योजना कार्यान्वयनका लागि तातोपानीमा चारदिने तालिम

गाेल्डेन बुढा
जुम्ला ,१० मंसिर ।
जुम्लाको तातोपानी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि सञ्चालन हुन लागेको विभिन्न भौतिक पूर्वाधार तथा सामुदायिक विकास योजनालाई प्रभावकारी, पारदर्शी र गुणस्तरीय बनाउने उद्देश्यले व्यापक क्षमता विकास तालिम सम्पन्न गरेको छ। गाउँपालिकाका सबै ८ वटा वडाका २ सय ६० भन्दा बढी उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष सहभागी रहेको यो तालिम स्थानीय तहमा सञ्चालन भएका कार्यक्रमहरूमध्ये सबैभन्दा समन्वित र व्यवस्थित तालिमका रूपमा मूल्यांकन गरिएको छ।
चार दिनसम्म चलेको तालिम मिति २०८२/०८/५–८ गतेसम्म वडा अनुसार विभाजन गरी सञ्चालन गरिएको थियो। १, २ र ३ नं. वडाका पदाधिकारीहरूको तालिम गाउँपालिका केन्द्रमा, ४, ५ र ६ नं. वडाको तालिम वडा नं. ५ ऐरेनिमा, ७ नं. वडाको लामाबगर र ८ नं. वडाको तालिम टोप्ला पारिवाडामा सम्पन्न गरिएको थियो।तालिममा योजना सम्झौता प्रक्रिया, कार्यान्वयनका चरणहरू, भुक्तानी प्रणाली, प्राविधिक मापदण्ड, निर्माणका गुणस्तरीय मानक तथा लेखा प्रणालीको पारदर्शी उपयोगबारे विस्तृत रूपमा प्रशिक्षण प्रदान गरिएको थियो।गाउँपालिकाका सूचना अधिकारी ओम बहादुर चन्दका अनुसार स्थानीय संरचना दिगो बनाउन नियमित मर्मत–सम्भार र समुदायको भूमिकाबारे विशेष छलफल गरिएको थियो। साथै, सबै योजनाहरू बैशाख मसान्तभित्र नै सम्पन्न गरी भुक्तानी प्रक्रिया निष्पक्ष र छिटो बनाउन संकल्पनात्मक तथा व्यावहारिक मार्गदर्शन दिइएको थियो। सूचना अधिकारी चन्दले तालिमले उपभोक्ता समितिका पदाधिकारीहरूको दक्षता अभिवृद्धि हुने र सेवा प्रवाहमा उल्लेख्य सुधार आउने विश्वास व्यक्त गरे।उनले भने, “हामीले अघि सारेका विकास योजनाहरू समयमै सम्पन्न हुनुका साथै जनताको प्रत्यक्ष जीवनस्तरमा सुधार ल्याउने उद्देश्यसहित यो तालिम आयोजना गरिएको हो। अब उपभोक्ताले सेवा लिन सहजता पाउनेछन र कार्यान्वयनमा गतिशीलता आउनेछ।” योजनाको पारदर्शिता र वित्तीय अनुशासन तालिमको मुख्य आधार रहेको उल्लेख गर्दै पुँजीगत खर्च वृद्धिमा यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।उनका अनुसार, “योजनाको रकम जिम्मेवारीपूर्वक खर्च हुनुपर्छ। तालिमपछि वित्तीय प्रणाली अझै पारदर्शी, व्यवस्थित र उत्तरदायी हुनेछ।”यस्तै, तातोपानी गाउँपालिका उपाध्यक्षले रेवती रावल( सीमा) ले योजनाको गुणस्तर र दीर्घकालीन उपयोगितामा ध्यान दिनु सबै उपभोक्ता समितिको प्राथमिक जिम्मेवारी भएको उल्लेख गरिन्।“समाजिक स्वामित्व र दिगो संरचना निर्माण हाम्रो लक्ष्य हो। तालिमले यसप्रति सबैको चेतना र प्रतिबद्धता बढाएको छ,” उनले भनिन्। गाउँपालिकाले उपभोक्ता समितिमार्फत निर्माण तथा विकास कार्य संचालनलाई स्थानीय स्तरमै स्वामित्वयुक्त, पारदर्शी र उत्तरदायी बनाउने नीति अवलम्बन गर्दै आएको छ।
यसपटक गरिएको तालिमले योजनाको गुणस्तर, समयबद्धता र दिगोपनामा उल्लेखनीय प्रभाव पार्ने अपेक्षा गरिएको छ।गाउँपालिकाका अनुसार, यस्ता तालिमहरूलाई निरन्तरता दिँदै आगामी वर्षहरूमा आयोजना व्यवस्थापन र समुदायिक क्षमता अभिवृद्धिलाई अझ सुदृढ बनाइनेछ।तातोपानी गाउँपालिकाबाट सुशासन, पारदर्शिता र गुणस्तरीय विकासतर्फ दृढ कदम हुनेछ।






