ग्रामीण क्षेत्रमै प्रविधिमैत्री सेवा : धनौली खजुरा इलाका प्रहरी कार्यालयले सुरु गर्यो क्युआर–आधारित सेवा

ईलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक नवीनप्रकाश चापागाईंका अनुसार अबदेखि जाहेरी दरखास्त, बालबालिका हराएको, मोटरसाइकल हराएको, ठाडो उजुरी, मानिस हराएको, साइबर अपराध, घरेलु हिंसा, मोबाइल हराएको तथा दुर्घटना प्रमाणितजस्ता उजुरी दर्ता गर्न आवश्यक पर्ने निवेदनका नमूना क्युआर कोडमै समावेश गरिएको छ। “मोबाइल प्रयोगकर्ता सेवाग्राहीका लागि अब आवश्यक जानकारी खोज्न धाउनुपर्ने छैन, एकै स्क्यानमा सबै विवरण पाइनेछ,” निरीक्षक चापागाईंले बताउनुभयो।
मोबाइल प्रयोग नगर्ने, प्रविधिमा अभिप्राय नभएका वा लेखपढमा समस्या भएका सेवाग्राहीका लागि निःशुल्क निवेदन लेखिदिने सहायता कक्ष पनि कायम गरिएको छ। स्थानीय बासिन्दाबाट प्राप्त सुझावका आधारमा प्रविधिमैत्री सेवाको सुरुआत गरिएको प्रहरी निरीक्षक चापागाईंले जानकारी दिनुभयो।
एक महिनाअघि धनौली खजुरामा सरुवा भई आएका निरीक्षक चापागाईंले स्थानीय अगुवा तथा जनप्रतिनिधिसँग गरेको अन्तरक्रिया कार्यक्रममा प्राप्त सुझावलाई प्राथमिकतामा राख्दै सेवाग्राहीमैत्री प्रणालीको विकास सुरु गरेको बताउनुभयो।
उहाँका अनुसार, “नागरिकका गुनासा र समस्यालाई छिटो, सजिलो र प्रभावकारी ढंगले सम्बोधन गर्ने लक्ष्यका साथ प्रविधिको प्रयोग आरम्भ गरेका हौं।”
प्रहरीको विश्वास छ कि क्युआर–आधारित सेवा प्रणालीले उजुरी दर्तादेखि समस्या समाधानसम्मको प्रक्रियालाई अझ सरल, पारदर्शी र द्रुत बनाउँदै नागरिक–प्रहरी संबंधलाई थप मजबुत बनाउनेछ।






