जुम्लामा हिमाली संवाद सुरुः कर्णालीका बालबालिका र सीमान्तकृत समूहहरूको समस्या उठाइने
गोल्डेन बुढा
जुम्ला । जुम्लामा दुईदिने हिमाली संवाद सुरु भएको छ । हिमाली संवादको कर्णाली प्रदेश(क)सांसद देवेन्द्रबहादुर शाहीले उद्घाटन गरेका छन् ।
संवाद भोली (बुधबार)सम्म चल्नेछ । संवादमा जलवायु प्रभाव तथा अनुकूलनबारे चार वटा प्राविधिक शत्र सञ्चालन हुने छन् । संवादमा कर्णालीका बालबालिका र सीमान्तकृत समूहहरूको समस्या उठाइने छ । सांसद देवेन्द्रबहादुर शाहीले सडकका नाममा जथाभावी डोजर लगाउने, बाटो खन्ने, रुख काट्ने जस्ता मानवीय त्रुटिपूर्ण कार्यले हामी वरिपरिको वातावरण प्रदुषणले जलवायु परिवर्तनको असर देखिएको बताए । कुनै पनि विकास वातावरणमैत्री हुनु पर्ने उनले बताए ।
जिल्ला समन्वय समिति समितिका प्रमुख गौरीनन्द आर्चायले कर्णालीमा संवादको मस्कद महत्त्वपूर्ण भएको बताए । नेपाल सरकारको २०८१ माघ ७ गतेको निर्णय अनुसार २०८२ जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद कार्यक्रम आयोजना गर्ने निर्णय गरेको थियो । उक्त निर्णय बमोजिम हिमालका समस्या र चुनौतीलाई केन्द्रित गर्न जुम्लामा पनि हिमाली संवाद गरिएको छ ।
कर्णाली प्रदेश अन्तर्गतका दश वटै जिल्लाका बालबालिका तथा युवाहरूको सहभागिता छ । सगरमाथा संवाद सचिवालयको समन्वयमा उच्च पर्वतीय क्षेत्रका पछाडि परेका तथा पारिएका वर्ग विषेशगरी बालबालिका, युवा, महिला दलित, अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्वमा समुदायमा जलवायु परिवर्तनले पारेको प्रभाव, उनीहरूको वास्तविक भोगाई, जलवायु सङ्कटलाई सामना गर्न गरिएका स्थानीय प्रयास तथा अभ्यासहरूलाई एकिन गर्नु हिमाली संवाद उद्देश्य छ ।
यस्तै, मुख्य उद्देश्यहरू बालबालिका र युवाको आवाजलाई बुलन्द गर्ने, उमेर–संवेदनशील जलवायु नीतिहरूको वकालत गर्ने, स्थानीय वास्तविकताहरूलाई विश्वव्यापी जलवायु ढाँचाहरूसँग जोड्ने र सफल समुदाय–नेतृत्वका जलवायु पहलहरू प्रदर्शन गर्ने छन् । यसमा सीमान्तीकरणबाट प्रभावित बालबालिका, युवा र हिमाली समुदायहरूलाई अनुभव आदानप्रदान गर्न, आफ्ना विशेष आवश्यकताहरू व्यक्त गर्न र बाल–संवेदनशील जलवायु समाधानका लागि वकालत गर्न मञ्च प्रदान गर्नेछ ।
स्थानीय मुद्दाहरूलाई राष्ट्रिय मञ्चहरूसँग जोड्दै, हिमाली संवादले हिमाली समुदायहरूभित्र एक प्रमुख मञ्चका रूपमा काम गर्ने किर्डाक नेपालका अध्यक्ष सम्झना मल्लले बताइन् । जलवायु परिवर्तन र वातावरणीय ह्रासले बालबालिका तथा हिमाली क्षेत्र जोखिमपूर्ण बन्दै गएको छ । ‘सगरमाथा संवादको बृहत् एजेन्डा ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यसँग मेल खाने गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिगत वार्ताहरूमा समुदायका आवश्यकताहरूको अर्थपूर्ण एकीकरणका लागि बालबालिका र युवाका लागि स्थान र आवाज उठाइनेछ’, उनले भनिन् ।
माली समुदायहरूमा, बालबालिकाहरूले जलवायु परिवर्तनका चरम मौसमी घटनाहरू, वायूप्रदूषण र पानीजन्य रोगहरूको सामना गरिरहेका छन्, जसले उनीहरूको जीवन रक्षा, शिक्षा, संरक्षण र समग्र कल्याणमा असर पारिरहेको छ । त्यस्ता प्रभावित समुदायको न्यायका लागि आवाज बुलन्द गर्न हिमाली संवाद आयोजना गर्न लागिएको किडार्क नेपालका कार्यकारी निर्देशक गोविन्दबहादुर शाही बताउँछन् । कर्णाली क्षेत्रले बढ्दो खडेरी र चरम पानीको अभावको सामना गरिरहेको छ, जसले कृषि उत्पादकत्व घटाएको छ । यी चुनौतीहरूले जीविकोपार्जनलाई गम्भीर रूपमा कमजोर बनाएका छन् । बसाइँसराइ, कुपोषण, शिक्षामा अवरोध र बालविवाहमा योगदान पुर्याएका छन् । जसले बालबालिकामा दीर्घकालीन प्रभावहरूलाई बढाउँदै लगेको शाहीले बताए ।
चन्दनाथ नगरपालिका प्रमुख राजु कठायत तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाई, लगायतका स्थानीय तहका प्रमुखहरु, प्रजिअ रामबहादुर शाही र सुरक्षाकर्मीहरुको सहभागीता रहेको थियो । संवादलाई सम्पन्न गर्न सहयोग गर्ने निकायहरु नेपाल सरकारका विभिन्न निकायहरू, सगरमाथा संवाद, सेभःद चिल्डेन, वर्ल्डभिजन, प्लान नेपाल , पेस नेपाललगायत छन् । संवादमा सांसद तथा स्थानीय सरकारका प्रमुखहरुको सहभागीता रहेको छ ।