“गिडिदहमा जलविद्युत् सर्भे सुरु”

गोल्डेन बुढा
९, मंसिर २०८२
जुम्लाको तातोपानी गाउँपालिका-४ स्थित गिडिदहबाट बगिरहेको पानीबाट बिजुली निकाल्न सर्भे टोली हेलिकप्टर चढेर जुम्ला पुगेको छ ।विज्ञ टोलीले हेलिकप्टरबाट गिडिदहको स्रोतदेखि पावरहाउस बनाउने स्थानसम्मको अवलोकन गरेको हो । टोलीमा जर्मन र भारतीय विज्ञहरु सहभागी थिए ।टोलीले विद्युत्को सर्भे गरेर डीपीआर बनाउने तयारी थालेको छ ।
डीपीआर अनुसार बिजुली उत्पादनका लागि संरचनाहरु निर्माण हुनेछन् । तातोपानी-४ का वडाध्यक्ष अमरबहादुर रोकायाले स्थानीय तहको समन्वयमा एक वर्षदेखि प्राविधिक टोलीले विद्युत् सर्भेको काम गरिरहेको बताए । एक/दुई पटक स्थानीयस्तरमा प्राविधिक जनशक्ति परिचालन गरेर सर्भे भए पनि यो पटक हेलिकप्टर लिएर विज्ञहरु आफै गिडिदह जलाधार क्षेत्रमा पुगेका हुन् ।वडाध्यक्ष रोकायाले हेलिकप्टर तातोपानी-४ रातेखोलास्थित औद्योगिक ग्राममा अवतरण गरेको थियो । विज्ञ टोली फर्किए पनि केही प्राविधिकहरु गाउँमै बसेर सर्भेको काम गरिरहेका छन् । वडाध्यक्ष रोकायाले भने, ‘गिडिखोला जलाधार क्षेत्रबाट धेरै ठूलो क्षमताको विद्युत् निकाल्ने गृहकार्य भइरहेको छ । जसका लागि विद्युत् प्राधिकरणबाट अनुमति लिनेदेखि स्थानीय समुदायसँग स्रोत प्रयोगको बारेमा छलफल भइसकेको छ ।’ड्रोनको प्रयोग गरेर क्षेत्र मापन गर्नेदेखि सर्भेको काम तीव्र रुपमा भइरहेको छ ।

अहिले नेपाल विद्युत् प्राधिकरणले ७२ मेगावट विद्युत् उत्पादनका लागि अनुमति दिएको छ,’ वडाध्यक्ष रोकायाले भने, ‘३२ मेगावट विद्युत् निकाल्न सकिने प्रारम्भिक अनुमान गरिएको छ । आगामी वैशाख महिनासम्म सबै रिपोर्ट सार्वजनिक हुनेछ ।’विज्ञ टोलीले विद्युत् निकाल्न प्रयोग हुने पानीको स्रोत गिडिदहदेखि विद्युत्गृह बनाउने स्थानसम्मको अवलोकन गरेर समुदायसँग छलफल गरेर फर्किएको छ । विद्युत्को डीपीआर बनाउनेदेखि उत्पादन गर्ने जिम्मेवारी आध्यान्त इन्भेष्टमेन्ट प्रालिले लिएको छ ।सबै रिपोर्ट हेरेर पाँच वर्षसम्म विद्युत् निकालिसक्ने लक्ष्य छ । ‘पहिलो चरणमा प्राविधिक रिपोर्टले ८० प्रतिशत विद्युत् निकाल्न सकिने संभावना देखाइसकेको छ,’ वडाध्यक्ष रोकायाले भने, ‘अनि कम्पनीको लगानी र स्थानीयको स्रोत प्रयोग गरेर विद्युत् निकालिने छ ।’पर्यटकीय गन्तव्यसमेत रहेको गिडिदह क्षेत्रमा बिजुली निकालेर बेच्न सकिएको खण्डमा आर्थिक समृद्धिको आधारका रुपमा अघि बढ्न तातोपानी गाउँपालिकाले जनाएको छ ।






