र आह्वान भएको छ । खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर आयोजना इकाइ कार्यालयले प्याकेज–२ का लागि ग्लोबल टेण्डर खुलाएको हो ।

आयोजनाका अनुसार अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक खरिद विधिबाट सिलबन्दी बोलपत्रमार्फत निर्माण कम्पनी छनौट गर्ने प्रक्रिया अघि बढेको हो । दोस्रो चरणमा अघि बढाउन लागिएका संरचनाहरु वीरेन्द्रनगर उपत्यकामा पानी वितरणसँग सम्बन्धित छन् । आयोजनाको पहिलो चरणका कामहरु हाल जारी छन्‌् । पानी प्रशारण लाइनमा पर्ने रुख कटानसँगै मुख्य पानी वितरण हुने ट्याङ्की, उपत्यका क्षेत्रमा पाइप लाइन विस्तारका काम जारी छन् ।

आयोजनाका अनुसार चार वटा सामुदायिक वनमा सात किलोमिटर पाइप लाइन विस्तारमा आवश्यक जग्ग्गामा पर्ने रुख कटानको काम अबको कही दिनमा सुरु हुँदैछ । रुख कटानको काम सम्पन्न भएपछि आयोजनाको मुहान क्षेत्रमा इन्टेक र पानी शुद्धीकरण गरिने क्षेत्रमा संरचना निर्माणको काम सुरु हुने जनाइएको छ । त्यसलगत्तै सात किलोमिटर मुख्य पाइप लाइन विस्तारको काम सुरु हुनेछ । आयोजनाका अनुसार पानी वितरणका लागि ३४ किलोमिटर पाइप लाइन बिछ्याउनु पर्नेमा हालसम्म २३ किलोमिटरको ठेक्का लागेर काम सुरु भइसकेको छ, जसमध्ये १२ किलोमिटर पाइप लाइन विस्तार सम्पन्न भएको छ । लामो समयको अध्ययनपछि गत वर्षको भदौमा वीरेन्द्रनगर नगरपालिकाले ड्रिम प्रोजेक्टका रूपमा आयोजनालाई कार्यान्वयनको चरणमा प्रवेश गराएको थियो । १३ भदौ २०८१ मा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर आयोजना इकाइ कार्यालय सुर्खेत र निर्माण व्यवसायीबीच निर्माण सम्झौता भई आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको थियो ।

आगामी तीन वर्षभित्र भेरीको पानी वीरेन्द्रनगरमा ल्याउने गरी निर्माण कम्पनीसँग ३ अर्ब ५० करोड ८ लाख रुपैयाँ लागतमा सम्झौता भई काम अघि बढेको थियो । प्रदेशकै ठूलो नगरपालिकाका रूपमा रहेको वीरेन्द्रनगरमा आगामी २५ वर्ष (सन् २०५०) सम्म वृद्धि हुन सक्ने जनसंख्यालाई दीर्घकालीन खानेपानीको सहज आपूर्ति गर्ने लक्ष्यका साथ आयोजना अगाडि बढिरहेको छ । प्रदेश राजधानी भएसँगै वीरेन्द्रनगरमा बढ्दो जनसंख्यालाई दीर्घकालिन खानेपानीको पहुँचमा पुर्‍याउने उत्तम विकल्प नै भेरी लिफ्ट खानेपानी आयोजना हो । वीरेन्द्रनगरमा विद्यमान खानेपानीका स्रोत र संरचनाबाट कुनै पनि हालतमा खानेपानीको आपूर्ति गर्न सकिने अवस्था छैन । यसर्थ, पनि यो आयोजनालाई तोकिएकै समयमा पुरा गर्नतर्फ तीनै तहका सरकारले ध्यान केन्द्रित गराउनु पर्दछ ।

संघीयतापछि विश्व बैंकको ठुलो ऋण सहायतामा अघि बढेको आयोजनाको गुणस्तरमा तलमाथि हुनुहुँदैन । तीन तहका सरकारको लागत साझेदारीमा अघि बढेको यो आयोजना संघीयता कार्यान्वयनको सुन्दर पक्ष पनि हो । आयोजनालाई पूर्णता दिन प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले स्थानीय स्तरमा उत्पन्न हुने विवाद समाधानदेखि संघीय सरकार र निर्माण व्यवसायीबीच समन्वयको पाटोलाई प्रभावकारी बनाउन सके तोकिएको समयमा आयोजनाले मुर्तरुप लिनेछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *