कर्णालीका कार्यवाहक प्रदेश प्रमुखलाई मुस्लिम आयोगको वार्षिक प्रतिवेदन हस्तान्तरण

सुर्खेत ,११ जेष्ठ ।
कर्णाली प्रदेशका कार्यवाहक प्रदेश प्रमुख नजिर मियाँलाई मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आयोगको वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नुभएको छ।
आयोगका अध्यक्ष अलीले प्रदेश प्रमुख मियाँसँग भेटघाट गर्दै प्रतिवेदन हस्तान्तरण गर्नुका साथै मुस्लिम आयोगका गतिविधि, योजना र मुस्लिम समुदायका आर्थिक, सामाजिक तथा शैक्षिक अवस्थाका विषयमा समेत विस्तृत छलफल गर्नुभएको थियो।
भेटमा अध्यक्ष अलीले कर्णाली प्रदेशका मुस्लिम समुदायको अवस्था निकै दयनीय रहेको उल्लेख गर्दै आयोगले समुदायको सशक्तिकरणका लागि विभिन्न पहल गरिरहेको जानकारी दिनुभयो। उहाँले मुस्लिम समुदायका विषयमा अनुसन्धान र अध्ययन पर्याप्त नभएकाले आयोगले त्यसमा विशेष ध्यान दिइरहेको पनि बताउनुभयो।
प्रतिवेदन ग्रहण गर्दै कार्यवाहक प्रदेश प्रमुख मियाँले मुस्लिम समुदायका समस्या समाधानको जिम्मेवारी केवल मुस्लिम समुदायको मात्र नभई सबै वर्ग, समुदाय र जातजातिले साझा रूपमा उठाउनु पर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले सामाजिक समावेशिता र समान अवसरको प्रवर्धनका लागि सबैले आ-आफ्नो स्थानबाट पहल गर्नुपर्ने धारणा राख्नुभयो।
उक्त भेटघाटले मुस्लिम आयोग र प्रदेश सरकारबीच सहकार्य र समझदारी अभिवृद्धि गर्ने विश्वास गरिएको छ।






