सुर्खेतमा सडक दुर्घटनामा परी चार वर्षमा १२१ जनाको मुत्यु

गीता थापा
सुर्खेत, ११ जेठ ।
गत वैशाख २६ गते वीरेन्द्रनगरको फोरलेन सडकमा ट्रकको ठक्करबाट दैलेखकी तुलसी जैसी गम्भीर घाइते भइन् । कर्णाली राजमार्गको मुलपानी–बाङ्गेसिमल खण्डको मुलपानीदेखि पश्चिममा जेब्रोक्रसमा बाटो काट्ने बेला ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकी जैसीलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत पठाएको थियो ।
ठक्करबाट खुट्टा क्षतविक्षत बनाएको र सुर्खेतमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज रिफर गरिएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौ पठाइएको थियो । उनको उपचारको क्रममा काठमाण्डौंमै मृत्यु भयो । उनलाई भे १ ख १९६३ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
वीरेन्द्रनगरबाट कालीकोट जाँदै गरेको ट्रकले बाटो कट्दै गरेको अवस्थामा जैशीलाई ठक्कर दिएको थियो । त्यस्तै, वैशाख ७ गते विहान रेडियो नेपालको अगाडी फोर्स गाडीको ठक्करबाट जुम्लाका कालिबहादुर बुढाको मृत्यु भएको थियो । यी घटना त प्रतिनिधिमुलक मात्र हुन् । सुर्खेतमा सवारी दुर्घटना दिनप्रतिदिन बढ्दो क्रममा हुन थालेका छन् ।
सुर्खेतमा चार वर्षको अवधीमा सवारी दुर्घटनामा परी एक सय २१ जनाको मृत्यु भएको छ । एक हजार ६ सय ७० सवारी दुर्घटनामा परी चार वर्षमा एक सय २१ जनाको मृत्यु भएको हो । जिल्ला ट्राफिक कार्यालय सुर्खेतका अनुसार चार वर्षमा गम्भीर घाइते सात सय ३० जना र दुई हजार एक सय ८९ जना सामान्य घाइते भएका छन् ।
चालु आर्थिक वर्ष २०८१/०८२ को ३ जेठसम्म सुर्खेतमा तीन सय ४३ सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परी २९ जनाको मृत्यु भएको छ भने गम्भीर घाइते दुई सय ७८ जना र पाँच सय ६ जना सामान्य घाइते भएका छन् । त्यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा एक सय ९३ सवारी दुर्घटना भएको तथ्यांक प्रहरीसँग छ ।
उक्त दुर्घटनामा परी ३१ जनाको मृत्यु भएको थियो । गम्भीर घाइते एक सय २९ र दुई सय ४६ जना सामान्य घाइते भएका थिए । आर्थिक वर्ष २०७९/०८० मा तीन सय १९ वटा सवारी दुर्घटना भएका थिए ।
उक्त दुर्घटनामा परी ३० जनाको मृत्यु भएको थियो भने एक सय ४२ जना गम्भीर घाइते भएका थिए । चार सय २३ जना सामान्य घाइते भएका थिए । आर्थिक वर्ष २०८०/०८१ मा आठ सय १५ सवारी दुर्घटनामा परी ३१ जनाको मृत्यु भएको थियो । गम्भीर घाइते एक सय ८१ र एक हजार १४ जना सामान्य घाइते भएका थिए ।

दुई प्राङ्ग्रे सवारी धेरै दुर्घटना
सुर्खेतमा सबैभन्दा धेरै दुई प्राङ्ग्रे सवारी साधन दुर्घटनामा पर्ने गरेका छन् । दुईप्राङ्ग्रे साधनमा मोटरसाइकल र स्कुटर छन् । गत आ.व. २०८०÷०८१ मा सुर्खेतमा ५७ प्रतिशत दुईप्राङ्ग्रे सवारी साधन दुर्घटनामा परेको तथ्याङ्क जिल्ला ट्राफिक कार्यालय सुर्खेतसँग छ ।
१३ प्रतिशत अटोरिक्सा, १० प्रतिशत जीप कार, सात प्रतिशत फोर्स, चार प्रतिशत बस र ट्रक, चार प्रतिशत ट्याक्टर, एक प्रतिशत टिपर र साइकल दुर्घटना भएका छन् । त्यस्तै यस वर्षको तथ्याङ्क भने असार मसान्तमा मात्र सार्वजनिक हुने जिल्ला ट्राफिक कार्यालयका कार्यालय प्रमुख वकिल सुनारले जानकारी दिए ।
दुर्घटनाको मुख्य कारण तीव्र गति
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले दुर्घटनाको कारणको आधारमा गरेको विश्लेषणमा सबैभन्दा बढी तीव्र गतिले दुर्घटना हुने गरेको देखिन्छ । कार्यालय प्रमुख सुनारका अनुसार अघिल्लो वर्ष ५७ प्रतिशत दुर्घटना तीव्र गतिका कारण भएका थिए, भने चालु वर्षमा पनि ५५ प्रतिशत दुर्घटना तीव्र गतिकै कारण भएका छन् ।
त्यस्तै, सडकको अवस्था, मादक पदार्थ सेवन, लापरवाही र ट्राफिक नियम उल्लंघनका कारण पनि दुर्घटना हुने गरेको उनको भनाई छ । चार वटै आर्थिक वर्षमा दुर्घटनाको आधारमा विश्लेषण गर्ने हो भने सबैभन्दा बढी तीव्र गतिको कारणले दुर्घटना हुने र दोस्रो कारण सडक संरचनाका कारणले दुर्घटना हुने गरेको प्रमुख सुनारले बताए ।
उनका अनुसार सुर्खेत कर्णाली प्रदेशको राजधानी भएका कारण सवारी चाप धेरै, सडक साघुँरो र आम जनमानसमा ट्राफिक नियमको पालना नगर्ने प्रवृत्ति (सडक सुरक्षा सचेतनाको अभाव) का कारण जिल्लामा दिनानुदिन सवारी दुर्घटना हुने गरेको छ ।
उनले भने, ‘तीव्र गति, मापसे, ट्राफिम नियम उल्लंघन, मोबाइल फोनको प्रयोग, ट्राफिक संकेतको बेवास्ता लगायतका कारण दुर्घटना हुने गरेका छन् ।’ उनका अनुसार सवारी चालकहरूले आधारभूत ट्राफिक नियम नमान्दा दुर्घटनाको जोखिम बढेको छ ।
दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षाबारे जनचेतना अभियान, कडाइका साथ ट्राफिक नियम कार्यान्वयन, चालकहरूको तालिम र अनुशासन आवश्यक रहेको प्रमुख सुनारको भनाइ छ । उनले थपे, ‘जनता स्वयं पनि सवारी सुरक्षाबारे सचेत हुनुपर्छ । नियम पालना गरे दुर्घटनामा कमी ल्याउन सकिन्छ ।’






