स्मृतिमा हाम्रा बा–श्रम,सादगी र संस्कारको प्रतीक


अर्जुन प्रसाद शर्मा
बीरेन्द्रनगर-१२, सुर्खेत
जीवनको मूल रेखा जन्म र मृत्युबीचको यात्रामात्र हो। तर त्यो यात्रा कसरी गरिन्छ भन्ने कुराले नै एक व्यक्तिको असली मूल्य निर्धारण गर्छ। जीवनका अनगिन्ती उतार–चढाव पार गर्दै, परिवारका लागि अहोरात्र परिश्रम गर्ने बुवाको सम्झना शब्दमा उतार्नु भनेको कुनै साधारण काम होइन। २०८१ साल माघ १३ गते द्वादशीका दिन बुवाको स्वर्गारोहण भयो र यतिका महिनापछि पनि उहाँको स्मृतिहरू ताजा छन्, अझै पनि मुटुको कुनाकाप्चामा घन्किरहेका छन्। जीवन र मृत्युको चक्र संसारको शाश्वत सत्य हो भन्ने कुरा हामीले बुवाको निधनबाट अझ गहिरो रूपमा बुझ्यौं।
बुवा पुष्पराज शर्मा साधारण देखिने तर असाधारण व्यक्तित्वका धनी हुनुहुन्थ्यो। उहाँको जीवन सादगी, इमान्दारिता, श्रम र जिम्मेवारीको प्रतिमूर्ति, हाम्रा बा — पुष्पराज शर्मा — को जीवन यही मूल्यको मूर्त प्रतिबिम्ब हुनुहुन्छ। आज जब उहाँको स्वर्गवास भएको ६ महिनाको तिथि आज २०८२ साउन ६ गते आइपुगेको छ, द्वादशीको यो पुनः आगमनसँगै उहाँको सम्झना थप गहिरो र हृदयविदारक भई उर्लिएको छ। दिनहरू जति बित्दै जान्छन्, सम्झनाहरू झन् गहिरिँदै जान्छन्।
उहाँको सल्लाह, माया र साथको खाँचो हरेक मोडमा झन् चर्को गरी महसुस हुन्छ। निर्णयको क्षणमा, अप्ठ्यारा परिस्थितिमा, उहाँको अभिभावकत्वको अभावले मन गह्रौँ हुन्छ। समय अघि बढ्छ, तर बुवाको सम्झनाले मुटु गाठो पर्न थाल्छ। अब उहाँ हुनुहुन्न, तर उहाँका शब्द, शिक्षा र माया हाम्रो जीवनमा सधैं जीवित रहनेछ।
२०८१ माघ १३ गतेको त्यो कालो रात स्मृतिमा एक अमिट डामझैँ बसिरहन्छ। त्यो दिन हाम्रो परिवारका सिंगो सन्तान को समयका लागि एक युगको अन्त्य थियो। किनभने हाम्रा बा कुनै पनि पुस्ताको लागि साधारण व्यक्ति मात्र होइन, एक प्रेरक स्तम्भ हुनुहुन्थ्यो – जसको जीवनदर्शन, श्रमशीलता, र जीवनप्रतिको दृष्टिकोणले हामीलाई जीवन जिउन सिकायो।
१९९९ सालको जेठ १५ गते, सिम्ता गाउँको सुन्तला ठाउँमा जन्मनुभएका बुबा का १० भाइबहिनीमध्ये कान्छा हुनुहुन्थ्यो। उहाँका बाबु मेरा बाजे कृपाराम शर्मा र उहाँको आमा मेरो बजै जलधारा शर्माले उहाँलाई जसरी हुर्काउनुभयो, त्यही संस्कारले उहाँभित्र निष्ठा, नम्रता, सेवा र धैर्यताको गहिरो मूल रोपिएको थियो। कयौं अभाव, संघर्ष, र दुखको बीचमा उहाँले बाल्यकाल बिताउनुभयो। तर ती दुखहरूलाई कहिल्यै निराशामा परिणत हुन दिनु भएन। बरु, ती नै उहाँको जीवनको पाठशाला बने, जसबाट उहाँले धैर्य, सहनशीलता, र कर्मठताको गहिरो दर्शन आत्मसात गर्नुभयो।
हामी – उहाँका पाँच सन्तान – तीन छोरा र दुई छोरी – का लागि उहाँ केवल ‘बुबा’ होइन, एक परिपूर्ण संरक्षक, एक शान्त शिक्षक, एक कठोर अनुशासक र एक विशाल हृदय अभिभावक हुनुहुन्थ्यो। उहाँले हामीलाई दिएको शिक्षा केवल किताबी ज्ञान होइन, व्यवहारिक जीवन बाँच्ने कला थियो। उहाँले हामीलाई सिकाउनुभयो – “आफ्नो खुट्टामा उभिनु नै आत्मसम्मान हो। अरूमाथि भर नपरेर, आफ्नै श्रमबाट जीवन जिउन सक्नु नै साँचो स्वतन्त्रता हो।”
हाम्रा बा धनको पछि लाग्ने मान्छे होइन, धर्म, कर्म र कर्तव्यको बाटोमा हिँड्ने व्यक्तित्व हुनुहुन्थ्यो। उहाँको हरेक बिहान एक प्रकारको पूजा थियो – खेत,पाखो खन्नु, गोरु जोत्नु, बाख्रा हेर्नु, अनि परिवारका सबै सदस्यको आवश्यकताबारे चासो राख्नु। उहाँले घर परिवारका लागि गरेका त्यागहरू दिनप्रतिदिनको पाना हो। खेतबारी, पशुपालन, र गाउँको सामाजिक सम्बन्धलाई व्यवस्थित गर्दै हामी सन्तानका लागि शिक्षा, संस्कृति र सम्पत्तिको आधार निर्माण गर्नु – उहाँको जीवन लक्ष्य जस्तै थियो।
बुवाको जीवन दर्शन धेरै गहिरो थियो – उहाँ भन्नुहुन्थ्यो, “कठिन समय आयो भने डराउनु हुँदैन, संघर्ष गर्नुपर्छ। अनि सुख आयो भने दम्भ नगर, विनम्रता अपनाऊ।” यही दर्शन आज हाम्रा जीवनका आधारस्तम्भहरू बनेका छन्। उहाँले कहिल्यै ठूलो स्वरमा भाषण गर्नुभएन, तर उहाँको जीवन आफैँ एउटा मौन भाषण थियो – जसले हामीलाई आत्मनिर्भर, अनुशासित, र सुसंस्कृत बनायो।

बुवाको त्यागको अन्त्य कहिल्यै देखिएन। हामी छोराछोरीले आफूभित्रको आत्मविश्वास, आत्मनिर्भरता र कर्तव्यबोध पाउनका लागि उहाँले आफ्नो जीवनको सुख–शान्ति, विश्राम र चाहनाहरूलाई थाति राख्नुभयो। उहाँको अन्तिम दिनहरूमा पनि उहाँ हामीप्रतिको चिन्ताले भरिएको अनुहार लिएर बस्नु हुन्थ्यो। हाम्रो भविष्यप्रतिको विश्वासले उहाँलाई सन्तोष मिल्थ्यो। हामी छोराछोरीले आफ्नो जीवनको बाटो सम्हाल्न थालेपछि उहाँको अनुहारमा देखिने सन्तोष आज पनि आँखामा ताजै झल्किन्छ।
अहिले उहाँलाई सम्झँदा केवल पीडा मात्र होइन, प्रेरणा पनि आउँछ। उहाँको जीवन एउटा विद्यालय हो – जहाँ शिक्षाका पाठहरू केवल पढिन्छन् ,होइन, अनुभूत गरिन्छन्। उहाँले शिक्षा भनेको कागजको प्रमाणपत्र मात्र होइन, आचरण, विवेक र कर्म हो भन्ने कुरा देखाउनुभयो। उहाँका सन्तान हामी मात्र होइन, नातिनातिनीहरू पनि आज उहाँको नाम सुन्नासाथ श्रद्धा र गर्वले भरिन्छन्।
उहाँप्रति हामी सन्तानले गर्ने सेवा, सत्कार र स्याहारमा कुनै कसर बाँकी राखेनौं भन्ने सन्तोष हामीलाई छ। उहाँको जीवनको अन्तिम क्षणसम्म पनि हामी सँगै थियौं, उहाँलाई टेवा र सेवा दिन पायौं, त्यो हाम्रो लागि अति ठूलो सौभाग्य हो। तर एउटा भिन्न सत्य पनि छ – जब जीवनको रुखबाट त्यो मूल जरा नै उखेलिन्छ, तब बाँकी पातहरू जति मजबुत भए पनि हावामा काँप्छन्। आज हामी पनि त्यही कम्पनलाई अनुभूत गरिरहेका छौं।
घरको मूल बलो हटेपछि प्रणाली केही फेरिन्छ भन्ने कुरा हामीले यथार्थमा अनुभूति गर्यौं। बुवाको अनुपस्थितिमा आमा झनै ममतामयी देवीझैं देखिनुभयो। उहाँलाई अब सबै बुवाको जिम्मेवारी सुम्पन मन लाग्छ तर आत्माले भन्छ – “यो भारी आमाको काँधमा मात्रै होस् भन्ने ठीक हैन।” किनभने अब हामीलाई पनि महसुस हुन थालेको छ – जसरी बुवाले परिवार सम्हाल्नुभयो, अब हामीले उहाँको आदर्शको बोझ उठाउनु छ।
हामीले उहाँलाई कहिल्यै महान कविहरू, लेखकहरू वा नेताहरूको सूचीमा राख्दैनौं, तर उहाँ जीवनको अत्यन्त गहिरो कवि हुनुहुन्थ्यो – जसको लेखनी कागजमा होइन, हाम्रो जीवनमा कोरिएको छ। उहाँ कुनै किताबमा पढाइने पात्र होइन, हाम्रा हरेक विचार, निर्णय र व्यवहारमा जीवन्त उपस्थित व्यक्ति हुनुहुन्छ।
बुवाको श्राद्ध गर्नु को अर्थ केवल विधि पुरा गर्नु होइन, उहाँका सपनाहरूलाई हामीले साकार गर्दै लैजानु नै सच्चो श्रद्धाञ्जली हो। आज हामी सबै भाइबहिनीहरू आफैँ केही गरेर बाँच्न सक्ने अवस्थामा छौं, उहाँले रोपेको मूल्य, मर्म र मर्यादाले हाम्रो जीवनलाई सुगन्धित बनाइरहेको छ।
जसरी सूर्य अस्ताउँछ र प्रकाश त फिँजाउँदैन, तर उसको ताप रातभरि पृथ्वीले सँगालिरहन्छ – त्यस्तै हाम्रा बा अस्ताउनुभयो, तर उहाँको आदर्श र माया हामीभित्र जीवन बनेर बाँचिरहेको छ।
उहाँको जीवन एक बौद्धिक, नैतिक र सांस्कृतिक महागाथा हो – जुन केवल पढ्ने होइन, सम्झिने र जिउने खालको छ। आज हामीले आफूलाई जहाँसम्म पुर्याएका छौं, त्यसको मूल श्रेय हाम्रा बा लाई जान्छ।
यति भन्दै गर्दा अन्त्य एउटा वाक्यले मात्र स्मरण गरिन्छ – हामी बाँचिरहेछौं, किनभने उहाँ जिउनुभएको थियो। हामी अघि बढिरहेछौं, किनभने उहाँले मार्ग देखाउनुभएको थियो। बुवाप्रति गहिरो श्रद्धाञ्जली।







