सम्पादकीय : विकासमा अनावश्यक झमेला नगरौं
सुर्खेत जिल्लाको पूर्वी गुर्भाकोटको भेडाबारीबाट सुरु भएको यो राजमार्गले पश्चिम चौकुने गाउँपालिकाको बेनीघाटहुँदै सुदूरपश्चिमको डोटी जिल्ला प्रवेश गर्छ । मदन भण्डारी राजमार्ग अन्तरगत सुर्खेतको पूर्वि खण्डमा ३५ किलोमिटर सडकको निर्माण कार्य ९० प्रतिशत सम्पन्न हुँदा पश्चिम खण्डमा भने विवादै विवादका कारण आयोजनाले काम गर्न पाएको छैन । मदन भण्डारी राजमार्ग अन्तर्गत झण्डै एक सय ५८ किलोमिटर क्षेत्र सुर्खेत खण्डमा पर्दछ । नेपालको पूर्वदेखि पश्चिमसम्मको वैकल्पिक राजमार्गको रूपमा चिनिएको मदन भण्डारी राजमार्ग भित्रि मधेसको रणनैतिक महत्वको आयोजना हो ।
यसले भित्रि मधेसलाई एकै मालामा जोड्ने कार्य मात्र गरिरहेको छैन, स्थानीय स्तरमा व्यापार, रोजगारी, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा समेत उल्लेखनीय अवसरहरू सिर्जना गरिरहेको छ । सुर्खेत जिल्लाको मध्य भागबाट पूर्वपश्चिम लागेको मदन भण्डारीले सडकले सिङ्गो जिल्लाको समृद्धि बोकेको छ । । यो राजमार्ग सुर्खेतका नौमध्ये ६ वटा स्थानीय तहको बिचभागबाट पूर्वपश्चिम लाग्छ । गुर्भाकोट, लेकबेँसी, वीरेन्द्रनगर र पञ्चपुरी नगरपालिका तथा बराहताल र चौकुने गाउँपालिकाको बीच भागबाट छिचोलिने यो सडकलाई नागरिकहरूले लाइफ लाइनका रूपमा बुझेका छन् । यो सडकले यी पालिकाको ठुलो जनसंख्यालाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ दिनेछ ।
पूर्वी खण्डको काम अन्तिम चरणमा पुग्दा पश्चिम सुर्खेत खण्डमा भने अनावश्यक विवादहरूले आयोजना अघि बढ्न सकेको छैन । आयोजनाको रेखाङ्कनबाटै स्थानीयहरुले अनावश्यक विवाद सिर्जना गरेर अवरोध पु¥याउदै आएका छन् । नीतिगत अल्झन पनि उस्तै छ । निरन्तरको प्रयासपछि अधिकांश क्षेत्रमा विवाद समाधान भएको छ । तर केही क्षेत्रमा स्थानीयले अवरोध कामय राखेका छन् । विकासका नाममा जनताको आवाज दबाउनु हुँदैन भन्ने कुरा सत्य हो, तर अनावश्यक विवाद र अवरोध सृजना गर्नु विकास विरोधी मानसिकताको सूचक हो । मदन भण्डारी राजमार्ग मात्र सडक निर्माणको परियोजना होइन । यो देशको समावेशी विकासको प्रतीक हो । पश्चिम सुर्खेतको भौगोलिक संरचना हेर्दा यो क्षेत्र कृषि, वन र पर्यटनको राम्रो सम्भावना बोकेको छ । ५० को दशकमा निर्माण गरिएको जीर्ण सडकमा सास्ती भोग्दै आएका पश्चिम सुर्खेतका नागरिक मदन भण्डारी राजमार्गले पूर्णता पाएको हेर्ने अपेक्षामा छन् ।
सडक सञ्जालको अभावले दशकौंसम्म पछाडि परेको यस क्षेत्रका बासिन्दाका लागि यो राजमार्ग सपना जस्तै हो । यो सपना बिनाकारणको विवादले तुहिनु हुँदैन । यो सडकलाई पूर्णता दिन यहाँका स्थानीय तह, जनप्रतिनिधि, नागरिक समाज, प्रशासन तथा अन्य सरोकारवाला पक्षबीच आपसी सहकार्य आवश्यक छ । राजमार्ग निर्माणले केहीलाई तत्काल असहज पर्न सक्छ । घरघडेरी सर्नुपर्ने अवस्था आउन सक्छ । तर दीर्घकालीन लाभको दृष्टिले हेर्दा यसले सम्पूर्ण क्षेत्रको आर्थिक स्तर उकास्नेछ ।
त्यसैले साना स्वार्थ वा असन्तोषका कारण राष्ट्रिय गौरवको योजनालाई अवरुद्ध गर्नु आत्मघाती कार्य हो । यसर्थ सबै पक्ष मिलेर विकास हाम्रो अधिकार हो, भन्ने भावनालाई व्यवहारमा उतार्ने समय आएको छ । मदन भण्डारी राजमार्गलाई विवाद होइन, गौरव र सहकार्यको प्रतीक बनाउने अवसर पश्चिम सुर्खेतले गुमाउनु हुँदैन । विकासको प्रमुख पूर्वाधार सडक निर्माणमा अनावश्यक विवाद सिर्जना गर्नु नितान्त विकास विरोधी कार्य हो ।