सिंह ठकुरीहरुको बंशावली विमोचन

सुर्खेत, ११ जेठ ।
साण्डिल्य गोत्रीय सिंह ठकुरीहरुको वंशावली (पुस्तक) विमोचन गरिएको छ । मध्यकालिन समयमा सिंह ठकुरीले राज्य गरेको सिम्ता राज्यको राजधानी लापुको देउलीमा एक कार्यक्रमकावीच वंशावली विमोचन गरिएको हो ।
विमोचन कार्यक्रममा प्रमुख अतिथिका रुपमा तत्कालिन समयमा भारतको सिरमोर राज्यबाट सँगै सिम्ता आएका चाबुल्य बाहुनका खलक (सन्तान), कर्णाली प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्री एवम यो क्षेत्रका प्रदेश सभा सदस्य खड्ग पोखरेल रहेका थिए ।
विशेष अतिथिमा सिम्ता गा .पा. अध्यक्ष ऐन बहादुर चन्द, मध्यपश्चिम विश्वविद्यालयका पूर्व डीन एवम प्राज्ञ पिताम्बर ढकाल, सिम्ता गा. पा. उपाध्यक्ष गोमा शर्मा रेग्मी, सशस्त्र प्रहरी बल काठमाडौँमा कार्यरत डिएसपी राजेश सिंह ठकुरी रहेका थिए ।
त्यसैगरी अथितिहरुमा सिम्ता गा. पा. का संस्थापक अध्यक्ष कविन्द्र कुमार के.सी., विभिन्न वडाका वडाध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न विद्यालयका वि. व्य. स. अध्यक्ष, प्रधानाध्यक, विभिन्न सामाजिक सङ्घ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

साण्डिल्य गोत्रीय सिंह ठकुरीहरुको वशावली प्रकाशन समितिका संयोजक साहित्यकार पृथ्वी बहादुर सिंहको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन प्रकाशन समिति तथा आर्थिक समितिका सह–संयोजक भुपाल सिंह ठकुरीले गरेका थिए । मान सिंह ठकुरीले स्वागत मनतव्यद्वारा अतिथिहरु तथा कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गरेका थिए ।
कार्यक्रममा विशेष अतिथि प्राज्ञ पिताम्बर ढकालले पुस्तकको समालोचना गरेका थिए भने प्रमुख अतिथि माननीय खड्ग पोखरेल र विशेष अतिथि ऐन बहादुर चन्द र गोमा शर्मा रेग्मीले सिम्ताको ऐतिहाँसिक ठाउँ राजकाँडा दरबारमा संग्राहलय निर्माण गरी सुर्खेत जिल्लाकै एक पर्यटकीय हवको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा झ्यामाबाट तेजविक्रम सिंहको नेतृत्वमा र लापुबाट लिल बहादुर सुनारको नेतृत्वमा सिङगारु नाच प्रदर्शन गरिएको थियो । कार्यक्रमका वक्ताहरुले आफ्नो इतिहाँस, कुल, वंश आदिको बारे गहिरो अध्ययन गरी आधुनिक मोडेलको वंशावली प्रकाशन गरेकोमा शुभकामना दिँदै अन्य वंश÷गोत्रीहरुले पनि साण्डिल्य गोत्रीको यो ऐतिहाँसिक कामबाट सिक्नुपर्ने बताए ।






