“जुम्लामा ‘ब्युटाक्लोर’ निषेध: विषादी प्रयोगमा कडाइ, दोषीलाई कारबाही र जानकारी दिनेलाई पुरस्कार”

गोल्डेन बुढा
जुम्ला,७ जेष्ठ।
जुम्लाको प्रख्यात प्राङ्गारिक उत्पादन ‘जुम्ली मार्सी धान’मा झारनाशक विषादी ब्युटाक्लोर प्रयोग नगर्न कृषि विज्ञहरूले कडा सुझाव दिएका छन्। प्राङ्गारिक जिल्लाको पहिचान जोगाउने उद्देश्यले किसानहरूलाई विषादी प्रयोग नगर्न अपिल गरिएको हो।

कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले ब्युटाक्लोरले मानव स्वास्थ्य, पशुपक्षी, माटो, पानी र वातावरणमा गम्भीर असर पार्ने जनाउँदै गोडमेलमार्फत झार नियन्त्रण गर्नुपर्ने बताएका छन्। उनले विषादी प्रयोग रोक्न सामूहिक सचेतना र निगरानी आवश्यक रहेको उल्लेख गरे।

यही सन्दर्भमा, तातोपानी गाउँपालिकाले सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकबाट कडा निर्णय गर्दै धानबालीमा रासायनिक विषादी प्रयोग गर्ने किसानलाई सेवा सुविधा नदिने बताएको छ। साथै, विषादी प्रयोग गरिरहेको जानकारी गोप्य रूपमा दिने व्यक्तिलाई पुरस्कार दिने समेत निर्णय गरिएको छ।

गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंका अनुसार, “विषादी मिसिएको खानपिनले गर्भवती महिला, नवजात शिशु र आम मानिसमा क्यान्सर, अपांगता र मानसिक समस्या उत्पन्न गराइरहेको छ। अब नियमित निगरानी गरिनेछ।”

प्रमुख प्रशासकीय अधिकृत तिर्थबहादुर कठायतले रासायनिक विषादीको अत्यधिक प्रयोगले स्वास्थ्यमा गम्भीर असर पारिरहेकाले नियन्त्रणका लागि गाउँपालिका कटिबद्ध भएको जानकारी दिए। बैठकले अवैध रूपमा विषादी भित्र्याउने एग्रोभेटहरूको अनुगमनका लागि जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाउने निर्णय समेत गरेको छ।

तातोपानीका लाम्रा, धौलापानी, श्रीनगर, गौतमबाडा, लाछु ज्युलाे र राँका ज्युलाका खेतमा विषादी प्रयोग भइरहेका जनगुनासो आइरहेका छन्।विसं २०६४ मा जुम्ला अर्गानिक जिल्ला घोषित भएयता किसानहरूले रासायनिक विकल्पमा जैविक मल र अर्गानिक जीवजन्तु उत्पादन कारखाना स्थापना गर्न बारम्बार माग गरिरहेका छन्।

प्राङ्गारिक जुम्लाको पहिचान जोगाउन स्थानीय तह, कृषि कार्यालय, किसान र उपभोक्ताबीच सहकार्यको खाँचो देखिएको छ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *