व्यक्तित्व चर्चा : १२ वर्षदेखि दुर्गममा रमाएका बिशेषज्ञ डाक्टर पुजन रोकाया

जुम्ला, ९ जेठ ।
कुरा हो ! बि.सं.२०७७ साल बैशाख १४ गते को, जुम्लाको तातोपानी गाउँपालिका–३ का चम्पासिंह शाहीलाई ढुंगाहरुले थिचेर शक्त घाइते भए।चम्पा ढुंगा खानीमा ढुंगा निकाल्ने क्रममा माथिबाट खसेको ढुंगाले थिचेर घाइते भएका थिए । गाउँलेहरुले चम्पासिंहलाई मरिसकेको छ । भनेरै मृत घोषणा नगरेको पनि होइनन् ।
धेरैजसोको मसानघाट घाटतिर लिने तयारी थियोे । तर,आफन्तको बलमा र सहयोगमा जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल पुरर्याइयो । अस्पतालसम्म पुरयाउदा उनको श्वास त थियो, तर मेरुदण्ड, दुबै खुट्टा र कम्मरको हड्डि भाँचिएको थियो । तत्कालै प्रतिष्ठानका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पुजन रोकायाको नेतृत्वको टिमले अप्रेशन गर्ने निधो गर्याे, लगत्तै उपचार अगाडि बढायो, अप्रेशन पनि सफल भयो ।
प्रतिष्ठानमा आउने सामान्य भन्दा उक्त अप्रेशन निकै पृथक र जटिल भएर पनि सफलता मिलेकोमा उक्त उपचारमा संलग्न टोलीको संयोजक आफै भएकाले पनि धेरै खुसी मिलेको विशेषज्ञ डाक्टर रोकाया बताउँछन । अहिले चम्पासिंह सामान्य हिडडुल गर्न सक्ने भएका छन् ।
यता बिरामी चम्पासिंह शाहीले प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ डाक्टर पुजन रोकाया मेरो पुनर्जीवन दिने भगवान नै भएको बताए । म डाक्टरलाई आशिर्वाद दिन सक्दैन् । चिहानमा जलाउन पुगेको मान्छेलाई समयमा नै अस्पताल पुरयाउदा र कर्णालीको दुर्गममा जन्मेको डाक्टरले आफ्नो यति ठुलो अप्रेशन घरआगनको अस्पतालमै सफल गरेकाले अहिले बाँच्न पाएको भन्दै खुसीका आँसु बर्साए ।
उनले, थपे यदि बाहिर अस्पतालमा रिफर भएर जानु पर्ने अवस्थ भए आर्थिक जुटाउन सकिने अवस्था थिएन् । जुम्लामै निःशुल्क उपचार भएर मात्र बाँचेको छु । उनले भने, डाक्टर पुजन रोकाया हाडजोर्नी सम्बन्धीका बिरामीको कर्णालीमा विश्वाश र भरोशा बनेका छन् ।

हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. पुजन कुमार रोकाया विगत १२ बर्ष देखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालमा कार्यरत छन् । जुम्लाको प्रख्यात तथा पुरानो जिएमडि मोर्डन पब्लिक हाई स्कुल बाट बि.सं. २०५४ सालमा एसएलसी उत्तिर्ण डा. रोकायाले वि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट दुर्गम कोटामा एमविविएस अध्ययन गरी टिचिङ्ग अस्पताल, महाराजगञ्ज काठमाडौंबाट हाडजोर्नी तथा नशा रोग बिषयमा स्नातकोत्तर उपाधि प्राप्त गरेका थिए ।
दुर्गम कोटामा अध्ययन गरेकाले दुर्गम क्षेत्रमा नै सेवा गर्ने ध्येयकासाथ निसर्त र निस्वार्थ रुपमा जन्मथलो जुम्लामा नै फर्कीएर निरन्तर रुपमा सेवारत छन् । डा. रोकाया उच्च अध्ययन पुरा गरेर जुम्ला पुग्दा जुम्लामा जिल्ला अस्पताल हुँदै अञ्चल अस्पताल बनेको र उक्त अञ्चल अस्पतालको सम्पूर्ण चलअचल सम्पत्ति हस्तान्तरण गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भइसकेको थियो ।
सदरमुकाम खलंगामा घर भएका डा. रोकाया बि.सं. २०७१ सालमा हाडजोर्नी तथा नशा रोग विभागमा विशेषज्ञको रुपमा नियुक्त भई सो बिभागको सम्पूर्ण जिम्मेवारी समाल्न पुगेका थिए । स्वदेश तथा विदेशका तमाम अवशरहरुलाई त्यागेर जन्मथलोमै सेवा गर्नझ हुडहुडीका साथ सेवा सुरु गरेका डाक्टर रोकाया जीवनको बाँकी ऊर्जाशील समय पनि कर्णालीमै बिताउने मनसायमा छन् ।
कर्णालीका हुम्ला मुगु कालिकोट डोल्पा लगायत अन्य दुर्गम जिल्लाहरुमा पनि हाडजोर्नी तथा नशा रोगको विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएकाले स्थानीय स्तरमै पुगेर सेवा गर्ने मौका र अवसर मिलेको उनी बताउँछन् ।
आफ्नो खेतबारीमा उत्पादन भएको र घरमै पाकेको खाना खाएर अस्पतालमा सेवा गर्न पाउँदा उनी सन्तुष्टि मिलेको डाक्टर रोकाया बताउँछन । जर्मनीको गटिङ्गेन विश्वबिद्यालयबाट हाडजोर्नी तथा नशा रोग बिषयमा थप तालिम प्राप्त गरेका डा. रोकाया हाल प्रतिष्ठानको अस्पताल निर्देशकको भूमिकामा कार्यरत रहेका छन् । १२ बर्षदेखिको योगदानले अस्पताल तथा समग्र प्रतिष्ठानकै स्तरोन्नतिमा उनको उत्तिकै भुमिका छ ।

कर्णाली जस्तो दुर्गम क्षेत्रमा प्रतिष्ठान चल्न शंका उपशंका उब्जि रहेको अवस्था र बिशेषज्ञ डाक्टर आउन नमान्नु, आएका पनि लामो समयसम्म टिक्न नसक्नुले झन चुनौति थपेको हुँदा हुँदै पनि प्रतिष्ठानमा आजका दिनसम्म हाडजोर्नीको बिशेषज्ञ शिक्षा अध्ययन अध्यापन, मुगु र कालिकोट जिल्लामा हाडजोर्नीको बिशेषज्ञ ओपिडि सेवा विस्तार, माग र आवश्यकताको आधारमा कर्णालीका अन्य दुर्गम स्थानमा विशेषज्ञ सेवासहितको शिविर सञ्चालन, कर्णालीका विभिन्न क्षेत्रमा अपाङ्गता पहिचान शिविर सञ्चालन र प्रतिष्ठान भित्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कार्यशाला गोष्ठी आयोजना समेत गर्न सफलता मिलेको छ ।
हाडजोर्नी बिभागमा बिरामीको चाप पनि हाल उल्लेख्य रुपमा बढेको पाइन्छ । हाडजोर्नी विशेषज्ञ डाक्टर रोकायाका अनुसार अन्य ठाउँभन्दा यस ग्रामीण समुदायमा चोटपटकका कारणहरु केही फरक प्रकृतिका हुने गरेको अनुभव सुनाउँछन । सामान्यतया सवारी दुर्घटना र प्राकृतिक प्रकोपबाट घट्ने घटना भन्दा पनि यता गाउँले दैनिकी कै कारण चोटपटक लागेर आउने गरेको पाइन्छ ।
घाँस काट्न जाँदा भिर पाखाबाट लडेर, दाउरा काट्न जाँदा रुखबाट खसेर, माटोको खानीमा पुरिएर, हिउमा पुरिएर, घरको (आगन) ओटालो, छतबाट खसेर चोट पटकका घटना बढी हुन्छन् । घर जहान पाल्नकै लागि खेतीपाती गर्नु भिरपाखामा काम गर्नु पर्ने बाध्यताका कारण यस क्षेत्रमा अन्य ठाउँ भन्दा चोट पटकका विरामी धेरै आउने उनी बताउँछन ।
गरिबीकै कारण पेटपाल्न मजदुरी गर्दै गर्दा चोट पटक लाग्ने र सो को महङ्गो उपचारमा पिल्सिएका कर्णालीवासी हाल जुम्लामै सरल सुलभ बिशेषज्ञ सेवा सहितको उपचार पाउँदा केही राहत भएको महशुस गर्न पाएका छन । ग्रामीण समुदायको स्वास्थ्य सेवामा तल्लिन डाक्टर रोकाया अनेकौं चुनौति सामना गर्नुेपरेको बताउँछन ।
चोटपटक लागिसके पछि समयमा अस्पताल नआउनु प्रमुख चुनौति भएको ठान्छन । समयमा अस्पताल नआउनुमा भौगोलिक विकटता, असहज यातायात, एमबुलेन्स सेवाको कमि, अशिक्षा, गरिबी, जनचेतनाको कमी, घरपरिवार बाट लापरबाही मुख्य कारणहरु हुन । उनले, भने ‘ग्रामीण समुदायमा अहिलेसम्म स्ट्रेचर अथवा डोकोमा बिरामीलाई ओसार पसार गर्नुपर्ने बाध्यता जिवित छ। चोटपटक लागिसके पछि समयमा अस्पताल नआउदा उपचार गर्दा कठिनाई हुने र नतिजा सन्तोषजनक नहुने उनको अनुभब छ ।’
चोट पटक लागेर बिरामी भएपछि अस्पतालको भन्दा धामीझाँक्री कहाँ पुग्नु अर्को प्रमुख चुनौति भएको ठान्छन । डाक्टरले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाडजोर्नी तथा नशा रोग विभागले गरेको एउटा खोजमूलक अनुसन्धान को तथ्याङ्कले १ सय ८५ बिरामीहरु चोटपटक लागि सकेपछि भुतप्रेत सल्केको छकि भन्दै धामीझाँक्रीका जाने गरेको देखिन्छ । अशिक्षा, जनचेतनाको कमी, स्वास्थ्य सेवाको पहुच नहुदा धामीझाँक्रीका जाने बढेको तथ्यांकले देखाउँछ । धामीझाँक्री जानु चुनौतिपुर्ण र जटिल हुने गरेको बताउछँन ।
शहरमा चाप छ तर ग्रामीणमा चुनौति छ
अहिलेसम्म नेपालको ग्रामिण समुदायमा चोटपटकका घटनाबाट बच्न घर आँगनका सिडी, भ¥याङ, छतमा रेलिङको व्यबस्था गर्ने, चोटपटक रोकथाम सम्बन्धी सचेतनामूलक कार्यक्रम गर्ने तथा सम्बन्धित संघ संस्था र निकायहरुले चोटपटक रोकथाम सम्बन्धी खोजमूलक अनुसन्धान गर्ने, स्वास्थ्य सेवा प्रदायक संस्थाहरुले समयमा नै सम्बन्धित सुविधा भएको अस्पतालमा चोट पटकका बिरामीलाई प्रेषण गर्ने गरेमा चोट पटकका घटनाबाट निम्तिने जोखिम न्यूनिकरण गर्न सकिने बुझाई डाक्टर रोकायाको छ ।
यस प्रतिष्ठानमा आउने चोटपटक तथा अन्य बिरामीको उपचार सम्भब भएसम्म यसै प्रतिष्ठानमा हुनुपर्छ, भन्ने मान्यता रोकाया राख्छन् । बिशिष्टकृत सेवा बिस्तार, एमआरआई लगायत आबश्यक औजार उपकरणको ब्यबस्था भएमा धरै उपचार यतै सम्भब हुने र बिरामी रिफर गरेर अन्यत्र पठाउन नपर्ने बताए ।
दुर्गममा बिशेषज्ञ डाक्टर जान नमान्ने, आएका पनि लामो समय नटिक्ने परिस्थितिमा नेपाल सरकार सम्बन्धित निकाय तथा सरोकारवालाले निति नियम परिमार्जन गर्न आबश्यक छ । समयमा स्तरोन्नतिको व्यवस्था, उचित पारिश्रमिक, काम गर्ने वातावरण, आबश्यक औजार उपकरण भएमा बिशेषज्ञहरु दुर्गम जाने सम्भावना बढ्ने र लामो समय प्रतिष्ठानमा बिताएका र भविष्य पनि प्रतिष्ठानमै खोज्ने डाक्टरहरुलाई प्रोत्साहित बनाउन सकेको खण्डमा दुर्गम सधै दुर्गमको परिचय बोकेर बस्नु नपर्ने डाक्टर रोकाया बताउँछन ।






